काठमाडौ, २८ भदौ(ओएनएस) : घरेलु टोली इङल्याण्डलाई ३-२ ले पराजित गर्दै अष्ट्रेलियाले एकदिवसिय क्रिकेट श्रृंखलामाथि कब्जा जमाएको छ । २-२ को बराबरीमा रहेको श्रृंखलाको अन्तिम खेलमा अष्ट्रलियाले घरेलु टोली इङल्याण्डलाई नमिठो पराजय चखाउँदै उपाधी आफ्नो बनाएको हो ।
अष्ट्रेलियाले अन्तिम एकदिवसिय खेल अन्तर्गत गयराती सम्पन्न खेलमा ८ विकेटले पराजित गरेको थियो । म्यानचेष्टरको ओल्ड ट्राफोर्डमा भएको खेलमा अष्ट्रेलियाले पछ्याएको १ सय ३९ रनको झीनो लक्ष्य मात्र २४ ओभर २ बलमा २ विकेट गुमाएर पुरा गरेको थियो । अष्ट्रेलियाको जीतमा प्रारम्भिक ब्याटस्म्यान आरोन फिन्चले अविजित रहँदै सर्वाधिक ७० रन जोडेका थिए भने जर्ज बेलीले अविजित रहँदै ४१ रन जोडेका थिए । इङल्याण्डका लागि डेभिड विले र नार्क वुडले समान १-१ विकेट लिएका थिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको इङल्याण्डले निकै कमजोर प्रदर्शन गर्दै मात्र ३३ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै १ सय ३८ रन जोडेको थियो । उसका लागि बेन स्टोकले सर्वाधिक ४२ रन जोडे भने अदिल रसिदले अविजित रहँदै ३५ रन जोडेका थिए । कप्तान इयान मोर्गान रिटायर्ड हर्ट हुँदै पेभेलियन फर्केपछि टोली थप दवावमा परेको थियो । उनी मात्र १ रन जोडेर बाहिरिएका थिए । यस्तै, मार्क वुडले १३ रन र जेम्स टेलरले १२ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याटस्म्यानले दोहोरो अंक जोड्न सकेनन् ।
यता अष्ट्रेलियाका लागि मिचेल मार्सले सर्वाधिक ४ विकेट लिए भने जोन हस्टिङले ३ विकेट हात पारे । यस्तै, मिचेल स्टार्क र एस्टन अगरले समान १-१ विकेट लिएका थिए ।
खेलको म्यान अफ दी म्याच र प्रतियोगिताको म्यान अफ दी टुर्नामेन्ट अष्ट्रेलियाका मिचेल मार्स घोषित भएका थिए ।