काठमाडौ, १३ भदौ(ओएनएस) : केही दिनअघि पार्टीका मधेस राष्ट्रिय मुक्ति मोर्चा नेपालका नेताहरुलाई आन्दोलनमा उत्रिन निर्देशन दिएका एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईले अन्य मोर्चाहरुलाई पनि सडकमार्फत संविधानसभालाई दवाव दिन निर्देशन दिएका छन् । नेता भट्टराईले अहिले जे अधिकार दिने भनिएको छ, संविधान जारी गर्न बेलासम्म त्यति अधिकार दिन पनि दलहरु तयार नहुने निश्कर्ष सुनाएका थिए ।
संविधानसभामा संविधानको अन्तिम विधेयकमाथि सैद्धान्तिक छलफल चलिरहेका बेला शुक्रबार दिउँसो नेता भट्टराईले आफ्नै दलको कार्यालयमा मधेसी, जनजाति, महिला, वाईसिएल, दलित क्षेत्रका नेताहरुको बैठक डाकेर आन्दोलनको आवश्यकता र औचित्यबारे प्रष्ट्याएका थिए । “अहिलेकै अवस्थामा तपाईहरुले भनेको जस्तो अधिकार पाउनु हुन्न त्यसैले जसरी मधेशका साथीहरू आन्दोलनमा जाने हिम्मत देखाउनु भयो त्यस्तै हिम्मत तपाईहरुले पनि देखाउनुस्”, भट्टराईले बैठकमा भनेका थिए । बैठकमा सहभागी एक जनजाती नेताका अनुसार भट्टराईले आन्दोलनमा जाने निर्णय गरेको भन्दै त्यहाँ उपस्थित मधेशी नेताहरु रामचन्द्र झा, रामकुमार शर्मा र रामरिझन यादवको पटक पटक प्रसंसा गरेका थिए ।
मधेसी नेताहरुलाई वरिपरि राखेर जनजाति, दलित, महिला नेताहरुलाई बाबुरामले भने, ‘तपाईहरू पनि उहाँहरु जस्तै आन्दोलनमा जानूस् ।’
मगर क्षेत्रको बाहुल्यता भएको क्षेत्रलाई ३ टुक्रा पारेको भन्दै अध्यक्ष पुष्पकमल दाहालसँग रूष्ट बनेका नेता बर्षमान पुन तर्फ इंगित गर्दै नेता भट्टराईले तपाईहरू किन जनजाती आयोगमा मात्रै केन्द्रीत भएको भन्दै प्रश्न गरेका थिए । “तपाई जनजातीका साथिहरू आयोग चाहियो भनिरहनु भएको छ, जम्मा ४–५ जना कर्मचारीले जागिर पाउने आयोगको लागि यत्रो किन गर्नु पर्यो आफ्नो जात अनुसारको पहिचान खोज्ने गरि आन्दोलनमा लाग्नुस् न”, भट्टराईले भने, “तपाईहरुले शसक्त आन्दोलन गर्नु भएन भने धर्मनिरपेक्षता पनि हुदैन यो बुझिरहनुस् ।”
बैठकमा महिलाकी संयोजक सीता पोख्रेल सहित, हिसिला यमी, शसी श्रेष्ठ, जनजातीको तर्फका पुन, गोपाल किँराती, दलितको तर्फबाट संयोजक दलजित श्रीपाली, मधेशको तर्फबाट झा, शर्मा, यादव लगायतका नेताहरुको सहभागीता रहेको थियो ।
ओएनएसको सम्पर्कमा आएका बैठकमा सहभागी ती नेताले आश्चर्य व्यक्त गर्दै भने, ‘संविधानसभामा जसरी पनि संविधान जारी गर्नुपर्छ र संविधान बनाउन नदिने षड्यन्त्रलाई विफल पार्नुपर्छ भन्ने बाबुराम पार्टीभित्रका नेताहरुलाई किन संविधानको विरोधमा लाग्न सुझाव दिइरहनुभएको छ, अचम्म लागेको छ ।’ भट्टराईले बोलाएका बैठकम सहभागी अध्यक्ष दाहाल निकट एक नेताले भने, “पार्टीले लाईन छोडेको भन्दै बढेको असन्तुष्टिलाई क्यास गर्न उहाँ लाग्नु भएको प्रष्ट छ”, उनले भने, “अध्यक्ष भन्नुहुन्छ आन्दोलन गरेर संविधान बन्नबाट रोक्न खोजिदैछ, बाबुरारम भट्टराई भन्नुहुन्छ आन्दोलन गरेन भने अधिकार पाईँदैन पार्टी पनि खतम हुन्छ यसले पार्टी भित्र र बाहिर दुवैलाई अन्योल बनाएको छ । ”
भदौ ७ गते कैलालीको टीकापुरमा हिंसात्मक घटना भइरहँदा काठमाडौँमा रहेका एमाओवादी नेता बाबुराम भट्टराईले ट्वीटर र फेसबुकमा आक्रमणकारीलाई नै थप भड्काउने आशयमा स्टाटस लेखेका थिए । त्यसअघि र पछि भएका पार्टीका विभिन्न बैठक र छलफलहरुमा उनले मधेस मोर्चाका नेताहरुलाई आन्दोलनमा जान दबाब दिएका थिए ।
हेर्नूस्, यसअघि ओएनएसन्युजमा प्रकाशित समाचार :