साथीको एटीएम चोरेर एक लाख ७३ हजार झ्वाम

256
  •  
  •  
  •  

काठमाडौं ४ मंसिर
अन्तर्राष्ट्रिय रूपमा परिचित दरबारमार्गस्थित केएफसी रेस्टुरेन्टमा काम गर्ने लाम्पाटीकी दीपुकुमारी राणा (लामा) ले आफ्नै साथी उर्मिला गुरुङको एटीएम कार्ड चोरेर बैंकबाट एक लाख ७३ हजार रुपैयाँ निकालेको रहस्य खुलेको छ।

प्रहरीले दीपुलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ। उर्मिलाले महानगरीय प्रहरी अपराध महाशाखामा एटीएमबाट पैसा गायब भएको उजुरी दिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो।

महाशाखाका डीएसपी वसन्त रजौरेका अनुसार दीपुले उर्मिलाको माछापुच्छ्रे बैंकमा जम्मा भएको एक लाख ७३ हजार पाँच सय २२ रुपैयाँ विभिन्न मितिमा झिकेको मंगलबार प्रहरीसमक्ष स्वीकारेकी छिन्। सँगै काम गर्ने दीपु र उर्मिला मिल्ने साथी थिए।

उर्मिलाले दीपुलाई विश्वास गरी बेलाबेलामा एटीएम दिएर पैसा झिक्न पनि लगाउँदै आएकी थिइन्। त्यही विश्वास तोड्दै दीपुले पैसा निकालेको डीएसपी रजौरेले बताए।

‘सुरु सुरुमा दीपुले भनेअनुसार नै पैसा झिकेर उर्मिलालाई दिन्थिन्, एटीएमको पिन कोड थाहा पाएपछि एटीएम चोरेर पैसा झिक्ने योजना बुनेकी रहिछिन्’, उनले भने। प्रहरीले उर्मिलालाई एटीएम ककसले चलाउँछ भनेर सोधेपछि लामाले पनि चलाएको जानकारी दिएकी थिइन्। ‘उनले भनेअनुसार दीपुलाई बोलाएर अनुसन्धान गर्दा उनले स्वीकारिन्’, रजौरेले भने।

प्रहरीले दीपुको डेरामा छापा मारेर ५० हजार रुपैयाँसमेत बरामद गरेको छ। थप रकम आफ्ना पतिले लिएको बयान उनले प्रहरीलाई दिएकी छिन्। प्रहरीले दीपुलाई बैंकिङ कसुरअन्तर्गत कारबाही गर्ने भएको छ। अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •