ढुंग्रो देखाएरै मोही मागे बाबुरामले

143
  •  
  •  
  •  

काठमाडौं १४ पुस ।  नेतृत्व हस्तान्तरण हुनुपर्ने तथा उदारवाद र समाजवादका सकारात्मक पक्ष समेट्नुपर्ने बहस चलाउँदै आएका एमाओवादी नेता बाबुराम भट्टराईले पहिलोपटक औपचारिक रूपमा पार्टी केन्द्रीय समिति बैठकमा आफू पार्टी अध्यक्ष बन्नुपर्ने जिकिर गरेका छन्।

आफू गुटको नेता भएर रमाउन नचाहने भन्दै भट्टराईले समग्र पार्टीको नेतृत्व लिन चाहेको बताए। ‘म नेतृत्व लिने साहस गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेको छु। प्रयोग र परीक्षणको जिम्मेवारी लिन्छु’, भट्टराईलाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले अन्नपूर्णसँग भने, ‘मैले पनि पार्टीको नेतृत्व लिन पाउनुपर्छ।’ अघिल्लो बैठकमा अध्यक्ष पुष्पकमल दाहालले भट्टराईले पार्टी अध्यक्ष बन्ने चाहना व्यक्त गरेको जानकारी गराएका थिए।

दाहालसँग अढाइ दशकदेखि सहकार्य गर्दै आएको स्मरण गर्दै भट्टराईले आफूले नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्न चाहे पनि संक्रमणकालमा पुरानै पुस्ताबाटै नेतृत्वमा आउनु उपयुक्त हुने ठानेको पनि बताए। ‘पूर्वमसाल समूहमात्रै होइन, एकता केन्द्रदेखि एमालेभित्रबाट आएका कमरेडहरूलाई पनि आफ्नो पार्टी भन्ने अनुभूति दिलाउन नेतृत्व प्रणालीमा वैचारिक संश्लेषण गरिनुपर्छ’, भट्टराईले भने।

चीन र रुसमा नेतृत्व व्यवस्थापन उचित ढंगले हुन नसकेको उल्लेख गर्दै उनले अब विचार, कार्यदिशा र नेतृत्व प्रणालीबारे नयाँ ढंगले अन्वेषण गरिनुपर्नेमा जोड दिए। आफूले अघि सारेको नयाँ शक्ति निर्माणको बहसबारे पनि भट्टराईले प्रस्ट्याउने प्रयास गरेका थिए।

पहिलो एमाओवादीलाई नै रूपान्तरण गरी नयाँ शक्ति बनाउने, दोस्रो विचार मिल्नेहरूको बीचबाट नयाँ नेतृत्व जन्माउने र दुवै विकल्प तयार नभएको अवस्थामा तेस्रो विकल्पमा अगाडि बढ्ने अवस्था आउने आफ्नो विश्लेषण सही रहेको उनको दाबी थियो।

उनले भने, ‘गुटभन्दा माथि उठेर वैचारिक अन्वेषणमा प्रवेश गरौं।’ उदारवाद र समाजवादका सकारात्मक पक्ष समेट्नुपर्ने भट्टराईले दोहोर्‍याएका थिए।

बैठकमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वैचारिक र राजनीतिक कार्यदिशा प्रस्ट्याएपछि मात्रै नेतृत्वसम्बन्धी प्रस्ताव ल्याउनु उपयुक्त हुने धारणा व्यक्त गरेको जानकारी अर्का केन्द्रीय सदस्यले दिए। उनले भनेका थिए, ‘अध्यक्ष प्रचण्डपछाडिको नेता बाबुरामजी नै हो, त्यसमा कसैको विमति छैन। त्यसलाई काट्ने कुनै तर्कले पनि मिल्दैन।’

बैठकमा श्रेष्ठले पार्टी पुनर्निर्माण गर्ने पहिलेको योजना कहाँ हरायो भनेर सोधेका थिए। ‘हामीले निर्मल लामालाई सीआईडी भन्यौं, पुष्पलाललाई गद्दार भन्यौं, प्रचण्डलाई राजावादी भन्यौं, बाबुरामजीलाई भारत परस्त भन्यौं। के ठीकभन्दा पनि को ठीक भन्नेतिर लाग्यौं’, ती केन्द्रीय सदस्यले श्रेष्ठलाई उद्‌धृत गर्दै भने।
हन्नपूर्णपोष्ट


  •  
  •  
  •