ऐतिहासिक थातथलो नटुक्रिने गरी सीमांकन गर्न आवश्यक : भट्टराई

155
  •  
  •  
  •  

baburam bhatttrai at pokharaपाेखरा, २३ मंसिर (ओएनएस) : नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधन प्रक्रियामा प्रतिपक्षी दलले अवरोध गर्न नहुने बताएका छन् ।

बिहीबार पोखरामा नेपाल प्रेस सोसाइटी कास्कीले गरेको पत्रकार सम्मेलनमा संयोजक भट्टराईले बढ्दै गएको राजनीतिक अन्यौलताको अन्त्य र आन्दोलनरत पक्षहरुलाई सहमतिमा ल्याउनको लागि संविधान संशोधन अपरिहार्य रहेकोले प्रमुख प्रतिपक्षीले संविधान संशोधनमा अवरोध गर्नु नहुने बताएका हुन् ।

‘जसरी अहिले प्रमुख प्रतिपक्षी दल एमालेले संविधान संशोधन गर्नुहुन्न भनिरहेको छ, यसमा प्रतिपक्षले पनि जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ,’ उनले भने, ‘सबैलाई विश्वासमा लिएर संविधानको स्वीकार्यता बढाएर स्थिरता कायम गर्नु नै राजनीतिक निकासको मुख्य पाटो हो ।’ संशोधनका लागि नयाँ शक्तिले सबै पक्षसँग आवश्यक पहल गर्ने उनले बताए।

संविधान संशोधनको आवश्यकता संविधान जारी गर्दादेखि नै महशुस भएको प्रसंग उल्लेख गर्दै भट्टराईले संविधान जारी गर्दा माओवादीकै तर्फबाट संविधानका ५७ वटा विषयमा फरक मत राखेको स्मरण गराए ।

‘सीमांकनको सबैभन्दा उत्तम विकल्प राज्य पुनर्संरचना आयोग र संविधानसभा अन्तर्गतको पुनर्संरचना समितिले संविधानसभामा पेश गरेको पहिचानका ५ र सामथ्र्यका ४ आधारअनुसार प्रदेशको सीमांकन गरिनुपर्दथ्यो,’ उनले भने, ‘यद्यपि अहिले त्यो परिस्थिति नभएको हुँदा १ प्रतिशत भन्दा बढी जनसंख्या भएका जाति, भाषा र समुदायको बसोबासको ऐतिहासिक थातथलो नटुक्रिने गरी सीमांकन गर्ने नै हो ।’

संविधान संशोधनको अर्को आवश्यकतामा प्रत्यक्ष निर्वा्चित कार्यकारी राष्ट्रपतीय प्रणालीसहितको शासकीय स्वरुप र पूर्ण समानुपातिक संसद हुनुपर्नेमा उनले जोड दिए ।


  •  
  •  
  •