काठमाडौँ, ९ चैत(ओएनएस) : भारतमा जारी टि-२० विश्वकप क्रिकेट प्रतियोगिताको गयराती सम्पन्न खेलमा अष्ट्रेलियाले पहिलो जित दर्ता गरेको छ । बेङ्ग्लोरमा भएको खेलमा अष्ट्रेलियाले पहिलो जित दर्ता गर्ने क्रममा बंगलादेशलाई ३ विकेटले पराजित गरेको हो ।
बंगलादेशले दिएको १ सय ५७ रनको विजय लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाले १८ ओभर ३ बलमा आफ्ना ७ विकेट गुमाउँदै उक्त लक्ष्य पार गरेको थियो । अष्ट्रेलियालाई जित दिलाउनका लागि उस्मान खावजाले उत्कृष्ट ५८ रनको पारी खेलेका थिए । साथै, ग्लेन म्याक्सवेलले २६ रन, शेन वाटसनले २१ रन, डेभिड वार्नरले १७ रन, स्टिभन स्मिथले १४ रन जोडेका थिए ।
बंगलादेशका लागि सकिब अल हसनले ३ विकेट लिएका थिए भने मुस्ताफिजुर रहमानले २ तथा अल अमिन हुसेनले १ विकेट लिएका थिए ।
यसअघि टस हारेर ब्याटिङ थालेको बंगलादेशले उत्कृष्ट प्रदर्शन गर्दै निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाएर १ सय ५६ रन जोडेको थियो । बंगलादेशका लागि मोहम्मुदुल्लाहले अविजित रहँदै सर्वाधिक ४९ रन जोडेका थिए । यस्तै, सकिब अल हसनले ३३ रन, मोहम्मद मिथुनले २३ रन जोडेका थिए ।
अष्ट्रेलियाका लागि एडम जाम्पाले ३ विकेट लिएका थिए भने शेन वाट्सनले २ विकेट लिएका थिए ।
खेलको म्यान अफ दी म्याच एडम जाम्पा घोषित भएका छन् ।