वामपन्थी पुरानै बाटोमा हिडेः डा. भट्टराई

335
  •  
  •  
  •  

चितवन, १७ मंसिर : नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले वामपन्थीको लोकतान्त्रिकरण र लोकतन्त्रको प्रगतिशीलकरण अहिलेको आवश्यकता रहेको बताएका छन् । चितवनमा आइतबार आयोजित ‘आसन्न निर्वाचनमा लोकतन्त्रवादी संस्थाको भूमिका’ विषयक कार्यक्रममा उनले लोकतन्त्रवादी नवउदारवादको सट्टा सामाजिकहितको पक्षबाट लोकतान्त्रिकरण गरेर जानुपर्ने बताए ।

उनले माक्र्सले परिभाषित गरेको समाजवाद अहिले लागू हुन नसक्ने बताउँदै समाजवादी प्रजातन्त्र अहिलेको आवश्यकता रहेको बताए । अहिलेको वाम गठबन्धनले देशको हितमा काम गर्न नसक्ने उनको भनाइ थियो । संसारमा नै असफल भएको कम्युनिष्ट धारामा वाम गठबन्धन लागेको बताउँदै भट्टराईले भने ‘अब मुलुक नयाँ समाजवादी प्रजातन्त्रमा जानुपर्छ, तर वामपन्थी पुरानै बाटोमा हिँड्नु भएकाले हामी उहाँहरुबाट छुट्यौँ ।’

लोकतन्त्र भनेको आधारभूत मान्यताको रक्षा गर्ने शक्ति भएको बताउँदै उनले यसको रक्षाका लागि संघसंस्थाको महत्वपूर्ण भूमिका रहने बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक गठबन्धन बनाउनुपरेको बताए । अहिले लोकतन्त्रको पक्षमा जनमत रहेको भन्दै उनले साम्यवादले जितेमा जनताले बोल्न र लेख्न नपाउने दावी गरे । वामपन्थी एक भएर चुनौती दिइरहेको बताउँदै उनले भने ‘वामपन्थीले जितेमा संगठित हुने, लेख्ने, बोल्ने अधिकार गुम्छ, त्यसैले लोकतान्त्रिक गठबन्धनलाई जिताउनुपर्छ ।’

कार्यक्रममा वन तथा भू–संरक्षणमन्त्री विक्रम पाण्डेले लोकतान्त्रिक शक्तिले जनताका पक्षमा काम गर्ने बताए । विकास र लोकतन्त्र पर्यावाची शब्द भएको उनको भनाइ थियो ।


  •  
  •  
  •