बाबुरामले भने : माघ ८ मा संविधान आउँदैन

183
  •  
  •  
  •  

काठमाडौं २० मंसिर ।  संविधानसभाले दिएको म्यादको एक महिनापछि विवादसहितको प्रतिवेदन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्‍बाङलाई बुझाएर शुक्रबारै राजधानीबाट एक सय ३० किलोमिटर टाढा गृहजिल्ला गोरखा आएका संवाद समितिका सभापति बाबुराम भट्टराईले माघ ८ गते संविधानको मस्यौदा आउन नसक्ने दाबी गरेका छन्।

प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओली शान्ति प्रक्रियाविरोधी भएकाले संविधानका विवादित बुँदामा सहमति जुट्न नसक्दा तोकिएको समयमा संविधान नबन्ने उनले बताए।

‘शान्तिसम्झौता गर्दा सुशीलजीहरू सक्रिय रूपमा विरोधमा उत्रिनुभएको थियो’, गोरखामा अन्नपूर्णसँग कुरा गर्दै भट्टराईले भने, ‘यी बूढाले माओवादीलाई सबै बुझाए भनेर गिरिजाबाबुलाई फनफनी गाली गरिरहनुहुन्थ्यो। घाँटी काटेर दिनुस् भनेर कराउनुहुन्थ्यो। सुशीलजीहरूको खेमा नै शान्तिप्रक्रियाको विरोधी हो। अहिले उहाँ नै पार्टी प्रमुख र सरकार प्रमुख हुनुहुन्छ।’

उनले एमालेभित्र पनि माधव नेपाल बाह्रबुँदेदेखि निरन्तर लागिरहेको तर केपी आन्दोलनमा सक्रिय नरहेको बताए। भट्टराईले भने, ‘संयोगले ओली अहिले एमाले अध्यक्ष छन्, शान्तिप्रक्रियाको मर्म र भावनाविरोधीहरू पार्टी प्रमुख, सरकार प्रमुख भएकाले संविधानका विवादित बुँदामा गम्भीर छलफलै हुँदैन, देखिहाल्नुभो, केपीजीको शैली। गोकर्ण बैठकमा सात घन्टा उनैले कुराए।’

भट्टराईले ओलीको आलोचना गर्दै थपे, ‘बल्लतल्ल बैठकमा आइपुग्छन्, बड्यांग निहुँ खोज्ने कुरा गर्दिन्छन्। घोचपेच गर्छन्। अरूले सहँदैनन् अनि बैठक भाँडिन्छ।’

उनले एकदुई दिनभित्रै सहमति भइहाले पनि माघ ८ गते संविधानको मस्यौदा नआउने दाबी गरे। ‘माघ ८ मै त अब सम्भव हुँदैन’, उनले भने, ‘सामान्य प्रक्रिया पुर्‍याउँदा पनि ५० दिन बाँकी छैन। सहमति भयो भने पनि पहिले मस्यौदा गर्नुपर्‍यो।

मस्यौदा गर्न दुईतीन हप्ता समय लाग्छ। प्रत्येक बुँदामा छलफल गर्दै दफाबार मतदान गर्नुपर्छ। एक महिनाको समय त्यसलाई राखिएको छ। जनतामा छलफल गर्नुपर्छ। यो तालले सम्भावना देखिँदैन।’ उनले सहमति नभई संविधान आए कोमामा जाने तर्क गरे।

अर्को प्रसंगमा उनले राष्ट्रिय सरकारको हल्ला बेमौसमको बाजा भएको बताए। ‘यो बेमौसमको बाजा हो’, उनले भने, ‘अहिले सरकार बनाउन लागे झन् झगडा पर्छ।’

गोरखा आउनुअघि भट्टराईले राजधानीमा समितिको प्रतिवेदन बुझाएपछि संविधानसभामा प्रतिवेदन पुग्दैमा मात्र समस्या समाधान नहुने तर्क गरेका थिए। ‘१२ बुँदे समझदारी गर्ने सहयात्रीबीच सहमति नभई समाधान निस्कँदैन’, भट्टराईले भनेका थिए।

उनले प्रतिवेदनमा लेखेका छन्, ‘असहमतिलाई सहमतिमा नै टुंग्याउने प्रयास सकारात्मक रूपमा अन्तिम चरणमा पुगे पनि अझै सहमति भने नभइसकेको र समितिमा थप छलफल आवश्यक रहेकाले सभाको निर्देशअनुरूप प्रश्नावलीसहितको प्रतिवेदनसमेत तयार हुन नसकेको अवस्था छ।’
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •