काठमाडौ, ९ भदौ(ओएनएस) : हिजो एनेकपा माओवादीको मधेसी राष्ट्रिय मुक्ति मोर्चाको बैठक सिंहदरबारमा बस्यो । रामकुमार शर्मा नेतृत्वको मोर्चाको बैठकमा रामरिझन यादव, प्रभु साह, रामचन्द्र झालगायत नेताहरु छन् । तराईमा भइरहेका गतिविधिमा मधेसवादी दलहरु मात्रै देखिएको र आफ्नो दल पछि परेको बताउँदै यादव, साह र झाले शर्मालाई आन्दोलनमा जान दबाब दिइरहेका थिए । यति मात्र होइन, आन्दोलन नगर्ने हो भने मोर्चाको नेृतत्वबाट राजीनामा दिन चेतावनी समेत दिए ।
उनीहरुले यस्तो चेतावनी दिनुको कारण थियो, एमाओवादीका दोस्रो वरियताका नेता बाबुराम भट्टराईको सुझाव र आन्दोलनमा जान बारम्बार गरिएको उक्साहट । भट्टराईले दलका पदाधिकारीसमेत रहेर गरिएका छलफल र आफ्नै पहलमा मधेसी राष्ट्रिय मुक्ति मोर्चाका नेता तथा सभासदलाई राखेर गरेका बैठकहरुमा मधेसमा आन्दोलन गर्नुपर्ने धारणा राख्दै आएका छन् ।
केही दिन पहिला लाजिम्पाटमा अध्यक्ष प्रचण्ड, नेता भट्टराई र नारायणकाजी श्रेष्ठसहितको उपस्थितिमा १६ बुँदेपछि सीमांकन बाहेकको संविधान जारी गर्न खोज्दा त्यसको विरुद्धमा यिनै मधेशी नेताहरु बोलेका थिए, जहाँ भट्टराईले नै भनेका थिए, ‘तपाईंहरु आन्दोलनमा जानूस्, आन्दोलनको विकल्प छैन ।’ त्यस्तै केही दिनअगाडि पेरिसडाँडामा भएको कार्यक्रममा पनि भट्टराईले अहिले सहमति भए पनि आन्दोलन नगरेसम्म अधिकार नपाइने भन्दै मधेसी नेताहरुकै बोलीमा सही थापेका थिए ।
मंगलबारको बैठक गर्ने र त्यसको निष्कर्ष अध्यक्षलाई सुनाउने भनिए तापनि भट्टराई आफैले त्यस बैठकमा सहभागी हुने चाहना देखाए । त्यसपछि प्रचण्ड पक्षले पनि अध्यक्ष समेत बैठकमा बस्नुपर्ने भन्दै बोलाएका थिए । भेलामा भट्टराईले खुलेर आन्दोलनको समर्थन मात्रै गरेनन्, आन्दोलनको औचित्यमा तर्क र दलीलहरु पेस गरेपछि प्रचण्डलाई सिधै हस्तक्षेप गर्न अप्ठेरो भएको थियो । त्यसैले उनले चेतावनीपूर्ण शब्दमा भने, ‘(आन्दोलन) जोगिएर गर्नुहोला । संविधान भाँड्नेहरुले आन्दोलनलाई सहयोग गरेका छन् । त्यो ख्याल गर्नुहोला ।’ पार्टी नेताकै सल्लाहमा आन्दोलन गर्न लागेको पुष्टि गर्दै मोर्चाका संयोजक शर्माले ओएनएसलाई भने, ‘हामीले आन्दोलन गर्ने हो तर पूर्णतः शान्तिपूर्ण रुपमा गर्ने हो ।’
[box type=”shadow” ]
प्रचण्ड:
अहिले आन्दोलन गर्ने बेला होइन । संविधान नबनाउने शक्ति आन्दोलनमा गएका छन्, त्यसबाट सतर्क हुनुपर्छ [/box]
स्रोतअनुसार, प्रचण्डले भने आफ्ना निकट नेता हरिबोल गजुरेलमार्फत् यस्तो सन्देश दिएका छन्, ‘अहिले आन्दोलन गर्ने बेला होइन । संविधान नबनाउने शक्ति आन्दोलनमा गएका छन्, त्यसबाट सतर्क हुनुपर्छ ।’ प्रचण्ड निकट अर्का एक नेता भन्छन्, ‘मधेशका नेता रामचन्द्र झालाई बोलाएर आन्दोलन गराउन खोजिएको छ, त्यसबाट रोक्नुहोला भनेर अध्यक्षले सम्झाउनुभएको थियो । तर, पनि बाबुरामजीको सुझावलाई उहाँहरुले टार्न सक्नु भएनजस्तो छ ।’