कोभिड–१९ः आयुर्वेदिक औषधिप्रति आकर्षण बढ्दो

417
  •  
  •  
  •  

नेपालसहित विश्वभर यतिबेला कोरोना भाइरस(कोभिड–१९) संक्रमणले आक्रान्त बनाएको छ । विभिन्न देशहरुले बनाएका कोरोना भ्याक्सिन अहिले परीक्षणकै क्रममा छन् । हाल कोरोना भाइरसको औषधि बनिनसकेको र भ्याक्सिन पनि पत्ता लागि नसकेको अवस्थामा यसकाे दर भने दिनानुदिन बढी रहेको छ । नेपालमा कोरोना भाइरसको संक्रमणको दर बढेसँगै मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक औषधि, जडिबुटीको सेवनकर्ताहरुको संख्या पनि बढेको पाइएको छ ।

उसो त प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बारम्बार आयुर्वेदिक औषधिलाई जोड दिँदै आइरहेका छन् । हालै सम्पन्न गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समिति (एनआरएनए) को दोस्रो ज्ञान सम्मेलनमा पनि उनले आयुर्वेदिक र एलोप्याथिक दुवै क्षेत्रको सहयोगबाट कोरोनाविरुद्धको लडाइँ लडिएकाले नेपालका बहुमूल्य जडिबुटी र भान्सामा प्रयोग भइरहेका औषधिमय गुण भएका चिजको प्रयोग बढ्दो रहेको बताएका थिए ।

हुन पनि नेपालमा आयुर्वेद्धिक औषधि प्रयोग गरेर कोरोना संक्रमणमुक्त भएका धेरै उदाहरणहरु छन् । डा.प्रकाश ज्ञवाली आफुले आयुर्वेदिक औषधि खाएरै कोरोनालाई पराजित गरेको बताउँछन् । नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष समेत रहेका डा.ज्ञवाली जति धेरै कुरा कोरोना भाइरसको बारेमा जानेको बुझेको भएपनि पहिलोपटक आफुलाई संक्रमण देखिएको थाहा पाउँदा निकै डर लागेको बताउँछन् । पोजिटिभ आएपछि सामान्य लक्षण देखिएको र सबै परिवारलाई संक्रमण भएपछि छिमेकी र आफन्तलाई जानकारी गराएर घरमै आइसोलेसनमा बसेको उनले बताए ।

डा.प्रकाश ज्ञवाली

उनी भन्छन्,‘आयुर्वेदको चिकित्सक भएकाले पहिलेदेखि नै जडिबुटीहरु मात्रा मिलाएर त खाइरहेका थियौं । संक्रमण भएपछि पनि गुडूची (गुर्जो) १ चम्चा २ कप पानीमा पकाएर १ कप बाँकी रहेपछि ४ देखि ५ पत्ता तुलसीको पात राखी छानेर चिया जस्तै गरी खायौँ । च्यावनप्रास एक-एक चम्चा बिहान र बेलुका, अश्वगन्धा चुर्ण एक/एक चम्चा बिहान बेलुका पनि खाने गर्‍यौँ । यस्टीमधु चुर्ण एक-एक चम्चा र त्रिकटु एक/एक ग्रामका दरले बिहान बेलुका मनतातो पानीसँग खाने गरियो । जसले गर्दा ३ दिनमै सबै लक्षण हराएर गयो । ज्वरो आएको बेला सिटामोल खाइयो । भिटामिन सी, डी र भिटामिन बी कम्पेक्स पनि खायौं ।’

३ दिनसम्म लक्षण देखिएको र त्यसपछि सबै लक्षण हराएर ठीक हुँदै गएको उनी बताउँछन् । जटिबुटीबारे जानकारी लिन, मलाई यस्तो समस्या भयो । कुन जडिबुटी कसरी खाउँ ? भनेर दैनिक १२ देखि १५ जना नयाँ व्यक्तिले फोन गर्ने गरेको डा.ज्ञवाली बताउँछन् ।

विराटनगर घर भई हाल काठमाडौं कोटेश्वरमा बस्दै आएका ६० वर्षीय मित्र खतिवडा कोरोना संक्रमित हुँदा आयुर्वेदिक औषधि नै प्रयोग गरेको बताउँछन् । उनी मात्र होइन उनको श्रीमती, छोरी लगायत परिवारका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुले पनि आयुर्वेद्धिक औषधि नै प्रयोग गरे ।

