अष्ट्रेलियाद्वारा पाँचौ पटक उपाधि कब्जा

219
  •  
  •  
  •  

काठमाडौ, १५ चैत(ओएनएस) : विश्वकप क्रिकेट २०१५ को उपाधि अष्ट्रेलियाले जितेको छ । अष्ट्रेलियाले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै पाँचौ पटक उपाधिमाथि कब्जा जमाएको हो ।

मेलवर्न क्रिकेट ग्राउण्डमा भएको खेलमा न्युजिल्याण्डले अष्ट्रेलियालाई पाँचौ पटक उपाधि हासिल गर्नका लागि पेश गरेको १ सय ८४ रनको झिनो चुनौती मात्र ३३ ओभर १ बल खेल्दै ३ विकेट गुमाएर पुरा गरेको थियो । अष्ट्रेलियालाई सहज जित दिलाउने क्रममा आफ्नो अन्तिम एकदिवसीय खेल खेलिरहेका कप्तान माइकल क्लार्कले ७४ रनको उत्कृष्ट पारी खेलेका थिए भने क्लार्कसँग १ सय १२ रनको साझेदारी गरेका स्टिभन स्मिथले अविजित ५६ रनको पारी खेलेका थिए । यसअघि डेविड वार्नरले ४५ रन जोडेका थिए । न्युजिल्याण्डका लागि हेनरीले २ र ट्रेन्ट बोल्टले १ विकेट लिएका थिए ।

यसअघि टस जितेर ब्याटिङ थालेको न्युजिल्याण्डले ४५ ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर १ सय ८३ रन जोडेको थियो । खराब सुरूवात गरेको न्युजिल्याण्डले मात्र ३३ रन जोड्दा आफ्ना दुई प्रारम्भीक ब्याटस्म्यानलाई गुमाएको थियो । कप्तान ब्राण्डन म्याकुलम शुन्यमा नै आउट भएका थिए ।

न्युजिल्याण्डको इनिङलाई ग्राण्ट इलियट र रस टेलरले केही सम्हालेपनि अन्य ब्याटस्म्यान क्रिजमा लामो समय टिक्न नसक्दा न्युजिल्याण्ड सस्तैमा समेटिएको हो । ४० रन बनाएका रस टेलरसँग १ सय ११ रनको साझेदारी गरेका ग्राण्ड इलियट ८३ रनको उत्कृष्ट पारी खेल्दै पेभेलियन फर्किएका थिए । पावरप्लेको ५ ओभरमा मात्र १५ रन जोड्दा ३ विकेट गुमाएपछि अष्ट्रेलियाले खेलमा आफ्नो प्रभूत्व कायम गरेको थियो । न्युजिल्याण्डका लागि मार्टिन गुप्टिलले १५ रन, केन विलियम्सन १२ रन र टिम साउथीले ११ रन जोड्नुबाहेक अन्य ब्याटस्म्यानले दोहोरो अंक समेत जोड्न सकेनन् ।

न्युजिल्याण्डलाई सस्तैमा समेट्ने क्रममा जेम्स फल्कनरले पावरप्लेको पहिलो ओभरमा २ विकेट र ८३ रन बनाएका इलियटको विकेट लिँदै आफ्नो खातामा ३ विकेट पुर्याए । यस्तै, मिचेल जोनसन, मिचेल स्टार्कले समान २-२ विकेट र म्याक्सवेलले १ विकेट हात पारेका थिए ।

प्रतियोगिताको म्यान अफ दी म्याच जेम्स फल्कनर घोषित भएका छन्  । प्रतियोगिताको म्यान अफ दी टुर्नामेन्ट मिचेल स्टार्क घोषित भएका छन् ।  यी दुवैलाई स्टार क्रिकेटर सचिन तेन्दुलकरले ट्रफी प्रदान गरेका थिए ।


  •  
  •  
  •