बाबुराम भट्टराईले भने, ‘कांग्रेस एमाले बाघ हुन् हामी हात्ती’

225
  •  
  •  
  •  

baburam_bhattaraiकाठमाडौ, १६ फागुन(ओएनएस) : एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले एमाओवादीलाई हात्ती र कांग्रेस-एमाले बाघ भएको बताएका छन् । संविधानका विवादीत विषय प्रक्रियाबाट टुंग्याउने संविधानसभाको निर्णयका विरूद्ध आज खुल्ला मञ्चमा भएको सभालाई संबोधन गर्दै वरिष्ठ नेता भट्टराईले यस्तो बताएका हुन् । उनले भने, ‘हामीले चुनावबाट पाएको यो आकारलाई कांग्रेस एमालेले बाघ भएको भन्ने बुझे, यो खबरदारी सभाले त्यो भ्रमलाई चिर्ने काम गरेको छ ।’

उनले भने, ‘हात्ती दुब्लायो भने बाघ हुँदैन, बाघ मोटाएर हात्ति पनि हुदैन, कांग्रेस एमालेले चुनावबाट अलिकति मोटाउदा हात्ति भएको भ्रम पाले त्यो असत्य हो भनेर हामीले सभाबाट आज देखाइरहेका छौं ।’

भट्टराईले कांग्रेस एमाले रंगको अर्थ नबुझ्ने ‘कलर ब्लाइन्ड’ भएको भन्दै उनीहरुलाई देशम भएका जात जातिको महत्व बुझाउन र यसका पक्षमा मान्छे छन् भनेर देखाउने यो सभा भएको बताए । ‘इन्द्र धनुसमा एउटा मात्र कलर देख्नेहरुलाई हामीले यो सभा गरेर यो सभाबाट विभिन्न रंगलाई हेर, एउटा रंगलाई मात्र हेर्यौ भने राम्रो हुने छैन भनेका हौं’ उनले थपे, ‘यो ट्रेलर हो पूरा फिल्म त आउन बाँकी नैं छ ।’

उनले माघ ११ गते भएको संविधानसभाको निर्णयलाई जनअधिकारको अपहरण भएको बताए । उनले यो निर्णय नसच्चिए संविधानसभााट संविधान नैं नबन्ने दावी गरे । उनले पहिचानमा आधारित संघीयतालाई एक सय २५ जातिलाई राज्य बाड्ने भनेर कांग्रेस एमालेले बद्नाम गर्ने प्रयास गरेको भन्दै आफ्नो प्रस्ताव त्यस्तो नभएको स्पष्टीकरण दिए । भने, ‘हामीले त्यसो भनेको होइन, मुल पहिचानलाई राज्य निर्माणको आधार बनाएर अन्यलाई स्वायत्त क्षेत्र प्रदान गर्ने भनेका हौं ।’

‘मलाई धेरैले संविधान बनाएर आर्थिक क्रान्तिमा लाग्नुस भन्नुहुन्छ’ उनले भने, ‘तर राजनीतिक क्रान्ति पुरा नहुँदासम्म आर्थिक क्रान्ति संभव छैन, त्यसैले हिजोका सहमति अनुसार संविधान बनाउने भन्ने हो ।’


  •  
  •  
  •