विद्युतीय रिक्सा चलाउन अवरोध हुँदा तनाव

118
  •  
  •  
  •  

धनगढी, ३ असार (ओएनएस) : धनगढीमा छोटो समयमै यात्रुको पहिलो रोजाई बन्न पुगेको विद्युतीय रिक्सा (अटो रिक्सा) सञ्चालनमा नगरबस व्यावसायीले अवरोध सिर्जना गर्न थालेका छन् ।

बस व्यावसायीहरूले ‘विद्युतीय रिक्सा व्यवस्थित गर्ने’ नाममा सञ्चालनमा अवरोधको प्रयास गरिरहेको रिक्सा चालकहरूको गुनासो छ ।
बस व्यावसायीहरूले राजमार्ग र चार लेनको सडकमा विद्युतीय रिक्सा सञ्चालन गर्न नपाइने बताइरहेका छन् । सुदूरपश्चिम यातायात व्यावसायी संघका महासचिव रविन्द्र खड्का भन्छन्, ‘राजमार्ग र चार लेनको सडकमा विद्युतीय रिक्सा चलाउन पाइँदैन । धनगढीमा संघका २५ र कर्णाली यातायातका ५ गरी ३० नगरबस सञ्चालन छन् ।’

विद्युतीय रिक्सा व्यावसायी समितिका अध्यक्ष लालबहादुर विकले धनगढीको चौराहदेखि भन्सारसम्मको सडक धनगढी नगर क्षेत्रभित्र पर्ने भएकाले रिक्सा चलाउन पाउनुपर्ने बताए । हाल चौराह–भन्सार तथा नगरका भित्रि सडकमा विद्युतीय रिक्सा सञ्चालन हुनसकेका छैनन् ।
अध्यक्ष विकले नगरको जुनसुकै क्षेत्रमा पनि निर्वाध रूपमा अटो रिक्सा सञ्चालन गर्न पाउनुपर्ने माग गरे । उनले चौराह–भन्सार रोडमा विद्युतीय रिक्सा सञ्चालनमा रोक लगाइए आफूहरू पनि धनगढीको मुख्य बजारमा नगरबस सञ्चालनमा रोक लगाउने चेतावनी दिए ।
बुधबार मात्र अटो रिक्सा चालकमाथि नगर बस चालक तथा सहचालकहरूले दुव्र्यवहार गरेका थिए ।

विद्युतीय रिक्साका चालक रामचरण चौधरीमाथि हातपात भएको समितिका अध्यक्ष विकले जनाए । उनले से १ ह ११२ नम्बर विद्युतीय रिक्साका चालक चौधरीमाथि नगरबस चालकहरूले हातपात गरेको बताए ।

सेती अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख अच्युत दाहालले धनगढीको चौराहदेखि भन्सार रोडसम्म विद्युतीय रिक्सा चल्नुपर्ने माग आएको र सो मागबारे यातायात विभागलाई जानकारी गराइएको बताए ।

देशभर नै विद्युतीय रिक्सा सञ्चालन भइरहेको जानकारी दिँदै कार्यालय प्रमुख दाहालले विद्युतीय रिक्सा सञ्चालनको मापदण्ड तोक्न विभागमा समिति बनेको र समितिको प्रतिवेदन अनुसार मापदण्ड तोकिने बताए ।

‘समितिको प्रतिवेदनका आधारमा विभागले मापदण्ड तोक्ने हो’ उनले भने । हाललाई कसरी व्यवस्थित तरिकाले विद्यतीय रिक्सा सञ्चालन गर्न सकिन्छ भन्ने बारेमा सबै पक्षले चासो लिन पनि उनले आग्रह गरे ।

विद्युतीय रिक्सा चालकलाई ‘सी’ श्रेणीको लाईसेन्स र यातायात कार्यालयमा दर्ता हुने व्यवस्था रहेको दाहालले जनाए । उनका अनुसार यातायात कार्यालयमा एक सय ६५ विद्युतीय रिक्सा दर्ता छन् ।

सुदूरपश्चिम यातायातका महासचिव खड्काले राजमार्ग क्षेत्रमा विद्युतीय रिक्सा सञ्चालन गर्न नपाइने भएकाले जिल्ला प्रशासन, यातायात व्यवस्था कार्यालयमा ज्ञापनपत्र बुझाइ पनि कुनै सुनुवाई नभएको बताए ।

नगरपालिकाले विद्युतीय रिक्सा सञ्चालनको सिफारिस गर्नेगर्दछ । धनगढी नगरपालिकाका कार्यकारी अधिकृत रामलाल श्रेष्ठले नगरबस र विद्युतीय रिक्साबीचको विवादलाई लिएर पटक–पटक नगरपालिकामा छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएको बताए । ‘हामीले समन्वयकारी भूमिका मात्रै निर्वाह गर्ने हो’ उनले भने– ‘मापदण्डअनुसार सञ्चालन भए नभएको हेर्ने जिम्मेवारी यातायात र ट्राफिक कार्यालयको हो ।’


  •  
  •  
  •