प्रधानमन्त्रीले पाएको अवार्डमा सवा करोड थपेर कोष बनाइने

590
  •  
  •  
  •  

काठमाडौं, १८ मंसिर(ओएनएस) । सरकारले एशिया प्यासिफिक समिट आयोजकबाट पाएकोे एक लाख डलरको ‘सुशासन अवार्ड’मा त्यतिनै रकम थप गरेर युवा र बालबालिकाको हितमा काम गर्न कोष बनाइने भएको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको बताइएको छ । युनिभर्सल पीस फेडरेशन नामक संस्थाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक लाख डलर बराबरको शुसासन अवार्ड प्रदान गरेको थियो । प्रधानमन्त्रीले सो रकम कोष खडा गरी युवा विद्यार्थी र बालबालिकाको पक्षमा काम गर्न प्रयोग गरिने बताएका थिए ।

प्रधानमन्त्रीकै चाहना अनुसार अलग्गै कोष खडा गरी थप एक लाख डलर अर्थात नेपाली करिब एक करोड १५ लाख रुपैयाँ थपेर करिब अढाइ करोडको कोष खडा गर्ने निर्णय भएको बताइएको छ । सो कोषबाट विपन्न तथा दलित युवा विद्यार्थीको हितमा काम गरिने भएको छ ।

यसैबीच सोमबारको बैठकले कर्मचारी समायोजन अध्यादेश’ पनि स्वीकृत गरेको छ । अध्यादेश स्वीकृत भएसँगै अब विधेयकलाई प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाइने छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि विधेयकले कानूनको रुप लिनेछ ।


  •  
  •  
  •