सत्य निरुपण तथा मेलमिलाप आयोगले सरकारलाई बुझायो प्रतिवेदन

105
  •  
  •  
  •  

काठमाडौं, ११, वैशाख(ओएनएस) : सत्य निरुपण तथा मेलमिलाप आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । द्वन्द्धकालीन न्याय निरुपणकासम्बन्धि आयोगले हालसम्म गरेका कामहरुको विवरणसहितको प्रतिवेदन बुधबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाललाई बुझाएको हो ।

सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा मन्त्री ढकाललाई बुझाइएको आयोगको प्रतिवेदनमा सत्य निरुपण तथा मेलमिलापका लागि परेका उजुरीहरुको विवरण समेत उल्लेख गरिएको छ ।

हाल पदाधिकारीविहिन रहेको सो आयोगको प्रतिवेदन निमित्त सचिव गोपिचन्द्र भट्टराई नेतृत्वको कर्मचारीहरुले मन्त्री ढकाललाई बुझाएका हुन् । चैत्र मसान्तमा आयोगको पदाधिकारीको म्याद सकिनु अघि नै तयार पारिएको प्रतिवेदन सरकारलाई बुझाइएको निमित्त सचिव भट्टराईले जानकारी दिएका छन् ।

आयोगको प्रतिवेदन बुझेपछि मन्त्री ढकालले आयोगको काम कारबाहीलाई प्रभावकारी बनाउन र त्यहाँ रहेका सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी कागजातहरुको सुरक्षाको उचित व्यवस्था गर्न आयोगका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

सरकारले चैत्र मसान्तमा सकिएको आयोगको पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न पूर्व प्रधानन्यायाधिश ओमप्रकाश मिश्रको संयोजकत्वमा सिफारिस समितिनै गठन गरेको छ । आयोगका निमित्त सचिव भट्टराईले सो समितिले सिफारिस गरेपछि सरकारले छिट्टै आयोगको पदाधिकारी नियुक्त गर्ने र आयोगको काम कारबाहीले गति लिने बताए ।


  •  
  •  
  •