पत्रकार अधिकारीमाथिको आक्रमणको महासंघ र पिजे क्लबद्वारा भर्त्सना

481
  •  
  •  
  •  

Kabin Adhikariकाठमाडौँ, २८ चैत(ओएनएस) : समाचार संकलनका लागि सिंहदरबार गएका फोटो पत्रकार कविन अधिकारीमाथि प्रहरीले कुटपिट गरी घाइते बनाएको भन्दै नेपाल पत्रकार महासंघ र फोटो पत्रकार क्बलले भर्त्सना गरेको छ ।

आइतबार जारी विज्ञप्तिमा पत्रकारमाथिको आक्रमण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हमला भएको उल्लेख गरिएको छ ।

महासंघद्वारा जारी विज्ञप्तिमा अधिकारीमाथि भएको प्रहरी ज्यादतीको भर्त्सना गर्दै घटनामा संलग्न प्रहरीमाथि कारबाही गरी पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित पक्षसँग माग गरेको छ ।

आज बिहान ११ बजेतिर सिंहदरबारस्थित सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीहरूद्वारा भैरहेको आन्दोलनको फोटो खिच्ने क्रममा फोटो किन खिचेको भन्दै पत्रकार अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई लाठी प्रहार गरी घाइते बनाएका थिए । घाइते पत्रकार अधिकारी अहिले उपचार गराइरहेका छन् ।

यस्तै, फोटो पत्रकार क्लबले पनि विज्ञप्ति जारी गर्दै देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा नै भएको घटनाले गृहप्रशासनको वास्तविक अनुहार उदांगो भएको जनाएको छ ।

‘परिचयपत्र र क्यामरा देखाउँदा देखाउँदै प्रहरीले गरेको दमनको ढाकछोप गर्न बर्दीधारीहरू गुण्डागर्दी शैलीमा खनिएका थिए,’ महासचिव कार्कीले निकालेको विज्ञप्तिमा लेखिएको छ, ‘पटक-पटक पत्रकारहरुमाथिको आक्रमण जनताको सूचनाको हक, प्रेस स्वतन्त्रतामाथिको आक्रमण हो । अपराधमा संलग्नलाई कारवाहीको माग गर्दछौं ।’


  •  
  •  
  •