महायज्ञमा सरकार, उच्च नेतृत्वको लावालस्कर

102
  •  
  •  
  •  

काठमाडौं, १० फागनु ।
कमल नयनाचार्य बाबाले सदरमुकाममाथीको डाँडामा कलश बनाउन आयोजना गरिएको महायज्ञमा सरकार एवं दलका उच्च नेतृत्वको लावलश्कर लाग्यो । प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, उपप्रधान एवं गृह मन्त्री बामदेव लगायत आधादर्जन मन्त्री एकै मञ्चमा पुगेका थिए । एमाओवादीबाट नेता दिनानाथ शर्मा थिए । सभासद, पुर्व मन्त्री, पुर्व सचिव, वर्तमान तथा पुर्व प्रशासकहरु त कति थिए कति । उपप्रधान एवं गृहमन्त्री गौतमले त गर्वकासाथ भने, ‘नेपाल सरकार नै यही धाममा उपस्थित छ ।’

कमलनयनाचार्य अध्यक्ष रहेको संस्थाले शनिवारदेखि आयोजना गरेको विश्वशान्ति धनधान्याचल धवलागिरी विराट महायज्ञ तथा धार्मिक पर्यटन महोत्सवमा ति सबै पुगेका हुन् । कोइराला, ओली र गौतमले यहाँ चार घण्टा बिताए । गौतम त अझ एक घण्टा अघि नै पुगेका थिए ।

‘सबै नेता आए त । मानिस ल्याउनलाई ठुला नेता आउने हल्लामात्र गरेका होलान् भनेको हो त साच्चै देखियो’ मञ्चको अगाडी बसेकी एक महिलाले भन्दै थिइन्, ‘संविधान बनाउन एकै ठाउँ बसेको सुन्न रहर हुन थाल्ने बेला यहाँ देख्न पाईयो ।’

कार्यक्रममा सबैभन्दा पहिला पुग्ने विशिष्ट थिए, गौतम । उनी श्रीमतिसहित थिए । भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधि, सिञ्चाइ मन्त्री एन पी सावद, कृषि मन्त्री हरी पराजुली आएका थिए । पुर्व मन्त्री एवं कांग्रेस नेतृ सुजाता कोइराला, पुर्व मन्त्री प्रकाशशरण महत, भारतका लागि प्रस्तावित राजदुत दिपकुमार उपाध्याय, कांग्रेसका मुख्य सचिव ऋषिकेश तिवारी थिए । ट्रेड युनियन कांग्रेसका अध्यक्ष खिलानाथ दाहाल पनि थिए । एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो, व्यवसाय अज सुमार्गि, बैंकर चन्द्र ढकाललगायत ठुला व्यवसायि पनि सहभागि थिए ।

त्यस्तै योजना आयोगका उपाध्यक्ष गोबिन्द पोखरेल, पुर्व मन्त्री माधव घिमिरे, सामान्य प्रशासनका सचिव महेन्द्र उपाध्याय, पुर्व सचिव महाश्रम शर्मा आदी पनि पुगेका थिए ।

अन्य कार्यक्रममा मर्यादाक्रमको ख्याल नगरेकोमा कार्यकर्तालाई हप्काउने कार्बाही गर्ने नेताहरु यहाँ त्यसप्रति चुपचाप थिए । उप प्रधानमन्त्री पछि पनि अरुले बोलेका थिए ।

सबैको चासो र प्रश्न एकै थियो, ‘यति धेरै विशिष्ट ल्याउने ताकत कसरी भयो ।’ विशिष्टहरुमात्र हैन मानिस पनि हजारौं थिए । स्थानीय पत्रकारहरुका अनुसार धवलागिरीमै मानिसको जमघटका हिसावले यो पहिलो भएको छ । अन्य कार्यक्रम दलहरुका पहिलेका सबै सभामा भन्दा धेरै थिए ।

प्रधानमन्त्री कोइरालाभन्दा ठुलो आसनमा बसेका थिए । कमल नयनाचार्यको आसन अग्लो थियो प्रधामन्त्री लगायत अन्यको सामान्य सोफा । सुरक्षाकर्मिले भिड छल्दै मञ्चमा पुर्‍याएपछ किोइराला, ओली, गौतम सबैले बाबाको दर्शन गरेका थिए । उनले आसनमै बसेर सबैलाई माला लगाइदिए ।

सबैले संवोधनका क्रममा बाबाको प्रशंशा गर्न समय खर्चे । बाबाको व्यक्तिगत प्रशंशा खासै नगरेका प्रधानमन्त्री कोइरालाले भने, ‘स्वर्ग देशमा आएजस्तै भएको छ ।’ ‘नेपालमा धार्मिक विकासमार्फत पर्यटन विकास गर्नुपर्छ’ उनले भने, ‘धर्ममा पनि प्रजातन्त्रको ठुलो महिमा छ ।’

