बिरामी बच्चालाई भित्रै थुनेर एम्बुलेन्समा आक्रमण

367
  •  
  •  
  •  

विराटनगर, ४ मंसिर(ओएनएस) : संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाका कार्यकर्ताले बिरामी बोकेको एम्बुलेन्स तोडफोड गरेका छन् । मोर्चाको पकड क्षेत्र मानिएको रंगेलीबाट विराटनगर तर्फ बिरामी बोकेर आउँदै गरेको एम्बुलेन्स तोडफोड गरेका हुन् । रंगेलीबाट डेढ वर्षीय बिरामी लिएर आउँदै गरेको एम्बुलेन्स माथि मोर्चाका कार्यकर्ताहरुले क्रुरतापूर्ण आक्रमण गरेका थिए ।

बन्दकर्ताले डेढ वर्षिय बिरामी बच्चा मानसी उपाध्याय र उनकी आमा हिरालाई एम्बुलेन्स भित्रै राखेर बाहिरबाट तोडफोड गरेका हुन् ।  तोडफोडबाट रंगेली सहकारीको को.१च. ७३७९ नम्बरको एम्बुलेन्सको सिसा फुटेको छ । ज्वरो आएकी मानसीको उपचारका लागि आउँदै गरेका मोर्चाका कार्यकर्ताले बिरामी बच्चा र उनकी आमालाई गाडीबाट ओर्लन समेत नदिई तोडफोड गरेका हुन् । उनीहरू दुवै उपचारपछि घर फर्केको बताइएको छ ।

यसैगरी मोर्चाका कार्यकर्ताले सिमेन्ट उद्योगमा पार्किङ गरिएका ८ ट्रकमा तोडफोड गरेका छन् । मोर्चाका कार्यकर्ताले विराटनगर पूर्व कटहरी–८ स्थित नेसनल सिमेन्ट उद्योगमा पर्किङ गरिएका ८ वटा ट्रक र २ वटा मोटरसाइकलमा तोडफोड गरेको प्रहरीले बताएको छ ।

दशै तिहार छठमा खुकेलो भएको मधेश आन्दोलन विराटनगरमा उत्सृङखल बन्दै गएको छ । मोर्चा कार्यकर्ताले एम्बुलेन्स र रोकी राखेर सवारी साधनमा तोडफोड गर्न थालेका छन् । बन्दका कारण विराटनगरका अधिकांस पसलहरु ठप्प छन् भने । सडकमा सिटी रिक्सा समेच सञ्चालनमा मोर्चाले रोक लगाएको छ ।

यस्तै बन्दकर्ताले महाबीर चोकमा पनि २ वटा सिटी रिक्सा र ८ वटा मोटरसाइकलमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।

बन्दमा उत्सृङखल गतिविधी गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीका अनुसार पक्राउ पर्नेमा राधे कामत, कन्हैयालाल साह, अशोक ठाकुर रुद्र बर्मा, शेखर सहनी, रविन्द्र पासवान, रविकुमार महतो र जितनारायण साह रहेका छन् । उनीहरुलाई कटहरी रोड, शेषचोकबाट पक्राउ गरिएको हो ।


  •  
  •  
  •