काठमाडौँ, १२ असोज(ओएनएस) : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू मधेसमा आन्दोलन गर्न नभएर सहजकर्ताको रूपमा आएको बताएका छन् । एमाओवादी पार्टी छाडेपछि मंगलबार जनकपुर पुगेका नेता डा. भट्टराईले जनकपुर विमास्थलमा उत्रेपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा आफू मधेसको समस्या समाधानका लागि सहजकर्ताको रूपमा मधेस आएको बताएका छन् ।
उनले मधेसले आफूलाई पहाडी भएकैले अविश्वास गरेको बताउँदै प्रश्न गरे, ‘पार्टी र संसदबाट समेत राजीनामा दिएर आएपछि पनि ममाथि किन अस्विकास ?’ उनले आफूलाई अविश्वास नगर्न भन्दै जात भन्दा काम हेर्न आग्रह गरेका छन् ।
उनले मधेस आन्दोलनलाई वार्ताबाट समाधान गर्नुपर्ने भन्दै मधेसका मुद्दालाई सम्बोधन गर्नका लागि संविधान जारी हुनुभन्दा पहिले आफूले प्रयास गरेको उल्लेख गरेका छन् । उनले तीन दलका शीर्ष नेताहरूलाई पटक-पटक आग्रह गर्दा पनि कसैले आफ्नो कुरा नसुने गुनासो समेत गरेका थिए । उनले संविधान जारी नभएको सबै दोष आफूमाथी लाग्ने भएकाले संविधान जारी भएपछि मात्र आफू मधेसमा आएको स्पष्ट पारेका छन् ।
आफूले मधेससँग वार्ता गरेर समाधान खोज्न पार्टी अध्यक्ष प्रचण्डलाई आग्रह गरेपनि उनले नमानेर मतदानमा जाने एकतर्फी निर्णय गरेको बताएका छन् ।