अन्धाधुन्ध चक्कु प्रहार गर्ने व्यक्तिको प्रहरी कारबाहीमा मृत्यु

1045
  •  
  •  
  •  

एजेन्सी । दक्षिणी लन्डनमा अन्धाधुन्ध चक्कु प्रहार गर्ने एक पुरुषको प्रहरी कारबाहीमा मृत्यु भएको छ । सुदेश अम्मान नाम गरेका ती २० वर्षीय व्यक्ति झन्डै एक साताअघि मात्र कारागारबाट छुटेको खुलेको छ ।

आतंकवादसम्बन्धी अभियोगमा जेल परेका उनलाई तीन वर्ष चार महिनाको सजाय सुनाइएको थियो । उनी आधा सजाय भोगेपछि मुक्त भएका थिए ।

जेलबाट छुटेपछि अम्मान प्रहरीको सक्रिय निगरानीमा थिए । तर उनले दक्षिणी लन्डनको स्ट्रीथम हाई रोडमा सर्वसाधारणलाई आक्रमण गरेको बीबीसीले उल्लेख गरेको छ । उनको शरीरमा कुनै उपकरणजस्तै देखिने नक्कली वस्तु टाँसिएको प्रहरीले जनाएको छ । आक्रमणमा तीन जना घाइते भएका छन् । तीमध्ये एक जना गम्भिर घाइते भएको बताइएको छ ।

प्रहरीले घटनालाई इस्लामिक अतिवादसँग जोडिएको आतंकवादी आक्रमण भनेको छ । विवरणहरूका अनुसार अम्मानले एउटा पसलभित्र छिरेर मानिसहरूलाई चक्कु प्रहार गरेका थिए । त्यसपछि उनले बाहिर निस्किएर एक महिलालाई पनि आक्रमण गरेका थिए ।

सशस्त्र प्रहरीहरू उक्त स्थलतिर आएर मानिसहरूलाई पछि सर्न भनेपछि प्रत्यक्षदर्शीहरूले तीन चोटि गोली चलेको सुनेको र एक व्यक्ति बूट्स फार्मेसीबाहिर लडिरहेको देखेको बताएका छन् ।


  •  
  •  
  •