जनकपुरमा भट्टराईको मञ्चमा तोडफोड

310
  •  
  •  
  •  

BRB in Janakpurकाठमाडौँ, १२ असोज(ओएनएस) : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको जनकपुरको मञ्चमा तोडफोड र आगजनी गरिएको छ । सभामा सम्बोधन गरेर फर्किएपछि मञ्चमा तोडफोड भएको हो ।

यसअघि सम्बोधन गर्दै उनले आफू जनकपुर नेताका रूपमा भन्दा पनि सामान्य नागरिकको रूपमा आफू उपस्थित भएको बताएका छन् । डा. बाबुराम भट्टराईले तराई-मधेश र थरुहट आन्दोलन शासक वर्गसँग भएको बताउँदै मधेशी र पहाडीबीचको सम्बन्ध बिग्रन दिन नहुने बताएका छन् । उनले भने, ‘तराई–मधेशको लडाईं शासक वर्गसँग हो, यो लडाईं पहाडी समुदायको विरुद्ध हुनु हुँदैन । सबै नेपाली एक हुनुपर्छ । नेपाली राष्ट्रिय अखण्डता कायम गर्नुपर्छ । अखण्ड नेपालभित्र नै स्वायत्त मधेश प्रदेश हुनुपर्छ । तपाईंहरुको यो मागमा मेरो पूर्ण समर्थन छ ।’

उनले पहाडमा बस्ने शासकवर्गले आफूलाई मात्रै नेपाली सम्झछन्, उनीहरूले मधेसमा रहेका भूमीपुत्र मधेसी/थारूहरूलाई नेपाली नमान्नुनै समस्याको जड भएको बताएका छन् ।

डा. भट्टराईले सभामा कांग्रेस एमाले र एमाओवादी पूराना पार्टी भएकाले नयाँ शक्तिको खोजी गर्न आफू जनकपुर आएको बताएका थिए । ‘म यहाँ नयाँ शक्तिको खोजिमा आएको हुँ,’ उनले भने, ‘नयाँ शक्ति अवश्य बन्छ ।’ उनले मधेस आन्दोलन प्रति आफ्नो पूर्ण समर्थन रहेको बताउँदै भारतले गरेको अघोषित नाकाबन्दीको कुटनीतिक समाधान खोज्नु पर्ने बताए ।

जनकपुर विमानस्थलमा आइसकेपछि भट्टराईको आग्रहमा आन्दोलनकारीहरुबीच संविधान नजलाउने भन्ने सहमति भएपछि भट्टराई फेरि विमानस्थलबाट फर्केर गोपाल धर्मशालामा सम्बोधन गर्न गएका हुन् । उनले संविधान च्यात्नु, जलाउनुको साटो संशोधन गर्दै अघि बढ्न आग्रह गरेका छन् ।

केहीसमयअघि सभास्थलमा हुलहुज्जत भएको र अहिले वातावरण शान्त रहेको छ ।


  •  
  •  
  •