नेपाल–अष्ट्रेलियाबीचको सम्बन्ध अत्यन्त सकारात्मक : अध्यागमनमन्त्री 

230
  •  
  •  
  •  

सिडनी, २८ वैशाख(ओएनएस) : अष्ट्रेलियाका अध्यागमनमन्त्री डेभिड कोलम्यानले नेपाल र अष्ट्रेलिया बीचमा अत्यन्त सकारात्मक सम्बन्ध रहेको बताएका छन् ।

शनिबारदेखि शुरु भएको प्रवासी नेपालीहरुको संगठन एनआरएनको तेस्रो ओसेनिया क्षेत्रीय सम्मेलनमा पछिल्लो केही वर्षमा नेपालीसँग मिलेर काम गरिरहेको जानकारी गराउँदै उनले नेपालीहरु अष्ट्रेलियाको लागि महत्वपूर्ण अंग रहेको बताए ।

यस्तै उनले एक सातापछि हुन लागेको निर्वाचनमा लिबरल सरकार पुनः निर्वाचित भएमा नेपाली सामुदायको भवन निर्माण गर्न सहयोग गर्ने प्रतिवद्धता जनाए ।

सरकार पुनः निर्वाचित भएमा १ मिलियन डलर (करिब ८ करोड रुपैयाँ) सहयोग दिने घोषणा गरेका हुन् । मन्त्री कोलम्यानले नेपालीहरुलाई आफ्नो कार्यक्रमहरु आयोजना गर्नका लागि सामुदायिक भवन निर्माणमा सहयोग प्रदान गर्ने बताए ।

अष्ट्रेलियामा रहेका नेपालीहरुको उच्च प्रशंसा गर्दै उनले अष्ट्रेलियामा ६० हजारबढी नेपालीमूलका ब्यक्तिहरु रहेको जानकारी गराएका थिए ।

नेपालीहरुको आफ्नै भवन निर्माणार्थ सहयोगका लागि अष्ट्रेलियन नेप्लिज एसोसिएसन मार्फत नेपालीहरुले पहल गर्दै आएका थिए । अष्ट्रेलियामा यही मे १८ मा निर्वाचन हुँदैछ ।

‘इन्भेष्टमेन्ट, इन्नोभेसन र टुरिजमु’ नारा दिइएको सम्मेलनमा ओसिनिया सम्मेलनमा अष्ट्रेलियाका अन्य नेताहरुका साथै विभिन्न देशका एनआरएन प्रतिनिधिहरु, नेपालबाट कानुनमन्त्री भानुभक्त ढकाल, प्रदेश ५ का सांसद विष्णु पन्थी अष्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदूत द्रुपदा सापकोटा, एनआरएन अध्यक्ष भवन भट्ट, महासचिव बद्री केसी, उपादक्ष्यहरु कुमार पन्त र कुल आचार्य, पूर्व अध्यक्ष शेष घले, ओसिनिया संयोजक धर्मराज अधिकारी, अष्ट्रेलिया अध्यक्ष टोनु घोताने लगायतको सहभागिता रहेको छ ।

आइतबारसम्म चल्ने सम्मेलनमा नेपालमा लगानीका विषयमा केन्द्रीत रहने रहेको छ ।
सम्मेलनमा एनआएनए उपाध्यक्ष कुमार पन्तले गत चैत दोस्रो साता लगानी सम्मेलनमा नेपाल सरकारसँग हस्ताक्षरित सम्झौता अनुसार कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
कार्यपत्रमा १० अर्ब लगानीको आधार, यसको मेकानिजम, प्रतिफलको ग्यारेण्टीलगायतका विषय समेटिनेछ ।

लगानी सम्मेलनका क्रममा एनआरएनले सरकारसँग नेपालमा १० अर्ब लगानी गर्नेसम्बन्धी समझदारी गरेको थियो ।

सम्मेलनमा एनआरएन केन्द्रीय अध्यक्ष भवन भट्ट महासचिव लगायतले पनि कार्यपत्र प्रस्तुत गर्नेछन् । ओसिनिया क्षेत्रीय सम्मेलनको मुख्य उद्देश्य नेपाललाई समृद्ध बनाउन कसरी एनआरएनएले बढीभन्दा बढी लगानी, आविष्कार र पर्यटक भित्र्याउन सक्छ भनेर छलफल गर्नु रहेको एनआरएनले जनाएको छ ।

यस्तै विदेशिएका नेपालीहरूले विदेशमा सिकेको ज्ञान, सिप, क्षमता, अनुभव, शिक्षा र कमाईलाई भित्र्याउनेबारे पनि बहस र विमर्श सम्मेलनमा हुनेछ । यस्तै नेपालको पर्यटन प्रवद्र्धन गर्नेबारे पनि सम्मेलनमा विशेष छलफल हुनेछ ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्क ओसेनिया संयोजक धर्मराज अधिकारीका अनुसार छलफलले नेपाल सरकारको उद्देश्य अनुसारको ‘भिजिट नेपाल–२०२०’ सघाउ पुग्ने अपेक्षा राखिएको छ ।


  •  
  •  
  •