‘इन्टरनेशनल एक्सीलेन्स अवार्ड’ प्रदान

118
  •  
  •  
  •  

काठमाडौं, ९ जेठ(ओएनएस) : मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजना गरिएको ‘इन्टरनेशनल एक्सीलेन्स अवार्ड २०१९’ मा विविध क्षेत्रका नेपाली तथा विदेशीलाई सम्मान गरिएको छ ।

आफ्नो कार्य–क्षेत्रमा एक दशकभन्दा लामो समय योगदान गर्ने विभिन्न व्यक्तिहरुलाई सो अवसरमा सम्मान गरिएको हो ।

सिजन मिडिया स्थापनाको दश वर्ष पुगेको अवसरमा मिडियाले मलेसियाको राजधानी क्वालालम्पुरमा एक भब्य कार्यक्रमकाबीच सम्मानित व्यक्तिहरुलाई अवार्ड प्रदान गरेको हो ।

कार्यक्रमको उद्घाटन गर्दै मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले मलेसियामा रहेका नेपालीमा पनि उत्कृष्ट प्रतिभाहरु रहेको बताए ।

मलेसियामा रहेका नेपालीले देशका लागि चाहिएको समयमा उत्कृष्ट काम गर्दै आएको उनले औँल्याए । उनले भने, ‘भूकम्पपीडित र हावाहुरी पीडितका लागि सहयोग र क्रिकेट मैदान बनाउने काममा पनि यहाँका नेपालीले खुला मनले सहयोग गर्दै आउनुभएको छ ।’

साहित्यकार तथा मेडम एम्बेसडर कल्पना रिजाल पाण्डेले प्रवासमा यस्ता कार्यक्रम गरेर प्रतिभाको खोजी गर्नु सकारात्मक काम भएको बताइन् ।

सम्मानमा विभिन्न विधामा महिलालाई समावेश गरेकामा उनले खुशी व्यक्त गरिन् । सिजन मिडियाका प्रमुख कार्यकारी अधिकृत प्रदीपराज वन्तले सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिलाई प्रोत्साहन गर्न पुरस्कारको स्थापना गरिएको बताए ।

कार्यक्रममा १६ विधामा पुरस्कार प्रदान गरिएको छ । यस वर्षको उत्कृष्ट फोटोग्राफरमा राजन काफ्ले, उत्कृष्ट ग्राफिक डिजाइनरमा विशाल चौधरी, उत्कृष्ट युवा महिला उद्यमीमा शान्ति लिम्बू , उत्कृष्ट बहुमुखी गायकमा दिनेश थापा पुरस्कृत भएका छन् । उत्कृष्ट युवा प्रेरणा सामाजिक कार्यकर्तामा नीता राउत, उत्कृष्ट महिलामा एलिना तुलाधर, र उत्कृष्ट ब्युटिसियनमा गोपीमाया थुलुङले पुरस्कार पाएका छन् । त्यस्तै, उत्कृष्ट फेसन डिजाइनरमा राधा ढकाल सापकोटा, उत्कृष्ट समाचार लेखनमा लक्ष्मी खतिवडा, उत्कृष्ट सामाजिक कार्यकर्तामा छमकला बुढाथोकी, उत्कृष्ट विवाह फोटोग्राफीमा मोहम्मद शहनवाज र उत्कृष्ट व्यावसायिक अन्तर्राष्ट्रिय बडी बिल्डरमा महेश्वर महर्जनले पुरस्कार प्राप्त गरेका छन् ।

कार्यक्रममा उत्कृष्ट बंगलादेश फोटोग्राफरमा सलमा अहमद, उत्कृष्ट अन्तर्राष्ट्रिय सिनेमाटोग्राफरमा विष्णुप्रसाद घिमिरे, उत्कृष्ट अन्तर्रा्ष्ट्रिय कोरियोग्राफरमा रोजिन शाक्य र उत्कृष्ट वरिष्ठ फोटो पत्रकारमा गोरखापत्रका वरिष्ठ फोटो पत्रकार राजेन्द्र चित्रकारले पुरस्कार प्राप्त गरेका छन् ।

कार्यक्रममा मलेसिया बसोबास गर्दै आएका नेपाली शंकरबहादुर पौडेललाई विशेष सम्मान गरिएको थियो ।


  •  
  •  
  •