भारत ९५ रनले पराजित, उपाधीका लागि अष्ट्रेलिया र न्युजिल्याण्ड भिड्ने

242
  •  
  •  
  •  

सिड्नी, १२ चैत(ओएनएस) : विश्वकप क्रिकेटअन्तर्गत दोस्रो सेमिफाइनलमा भारतलाई ९५ रनले पराजित गर्दै अष्ट्रेलिया फाइनल प्रवेश गरेको छ । प्रतियोगिताको सह-आयोजक अष्ट्रेलिया उपाधीका लागि अर्को सह-आयोजक न्युजिल्याण्डसँग भिड्ने छ ।

सिड्नीको सिड्नी क्रिकेट मैदानमा सम्पन्न खेलमा ३ सय २९ रनको लक्ष्य पछ्याएको भारत ४६ ओभर ५ बलमा मात्र २ सय ३३ रन बनाउँदा अल आउट हुन पुग्यो र खेल अष्ट्रेलियाले ९५ रनले जितेको छ ।

सुरूवात राम्रो गरेपनि उक्त लयलाई कायम गर्न नसकेपछि भारत पराजित भएको हो । पहिलो विकेटको लागी ७६ रनको साझेदारी नै भारतको सर्वाधिक साझेदारी भएको थियो । भारतका तर्फबाट कप्तान महेन्द्र सिंह धोनीले सर्वाधिक ६५ रन बनाउनु बाहेक अन्य ब्याटस्म्यानले अर्धशतक प्रहार गर्न सकेनन् । उसका लागि शीखर धवनले ४५ रन, अजिक्य रहानेले ४४ रन, रोहित शर्माले ३४ रन जोडेका थिए ।

खेलमा निखै उत्कृष्ट पारी खेल्ने आश गरिएका भारतीय क्रिकेट टोलीका उपकप्तान विराट कोह्ली १ रनमा नै आउट हुन पुगेका थिए । विराट १ रनमा नै आउट भएपछि भारतीय प्रशंसकहरूले उनकी प्रेमीका अनुष्का शर्मामाथि समेत रिस पोखेका छन् ।

अष्ट्रेलियालाई जीत दिलाउनका लागि जेम्स फल्कनरले ३ विकेट लिएका थिए भने मिचेल स्टार्क र मिचेल जोनसनले समान २-२ विकेट लिएका थिए । यस्तै, हेलजवुडले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३२८ रन बनायो ।

अस्ट्रेलियाको लागि स्टेभिन स्मीथले शतकीय पारी खेल्ने क्रममा १०५ रन बनाए । स्मीथले ९३ बलमा ११ चौका र २ छक्का प्रहार गरे । यस्तै ओपनर आरोन फिञ्चले ८१ रनको योगदान गरे । त्यसअघि डेभिड वार्नर १२ रनमै आउट भए ।

ग्लेन म्याक्सवेलले २३, सेन वाट्नसनले २८, कप्तान माइकल क्लार्कले १०, जेम्स् फल्कनरले २१ रन बनाए । आक्रमक पारी खेलेका माइकल जोनसनले ९ बलमा नटआउट २७ र ब्राड ह्याडिन ७ रनमा अविजित रहे । बलिङतर्फ उमेश यादवले ४ र मोहित शर्माले २ विकेट लिएभने रविचन्द्र आस्वीनले एक विकेट हात पारे ।

प्रतियोगिताको म्याच अफ दी म्याच अष्ट्रेलियाका स्टिभन स्मिथ घोषित भएका छन् ।


  •  
  •  
  •