ओली बोलेपछि कांग्रेसको बोली फुट्दैन : भट्टराई

187
  •  
  •  
  •  

गोरखा, २२ माघ(ओएनएस) : एBRBमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले कांग्रेस–एमालेले संख्याको दम्भ प्रदर्शन गरे इतिहास दोहोरिने चेतावनी दिएका छन् ।

गोरखा सदरमुकाममा बिहिबार भएको पत्रकार भेटघाटमा नेता भट्टराईले कांग्रेस–एमालेले आफू अनुकुल संविधान २०४७ सालमा बनाएको बताउँदै उक्त संविधानले केही हासिल गर्न नसकेको दावी गरेका छन् । उनले अहिले पनि दम्भ देखाए इतिहासमा जनताको आँधीबेहरीले बढारिए जसरी नै बढारिने बताएका छन्

अहिलेको मूल समस्या सत्य र शक्तिको असन्तुलनले सिर्जना गरेको उनको भनाई छ । उनले भने, ‘सत्य हामीसँग छ तर हामीसँग शक्ति भएन । त्यसैले शक्ति दिनुपर्यो भनेर शक्ति आर्जन गर्न जनतासामु आएका हौं ।‘

 ‘जनयुद्धको क्रममा पहिलो र दोस्रो वार्ताकालमा संविधानसभा अस्वीकार गर्ने पनि कांग्रेस–एमाले नै थिए अनि पछि ज्ञानेन्द्रले फ्या“किदिएपछि मिल्न आएका न हुन् । अनि उनीहरुले जे भन्यो त्यही हुन्छ ? एजेण्डा तय गर्ने क्रान्ति र आन्दोलनले हो, त्यसलाई संस्थागत गर्ने औपचारिक विधिमात्रै संविधानसभा हो’, हिजो संविधानसभा माग गर्दा माओवादी नेताका टाउकोको मूल्य तोक्नेहरु कांग्रेस–एमाले नै रहेको उल्लेख गर्दै नेता भट्टराईले भने, ‘वाध्य भएर संविधानसभा ल्याइसकेपछि चाहि“ २०४७ सालको उही नवउदारवादी लोकतन्त्र लागू गर्छु भन्नु त आन्दोलनप्रति, सहमति–सम्झौताप्रति धोका भयो ।’

नदीका किनारालाई पानीले जोडेजस्तो जोड्नसक्छ

एनेकपा माओवादी र राप्रपा नेपाल नदीका दुई किनाराजस्तो मिल्न नसक्ने राजनीतिक शक्ति भएको बताउँदै उनले भने, ‘राजनीतिक हिसाबले राप्रपा नेपाल र एनेकपा माओवादी नदीका दुई किनारा हुन् । ती समानान्तर ढंगले जाने किनारा हुन्, भेटिने किनारा होइनन् ।’

कांग्रेस–एमालेको लोकतन्त्र ‘नकचरो’

नेता भट्टराईले कांग्रेस–एमालेको लोकतन्त्र नकचरो लोकतन्त्र भएको टिप्पणी गरेका छन् । प्रक्रियाका सन्दर्भमा कांग्रेस र एमालेले दोधारे नीति अपनाएको उल्लेख गर्दै उनले भने, ‘‘एकापट्टि सहमति–सम्झौताले नै निर्णय गर्ने भन्ने कुरालाई तोडेर एकतर्फी प्रश्नावली निर्माण गर्न समिति बनाएर हाम्रो विरुद्धमा गएका छन् । अर्कोतर्फ प्रश्नावली समिति प्रश्न पनि म नै बनाउँछु र भोट पनि मलाई नै हाल भन्छ । गाई परे पनि मेरै, त्रिशुल परे पनि मेरै भनेर गाई/त्रिशुल गरेजस्तो कांग्रेस–एमालेको लोकतन्त्र बढो नकचरो लोकतन्त्र भयो ।’

संविधानसभा बैठक बहिष्कार–संघर्षको रुप

एमाओवादी नेतृत्वको मोर्चाले संविधानसभा र संविधानसभाका समितिहरुको बैठक बहिष्कार संघर्षको रुपमा निश्चित समयका लागि गरेको नेता भट्टराईले बताएका छन् । ‘संविधानसभाको अनुभवमा पहिलो चोटी सभाध्यक्षले परामर्श समितिको बैठक नबोलाइकन र संविधानसभाका ३१ दलमध्ये १९ दलले नाराबाजी गर्दागर्दै निर्णय गरेर संविधानसभा अपहरण गर्ने र जनताको विपक्षमा उभ्याउने स्थिति ल्याइयो त्यसको विरोधस्वरुप संविधानसभा र संविधानसभाका समितिहरुको बैठक बहिष्कार गरेका हौं ।’

ओली बोलेपछि कांग्रेसको बोली फुट्दैन

संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति समेत रहेका भट्टराईले संवाद समितिको २९ गतेको बैठकमा त्यसै दिन प्रमुख दलहरुको बैठकमा भएको समझदारीको भावना विपरित गएर कांग्रेस–एमालेले प्रस्ताव पारित हुन नदिएको बताए । ‘पुस २९ गते न्यायप्रणाली र नागरिकतासम्बन्धी प्रस्तावमा पहिले सहमति जनाए तर पछि लिखित प्रस्ताव संवाद समितिमा पेश गर्दा एमालेले ‘हुँदैन’ भन्यो । एमालेले भनेपछि त कांग्रेस पछि लागिहाल्छ अहिले’, उनले भने, ‘के छ कुन्नी, मोहनी लगाएको छ कि जादू गरेको छ, केपी ओली बोलेपछि कांग्रेसको त बोली नै फुट्दैन ।’

फरक सन्दर्भमा पत्रकारहरुले सोधेको प्रश्नमा नेता भट्टराईले भने, ‘नेपाली राजनीतिमा सबभन्दा छुद्र बचन प्रयोग गर्ने, अराजनीतिक भाषा प्रयोग गर्ने मान्छे को हो भनेर सोध्ने हो भने बच्चा–बच्चाले पनि भन्छन् केपी ओली भनेर । त्यसैले के चलाएर आफ्नै मुखमा छिटो भनेजस्तो उनको बारेमा टिप्पणि गर्न म चाहन्न ।’


  •  
  •  
  •