चन्द नेतृत्वको नेकपालाई दमन गर्ने सरकारको नीति गलत : डा. भट्टराई

430
  •  
  •  
  •  

काठमाडौं, ४ चैत(ओएनएस) : नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीले सिधैँ सेना परिचालन गर्न सक्ने व्यवस्था गर्न सक्ने व्यवस्थायुक्त विधेयकमाथि प्रश्न उठाएका छन् ।

सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले त्यस्तो व्यवस्था सैन्य ‘कू’लाई आमन्त्रण भएको बताए ।

‘हालै राष्ट्रिय सुरक्षा परिषदको अधिकारलाई कुण्ठित गरी प्रधानमन्त्रीले सिधै सेना परिचालन गर्न सक्ने, ठूला परियोजना विना प्रतिस्पर्धा प्रधानमन्त्रीले सिधै सम्झौता गर्न सक्ने जस्ता प्रावधान राखेर विधेयक मस्यौदा भइरहेको पाइएको छ’ डा.भट्टराईले भने, ‘यस्तो सुुविधा संविधानले कल्पना गरेको संसदीय शासकीय स्वरुपको प्रधानमन्त्रीलाई प्राप्त हुनसक्दैन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले चाहेजस्तो आवश्यकता पर्न गएको हो भने शासकीय स्वरुपमा परिवर्तन गरी व्यवस्था गर्नुपर्ने उनले माग राखे ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति उनले आपत्ति जनाएका छन् ।

देशमा बेरोजगारी बढदै गएको, भ्रष्टाचारका कारण विद्रोहको अवस्था कायमै रहेको अवस्थामा चन्द नेतृत्वको नेकपालाई दमन गर्ने सरकारको नीति गलत भएको उनले प्रतिक्रिया दिएका छन् ।

चन्द नेतृत्वको नेकपालाई दमन नगरी समस्याको समाधान गरेर जनताबाट उनीहरुलाई अलग्याउने नीति लिन पनि सरकारलाई सुझाव दिए ।

संयोजक भट्टराईले अदालतले जन्मकैदको फैसला सुनाएका रेशम चौधरीलाई तत्काल रिहा गर्न पनि सरकारसँग माग गरे ।


  •  
  •  
  •