काठमाडौं, ३ भदौ (ओएनएस): एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पूर्व प्रधानसेनापति रुक्माङ्गत कटवालको आत्मकथा तथ्यहीन भएको बताएका छन् । केही दिन अगाडि मात्रै सार्वजनिक भएको कटवालको आत्मकथामा उल्लेख भएका बिषयहरु प्रति प्रतिकृया जनाउदै दाहालले त्यसलाई वाहियातको संज्ञा दिए । मंगलवार आफ्नै निवासमा पत्रकारसँग अध्यक्ष दाहालले भने “आत्मकथा इतिहासकै वाहियात छ, आत्मकथामा उल्लेख गरेका धेरै कुराहरु तथ्यहीन छन् । “
विगतमा दरवारको पक्षपोषण गर्ने कटवालले गणतन्त्र ल्याएको झैं गरी आत्मकथामा प्रस्तुत गर्नुको कुनै तुक नभएको टिप्पणी अध्यक्ष दाहालले गरे । “विगतमा राजतन्त्रको पक्षपोषण गर्ने कटवालले जनआनदोलन, जनयुद्धको बलमा आएको गणतन्त्रलाई ‘म नभएको भए सम्भव थिएन’ भनेजसरी ब्याख्या गरेको सुनियो, त्यसमा सत्यता छैन ।” अध्यक्ष दाहालले भने “यसले पनि के देखाउछ भने ऊ अत्यन्त चरम अवसरवादी ब्यक्ति हो ” । दाहालले कटवाल प्यादाको रुपमा प्रयोग भएको र कसैबाट निर्देशित भएको ब्यक्तिको रुपमा आफूले चिनेको बताए ।
चर्चित प्रधानसेनापति प्रकरणमा कटवालले खेलेको भूमिका आफूले कहिल्यै बिर्सन नसकेको पनि उनले उल्लेख गरे। “जननिर्वाचित सरकारले देश बनाउनका लागि राखेको प्रस्ताव उसले लत्यायो र आफू सर्वेसर्वाझैं भएको रुपमा प्रस्तुत भयो ” दाहालले भने ” तर पनि ऊ जनताको पक्षपाति सेनापतिको रुपमा भन्दा पनि नौटंकी देखाउनमै सिमित भयो ।” यद्यपि दाहालले कटवालको आत्मकथा टिप्पणी गर्न लायक नभएको महसुस गरेको पनि बताए । ।