यमनका राष्ट्रपतिको निवासमा आक्रमण

200
  •  
  •  
  •  

काठमाडौं ७ माघ (बीबीसी) गत गत सेप्टेम्बरमा राजधानी साना छिरेका यमनको शिया हूथी विद्रोहीहरुले त्यहाँका राष्ट्रपतिको निवासमा भीषण गोलाबारी गरेका छन्। आक्रमणका बेला राष्ट्रपति अब्दराब्बुह मसुंर हादि घरभित्रै भएपनि सुरक्षित रहेको अधिकारीहरुले बताएका छन्।

सुरक्षाकर्मीहरुसंगको भिडन्तपछि शहरको अर्को भागमा रहेको राष्ट्रपति भवनमा विद्रोहीहरु प्रवेश गरेपछि राष्ट्रपतिको घरमा गोलाबारी गरिएको समाचार आएको हो।

सूचनामन्त्री नादिआ अल-सक्काफले सामाजिक सञ्जाल ट्वीटरमा जनाएअनुसार नजिकैका घरका छतहरुबाट लडाकुहरुले राष्ट्रपतिको घरमा भीषण गोलाबारी गरेका थिए।

नाम उल्लेख नगर्ने शर्तमा एकजना सरकारी अधिकारीले समाचार संस्था रोयटर्सलाई भने, “राष्ट्रपति घरभित्रै छन् र उनी सुरक्षित छन्।”

प्रत्यक्षदर्शीहरुका अनुसार करिब आझा घण्टापछि गोलाबारी रोकिएको थियो। विद्रोहीहरुको गोलाबारीका कारण युद्धविराम सम्झौता तोडिएको बताईएको छ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले आक्रमणको निन्दा गर्दै मुलुकको वैधानिक नेतृत्व स्वीकार्न विद्रोहीहरुलाई आग्रह गरेको छ। तर विद्रोही नेता अब्देल मलिक अल-हूथीले यमनका नेताहरुमाथि भ्रष्टाचारको आरोप लगाउँदै मुलुक महत्वपूर्ण मोडमा पुगेको बताएका छन्।


  •  
  •  
  •