हिमपहिरोमा परी एक सय हराइरहेको आशंका

101
  •  
  •  
  •  

काठमाडौं, ३० असोज (ओएनएस) : मनाङ, मुस्ताङ र म्याग्दीमा हिमपहिरोमा परी सयजना भन्दा बढी सम्पर्कविहीन भएका सरकारले जनाएको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्यले मनाङ, मुस्ताङ र म्याग्दी जिल्लामा अकस्मात् आएको हिमपहिरोमा परी एकसयजना हराइरहेको हुनसक्ने बताएका छन् ।

व्यवस्थापिका–संसद्को बिहीवार बसेको बैठकमा सभासदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री अमात्यले हिमपहिरोमा परेकाहरूको उद्धारका लागि आपत्कालीन नियन्त्रण केन्द्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खडा गरी उद्धार कार्य भइरहेको जानकारी दिए ।

मन्त्री अमात्यका अनुसार उद्धारका लागि पाँचवटा हेलिकप्टर सम्बन्धित क्षेत्रमा परिचालन गरिएका र केही हेलिकप्टर तयारी अवस्थामा राखिएका छन् ।  अहिलेसम्म हिमपहिरोमा परी मृत्यु भएका १९ जनाको शव फेला पारिएको र १४ जना घाइतेको उपचार भइरहेको उनले जानकारी दिए ।

अझै केही नागरिक हराइरहेका छन् । केही नेपाली सहित १ सय १९ जना पर्यटक भने सम्पर्कमा आएका छन् । उनीहरुको उद्धार गरिएको छ ।


  •  
  •  
  •