काठमाडौं ११ असोज ।
एमाओवादी परित्याग गरेका बाबुराम भट्टराईले संयुक्त मधेसी मोर्चाका नेतालाई आइतबार टेलिफोन गरी आफूलाई पनि मधेस आन्दोलनमा सहभागी गराउन आग्रह गरेका छन्।
उनले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावनाका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवलाई टेलिफोन गरेका हुन्।
मधेसी नेतालाई भट्टराईले भने, ‘मधेस र मधेसीका माग जायज भएकाले म पनि तपाईंहरूसँगै सहभागी हुन्छु। मधेसको आन्दोलन निर्णायक हुनुपर्ने मेरो मान्यताअनुसार नै पार्टी परित्याग गरेको हुँ।’
मधेसी नेताले भने मधेस र काठमाडौंको पुलका रूपमा भट्टराईले काम गर्नसक्ने भए पनि उनको व्यवहारले आग्रहलाई प्रमाणित गर्ने बताएका छन्। मधेसी नेताले संविधानमा मतदान गर्नुअघि नै भट्टराईले पार्टी परित्याग गरेको भए उनको उद्देश्य सफल हुन्थ्यो पनि भनेका छन्।
नेता उपेन्द्र यादवले मधेस आन्दोलनलाई सघाउने प्रतिबद्धताका साथ आफू आउन लागेको जानकारी भट्टराईले टेलिफोनमा गराएको बताए। उनले अन्नपूर्णसँग भने, ‘मैले उनको आग्रहलाई स्वागत गर्दै वेलकम मधेस भनें।’
भट्टराई मधेस आन्दोलनका लागि प्रतिबद्ध नै रहेकोमा विश्वस्त हुनुहुन्छ भन्ने जिज्ञासामा यादवले भने, ‘त्यो त उहाँको सहभागिता र व्यवहारले देखाउने कुरा हो।’
नेता महतोले संविधानसभामा संविधानको विधेयक पारित गर्दा नै भट्टराईले पार्टी परित्याग गरेको भए राम्रो हुने प्रतिक्रिया दिए।
संविधानसभाले संविधान घोषणा गरेपछि पार्टी परित्याग गरेकाले यसबारे मोर्चाकै बैठकमा कुरा राख्ने जानकारी गराएको उनले बताए। महतोका अनुसार भट्टराईले मधेस मुक्ति र नेपालको भूएकता बचाउन मधेस आन्दोलनमा लाग्नुपरेको कारण दिएका थिए।
नेता ठाकुरले मधेस आन्दोलनका लागि पार्टी परित्याग गरेकोमा खुसी व्यक्त गर्दै आन्दोलनलाई निर्णयक बनाउन भट्टराईको योगदान रहेन विश्वास व्यक्त गरेको जानकारी स्रोतले दियो।यसैबीच ठाकुरले सरकार र प्रमुख दलले मधेस आन्दोलनलाई निकास दिन नचाहेको बताएका छन्।
कांग्रेस उपसभापति रामचन्द्र पौडेल, बन तथा भूसंरक्षणमन्त्री महेश आचार्य र केन्द्रीय सदस्य आनन्द ढुंगानासँग आइतबार उनकै निवास सानोठिमीमा भएको भेटवार्तामा ठाकुरले भनेका थिए, ‘तीनचार दिनअघि मात्र प्रधानमन्त्री सुशील कोइराला र बनमन्त्री आचार्यजी मेरो पार्टी कार्यालयमा आई मधेसलाई निकास दिने भनेर गरेको प्रतिबद्धता के भयो?’
उनले आफूहरू आठबुँदे सम्झौताको कार्यान्वयन अन्तरिम संविधानबमोजिम हुनुपर्ने अडानमा रहेको पनि बताएका थिए। भेटवार्तामा तमलोपाका नेता हृदयेश त्रिपाठी र सर्वेन्द्रनाथ शुक्ल पनि सहभागी थिए।
भेटवार्तामा तराईमा जारी आन्दोलन र त्यसले मुलुकमा पारेको गम्भीर असरका बारेमा छलफल भएको थियो। त्रिपाठीले कांग्रेस, एमाले र एमाओवादी तीनवटै दलका तर्फबाट मधेसको मागलाई सम्बोधन गर्ने प्रतिबद्धतासहितको प्रस्ताव आए छलफलमा बस्न तयार रहेको जानकारी दिए।
अन्नपूर्णपोष्टबाट