अष्ट्रेलियाद्धारा भारत पुनः पराजित, २-० ले अगाडि

426
  •  
  •  
  •  

aus-vs-india-test-cricketकाठमाडौ, ५ पुस(ओएनएस) : अष्ट्रेलिया र भारतबीच जारी टेष्ट श्रृंखलाको दोस्रो टेष्टमा पनि अष्ट्रेलिया विजयि भएको छ । चौथो दिनको खेलमा नै अष्ट्रेलियाले भारतलाई ४ विकेटले पराजित गरेको हो ।

ब्रिसवाने क्रिकेट मैदानमा सम्पन्न खेलमा आज अष्ट्रेलियाले भारतले दिएको १ सय २८ रनको विजय लक्ष्य आफ्ना ६ विकेट गुमाउँदै भेट्टाएको थियो । अष्ट्रेलियालाई जित दिलाउनका लागि रोजर्सले ५५ रन तथा कप्तान स्मिथले २८ रन जोडेका थिए । यस्तै, सन मार्सले १७ रन जोडे । यता भारतका इशान्त शर्माले ३ र उमेश यादवले २ विकेट लिएका थिए ।

यसअघि दोस्रो इनिङ्मा भारतले खराब प्रदर्शन गर्दै मात्र २ सय २४ रन जोडेको थियो । भारतका लागि शिखर धवनले ८१ रन जोडेका थिए भने चेतेश्चर पुजाराले ४३ र उमेश यादवले ३० रन बनाउनुबाहेक अन्य ब्याटस्म्यान लामो समय टिक्न सकेनन् । भारतलाई सस्तैमा समेट्नका लागि मिचेल जोनसनले ४ विकेट र हेजलवुड, स्टार्क र लियोनले समान २-२ विकेट हात पारेका थिए ।

यसअघि पहिलो इनिङमा भारतले टस जितेर ब्याटिङ गर्दै मुरली विजयको शतकको मद्धतले ४ सय ८ रन जोडेको थियो । भारतका लागि अजिकक्के रहानेले ८१ रन, आश्विनले ३३, कप्तान धोनीले ३३ र रोहित शर्माले ३१ रन जोडेका थिए । अष्ट्रेलियाका लागि टेष्ट डेब्यु गरेका हेजलवुडले ५ विकेट लिएका थिए भने लियोनले ३ तथा सन मार्स र सेन वाटसनले समान १-१ विकेट लिएका थिए ।

यसैगरी, अष्ट्रेलियाले पहिलो इनिङमा कप्तान स्टेभन स्मिथको शतकीय पारीको मद्धतले ५ सय ५ रन जोडेको थियो । स्मिथले १ सय ३३ रन जोडेका थिए भने जोडसनले ८८ रन, रोजर्सले ५५ र स्टार्कले ५२ रन जोडेका थिए । अष्ट्रेलियालाई उक्त स्कोरमा समेट्नका लागि इशान्त शर्मा र उमेश यादवले समान ३-३ विकेट र वरून अरूण र आर आश्विनले समान २-२ विकेट लिएका थिए ।

प्रतियोगिताको म्यान अफ दी म्याच अष्ट्रेलियाका कप्तान स्मिथ घोषित भएका छन् ।

जितसँगै अष्ट्रेलिया ४ टेष्टको श्रृंखलामा २-० ले अगाडि रहेको छ ।


  •  
  •  
  •