‘बा’

85
  •  
  •  
  •  

बा

बगिरहेको जीवनको गङ्गाको धारमा
बा माछिलाई जाल थापी रहेछन्
पासोमा पर्ने माछि झैँ
जीन्दगीको बल्छिमा
बा आफैँलाई पासोमा थापिरहेछन्

रुपा थापा

बा पुरानो त्यो डुङ्गालाई
सकि नसकि जीन्दगीको नदीको
माझधारमा खियाइरहेछन्

थाहा छ कि छैन बा लाई
डुङ्गा खियाउँदा खियाउँदै
आफ्नै पाखुरा खिइदै गएको

बा सपना देख्छन् र देखाउँछन्
थाहाँ छैन कति पुरा हुन्छ या हुँदैन
बा ले सन्तानका निम्ति
आफ्ना आँखामा देखेका ती सपनाहरु

फेरि पनि बा जीन्दगीको
त्यहि फुटबलको मैदानमा
कोचले झैँ सधैँ भनिरहन्छन्
गोल गोल गोल

बा गोर्खे लौरी बोकेर
सन्तानका गोठालो लागि रहन्छन्
बा राइफल बोकेर काँधमा
सीमानामा दुश्मनसँग लडिरहन्छन्
बा खाडिको रापमा खैँ किन जलिरहन्छन्

बा साइकल चलाई रहेछन्
बा का पैतालाले साइकलका जन्जिरसँगै
जीन्दगीको पैँयालाई त्यसै गरि
सकि नसकि घुमाई रहेछन्

बा बाटो बनाई रहेछन्
थाहाँ छ कि छैन बालाई
युगौँ देखि त्यहि बाटोसँगै
बा का पाइलाहरु त्यसै गरि हराइ रहेका

बा क्यानाभाषमा एउटा चित्र बनाई रहेछन्
त्यहि मुहार चित्रसँगै
बा का मुहार पनि हराई रहेछन्

बा नहराउनु है तिमी मेरो आँखाबाट
सारा संसारसँग लड्न सक्छु म
जब तिम्रो साथ पाउँछु

भन्छौ मेरी फिस्टे चरीले
उडान भरी जानु छ दुर क्षितिजमा
बा लुकामारी खेल्दैछौँ किन
क्षितिजको त्यो बादलसँग

बा नबिर्सिनु है ख्याल राख्न
धड्किरहेको तिम्रो त्यो मुटुको धड्कनको
र त्यो मुटुसँगै धड्किरहने
यो फिस्टे चरिको एउटा स्यानो मुटुको


  •  
  •  
  •