ओलीले नयनाचर्यको प्रशंशा गर्न चाहान्छु भन्दै संवोधन सुरु गरेका थिए । ‘दर्शनको सन्दर्भमा कसैको मतभेद होला तर समाज सुधार्ने, विकास गर्ने काममा बाबाको प्रशंशा गर्नैपर्छ’ ओलिले भने, ‘नेपाली सभ्यता संस्कृतिमाथी ठुलो हमला भइरहेको छ । यसका विरुद्ध सचेत होऔं ।’ ‘हिन्दु सनातन धर्ममा कुनै भेदभाव छैन’ यज्ञका लागि २५ हजार रुपैयाँ सहयोग घोषणा गर्दै उनले भने ।

सिंगो सरकार यज्ञमा रहेको भन्दै मन्तब्य सुरु गरेका गौतमले ८१ प्रतिशत भन्दा धेरै जनता हिन्दु रहेको उल्लेख गर्दै भने, ‘हिन्दु धर्म कसैको धर्ममात्र भएन । यो नेपालीकै अभिन्न संस्कृति छ ।’ उनले पनि १५ दिनको तलव भत्ता पारिश्रमिक दिने बताए ।

सोहि कार्यक्रममा कमलनयनाचार्यले देश धर्म निरपेक्ष हुन नसक्ने प्रवचन दिए । ‘यसमा बिचार गरियोस्, जनताको चाहाना बमोजिम गरियोस् ।’

आयोजक र सुरक्षाकर्मिलाई विशिष्टहरुको सुरक्षा व्यवस्थापन एवं सवारी चलाउन निकै कठिन थियो । साँघुरो डाँडो, निकै भिडमा नेताहरुको सवारी भद्रगोल थियो । अन्य कार्यक्रममा भिडभन्दा टाढै राखेर सुरक्षा व्यवस्था गर्ने अधिकारीहरु यहाँ आफैं छक्क परेका थिए । ‘विशिष्टहरुको सुरक्षा र सवारी यस्तो भद्रगोल पन देखियो’ वरिष्ठ सुरक्षा अधिकारीहरु आपसमा कुराकानी गर्दै भने, ‘सरकारी वा आफ्नै दलको कार्यक्रम भए कति खप्की खानुपथ्र्यो । यहाँ त चलिहाल्यो ।’

सुमार्गीको चल्तिफिर्ति

उप प्रधानमन्त्रीले बोलेपछी व्यवसायि अजय सुमार्गिले बोल्ने मञ्च लिए । उक्त कार्यक्रममा सबैभन्दा धेरै समय उनैले बोलेका थिए । मञ्चमा पुग्ने कसैैलाई नमस्कार गर्न उनी छुटेनन् । र, केही मन्त्रीलाई ‘विजनेश कार्ड’ पनि थमाए । मञ्चमै अलि असुहाउँदो अभिवादनमा देखिएको उनको सकृयता त्यतिमै सिमिति रहेन । विशिष्टहरुका लागि खाना दिने काम पनि उनैले गरे । विशिष्टहरुलाई प्रसाद भन्दै खानाको छुट्टै ठाउँ बनाइएको थियो । प्लेटको खाना ल्याइदिने काम गरेका थिए सुमार्गिले । ‘मेरो, कर बापतको रकम, संस्था र साथीभाइको तर्फबाट रकम दिएको हुँ’ उनले भने । १ करोड ५ लाख ५५ हजार रुपैयाँ सहयोगको घोषणा उनले गरे ।

हेलिकोप्टरको ओइरो

कार्यक्रमस्थलमा एकैपटक ६ वटा हेलिकोप्टर उडेका थिए । भिरालो डाँडाका बाबजुद डोजर लगाएर वरपर थुप्रै हेलिप्याड बनाइएका थिए । हेलिकोप्टरले आसपासका जिल्लाबासिलाई पनि सोच्न बाध्य बनायो । कुनै दुर्घटना नै भएको आशंका गरेका थिए । यसैबिच गोरखामा देखिएको हेलिकोप्टरको लश्करबारे चारबजे सञ्चारकर्मि किरण लोहनीले त फेसबुकमा पोष्ट नै गरे । उनले लेखे, ‘गोरखाको आकाश हुँदै एकैपटक चार वटा हेलिकोप्टर काठमाण्डौंतिर गए । कतै केहि भएको हो र ।’
कान्तिपुरबाट


  •  
  •  
  •