‘खानामा हामीले भात नै खायौँ । गुडागुडी उमारेकै खायौँ । आयुर्वेद्धिक औषधिसँगै काजु, किसमिसका साथै घरायसी जडिबुटिहरु पनि प्रयोग गर्‍याे’ उनी भन्छन्, ‘घरमा नियमित माक्स लगायौँ । छुट्टाछुट्टै बस्यौँ । ज्वरो २ पटक, अक्सिमिटरले पटक–पटक अक्सिजन नाप्यो । बिहान दिउँसो, बेलुका योगा गर्‍यौँ । प्रोटिनयुक्त खाना, तातोपानीले बाफ लियौँ । आवश्यकता अनुसार आयुवेर्दिक औषधि प्रयोग गर्‍यौँ ।’ आफु पनि आयुर्वेद्धिक औषधि प्रयोग गरेर कोरोना निको भएका कारण अरुलाई पनि उनी चिकित्सकको सल्लाहमा आयुर्वेद्धिक औषधिको प्रयोग गर्न सल्लाह दिन्छन् ।
‘आयुर्वेद्धिक औषधिले हामीलाई राम्रो गर्‍यो । खानामा रुची बढायो । अहिले पनि हामीले आयुर्वेद्धिक औषधि प्रयोग गरिराखेका छौं’ उनी भन्छन् ।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा उपचारपछि निको भएर घर फर्कन लागेकालाई विदाई गर्दै

कैलाली घर भई हाल काठमाडौं बस्दै आएका २८ वर्षीय डीबी बुढा आफुलाई आयुर्वेद्धिक औषधिप्रति विश्वास लाग्ने बताउँछन् । नेपालमा कोरोना भाइरस संक्रमण शुरु भएसँगै हालसम्म पनि उनी रोगप्रतिरोधात्मक आयुर्वेद्धिक औषधि प्रयोग गर्दै आएका छन् । उनी भन्छन्, ‘मैले कोरोना शुरु भएसँगै आयुर्वेद्धिक औषधि प्रयोग गर्दै आएको छु । जसले मलाई फाइदा गरेको छ ।’

सिंहदरबार वैद्यखाना विकास समितिका प्रबन्ध निर्देशक डा.वंशदीप शर्मा खरेल कोरोना संक्रमितले रोग प्रतिरोधात्मक क्षमताहरुको वृद्धि गर्न र लक्षणहरु हटाउन आयुर्वैद्धिक औषधि प्रयोग गर्न सकिने बताउँछन् ।

डा.वंशदीप शर्मा खरेल

यद्यपी स्यानीटाइटर, भौतीक दुरी, माक्स, साबुन पानीले हात धुने लगायत स्वास्थ्य मापदण्डलाई भने यथावत राख्नुपर्ने उनको तर्क छ । उनले भने, ‘सरकारले लागू गरेको स्वास्थ्य मापदण्डलाई अवलम्बन गर्दै विभिन्न किसिमका आयुर्वेद्धिक उत्पादनहरु छ, जस्तो तुलसी चिया, जेठीमधु चूर्ण, शुद्ध अमलाबाट बनाएका आमालकी चूर्ण, रस्वगन्धा चूर्ण लगायत यी नाम गरेका उत्पादनहरु छन् । जसले प्रतिरोधात्मक क्षमता बढाउन काम गर्छ । सँगसँगै लक्षण देखापर्‍यो भने पनि त्यसलाई हटाउन सहयोग गर्छ ।’

डा.खरेल आयुर्वेद्धिक औषधि प्रयोग गरेर मात्र कोभिड–१९ ठिक गर्छु भन्ने मानसिकता छ भने यो प्रयोग नगर्न सल्लाह दिन्छन् । ‘यो एउटा अध्ययन हो । र यो अनुसन्धानको पाटोको रुपमा रहेको छ । कोभिड–१९ को औषधि बनिसकेको अवस्था छैन् । प्रत्येक चिकित्सा पद्धतिहरुले खोजि गरिरहेकै अवस्था छ । त्यहि हिसाबमा यो रोगसँग मिल्दोजुल्दो खालको जुन लक्षणहरु छन् । तिनीहरुको उपचारका लागि र बच्नका लागि विभिन्न औषधिहरुको वर्णन गरेको अवस्था छ । त्यहि अनुसार आयुर्वेद्ध चिकित्सकहरुले यिनीहरुको प्रयोगका बारेमा बताइरहेका छन् । यिनीहरुको प्रयोग गर्दा निश्चित रुपले यो रोगबाट मुक्ति पाउन सहायकसिद्ध हुन्छ’ उनी भन्छन्, ‘यसलाई हामीले निर्धक्कका साथ प्रयोग गर्न सक्छौँ । तर यिनीहरुको प्रयोग गर्दा गर्दै पनि कुनै रोगी रोगको जटिलकतामा जान थाल्यो भने अस्पताल जानुपर्ने हुन्छ ।’

आयुर्वेद्ध औषधि प्रयोग गरेको छु । त्यसकारण म १०० प्रतिशत सुरक्षित छु भनेर बस्न नहुने उनी बताउँछन् । उनी भन्छिन्, ‘कुनै पनि रोगमा जटिलताहरु आउन सक्छन् । त्यस्तो अवस्थामा जहाँ सुविद्या छ, अस्पताल अथवा स्वास्थ्य संस्थामा हामी जानुपर्नेछ । कसैलाई अक्सिजन, कसैलाई त्यहि अनुसारको आयुसियुको आवश्यकता पर्ला । यि औषधि खाएको छु । म पुरै ठिक हुन्छु भनेर नसोचौँ । हामी ति संस्थामा पनि जानुपर्छ । यदि यो आयुर्वेदिक औषधिले राम्रो गरेको छ भने निर्धक्क रुपमा प्रयोग गर्न सक्छौँ ।’ यस्तै उनी हाम्रो भान्सामा रहेका विभिन्न मसलाहरु, जस्तो सुढो पिपली, मरिच, ज्वानो, जिरा, वीरेनुन सँगसँगै करेसाबारीमा रहेका तुलसी, असुरो, पारिजातका पातहरु, गुर्जोको डाँठहरु प्रयोग पनि गर्न सकिने बताउँछन् । उनी भन्छन्, ‘यिनीहरुलाई हामीले निश्चत मात्रामा प्रयोग र लाभ लिन सक्छौँ ।’

आयुर्वेदमा रोग प्रतिरोधी क्षमता विकास गर्ने वनस्पति भनी व्याख्या गरिएका संस्कृत भाषामा अमृता भनिने गुर्जोबाट बनेको गुडुचो चिया स्क्वास, तुलसी चिया, जेठीमधु चूर्ण, शुद्ध अमलाबाट बनाएका आमालकी चूर्ण, रस्वगन्धा चूर्ण लगायत जडीबुटीबाट बनेका उत्पादनको माग पनि विगत वर्षभन्दा चार गुणसम्म बढेको डा. खरेल बताउँछन् ।

यता राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा आइसोलेसनमा राखिएका करिब ८०० कोरोना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका कार्यकारी निर्देशक डा.राम आधार यादव बताउँछन् । उनका अनुसार हाल केन्द्रमा २ सय संक्रमित उपचाररत रहेका छन् ।

डा.राम आधार यादव

केन्द्रमा राखिएका सङ्क्रमितलाई बिहान योग, प्राणायामलगायत व्यायामका साथै तिनलाई रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक औषधि खुवाइन्छ । अक्सिजनको व्यवस्था पनि गरिएको छ ।

कोरोना संक्रमितको संख्या बढिरहेको बेला घरमा आइसोलेसनमा बसेर पनि आयुर्वेद्धिक औषधि प्रयोग गर्न सकिने उनी बताउँछन् ।उनी भन्छन्‘अहिले कोभिड–१९ बढेसँगै अस्पतालमा वेडहरु नपाइएको अवस्थामा घरमै सामान्य संक्रमण देखिएका संक्रमितहरु घरमै आइसोलेसनमा पनि बस्न सकिन्छ । छुट्टै कोठा प्रयोग गर्ने, दैनिक प्रयोग हुने सामाग्री छुट्टै राख्ने, आफ्नै थर्मोमिटर, अक्समिटर साथमा राख्ने, ज्वरो, अक्सिजनको मात्रा पटक पटक नाप्ने, दिनभरि मनतातो पानी खाने र साथसाथमा केहि आयुर्वेद्धिक औषधि प्रयोग गर्‍यो भने होम आइसियलेसनमा बसेर पनि सन्चो हुन सकिन्छ । कुनै गाह्रो भयो भने चिकित्सकको सल्लाह अनुसार अस्पताल जान सकिन्छ ।’

 


  •  
  •  
  •