एक अर्ब लगानि गरिएको अष्ट्रिजको मासु उत्पादन दैनिक ३ सय केजी

978
  •  
  •  
  •  

रुपन्देही, मंसिर २३ (ओएनएस) :  रुपन्देहीमा व्यवसायीक रुपमा अष्ट्रिज पालन गर्दै आएको अष्ट्रिज नेपाल प्रालिको लगानी एक अर्ब पुगेको छ । अष्ट्रिज चराको व्यावसायिक उत्पादन गर्ने प्रालिले फार्म बिस्तारसँगै लगानी बढेको हो । रुपन्देहीको गंगोलियाबाट सुरु गरिएको अष्ट्रिज पालनलाई तीन स्थानमा विस्तार गरिएको छ ।

रुपन्देही व्यवसायीक रुपमा पालिएको अष्ट्रिजको दैनिक ३ सय केजी मासु उत्पादन हुने गरेको छ । “सबै ठाउँमा गरेर हाम्रो लगानी एक अर्बभन्दा बढी पुगेको छ”–प्रालिका अध्यक्ष सीपी शर्माले भने । प्रालिअन्र्तगत हाल गंगोलियाका साथै रुपन्देहीको सूर्यपुरा र दाङको बेलझुण्डीमा अष्ट्रिज फार्म सञ्चालनमा रहेका छन् । गंगोलियाको फर्ममा अण्डाबाट चल्ला निकाल्ने तथा साना चल्ला राख्ने गरिएको कम्पनीले जनाएको छ ।

यस्तै सूर्यपुराको फार्ममा ठूला र दाङमा माउ अष्ट्रिज राख्ने गरिएको अध्यक्ष शर्माले बताए कम्पनीले ६ वर्षको अवधिमा लगानी बिस्तार गरेर एक अर्ब पु¥याएको हो । कृषि क्षेत्रमा गरिएको यो लगानी मुलुकमैं ठूलो रहेको कम्पनीको दाबी छ । कम्पनीमा पाँच जनाको लगानी छ ।

गंगोलियामा २२ बिगाहा क्षेत्रमा फार्म फैलिएको छ भने सूर्यपुरामा ७० तथा दाङमा १६२ बिगाहामा फर्म छ । सूर्यपुरा र दाङमा लिजको जग्गामा फार्म सञ्चालन गरिएको हो । कम्पनीमा अहिले ४ हजार बढी अष्ट्रिज चराहरु छन् । स्थापनादेखि निरन्तर लगानीको चरणमा रहेको कम्पनी अहिले उत्पादनको चरणमा पुगेको छ । अष्ट्रिज चरा परिपक्व हुन कम्तीमा ४ वर्ष लाग्छ ।

“अहिले हामी उत्पादनको चरणमा छौं”–अध्यक्ष शर्मा भने–“अष्ट्रिज नयाँ भएकाले हामीले यसको मासु खान उपभोक्तालाई सिकाउनु परिरहेको छ ।”कम्पनीले तयारी मासु बजारमा पठाउने गरेको छ । रुपन्देही, काठमाडौं, पोखरा, चितवन, दाङ, बाँके, कैलालीलगायतका जिल्लामा मासु खपत भैरहेको कम्पनीले जनाएको छ । “हामीले काठमाडौंमा छिट्टै दुई वटा आउटलेट खोल्ने तयारी गरेका छौं”–अध्यक्ष शर्माले भने ।

२०६५ सालबाट मुलुकमैं पहिलो पटक गंगोलियमा अष्ट्रिजको व्यावसायिक पालन सुरु गरिएको थियो । त्यतिबेला शर्माले अष्ट्रेलियाबाट १५ सय वटा अण्डा र केही अष्ट्रिज चरा ल्याएर फर्म सुरु गरेका थिए । “अष्ट्रिजको मासुले औषधीय मूल्य राख्छ”–शर्मा भन्छन–“उपभोक्तामा अष्ट्रिजको मासु स्वास्थ्यका लागि राम्रो छ भन्ने चेतना बढ्दै गएको छ ।”

अष्ट्रिचको मासु रातो हुन्छ तर यसमा अरु पशुपंक्षी, खसी, राँगा, कुखुरा माछाहरुमा भन्दा कम कोलस्टेरेल हुने तथा चिल्लो पदार्थ हुँदैन । भिटामिन, मिनरल तत्वहरु प्रशस्त पाइने भएकाले बिरामीहरुले समेत खान सक्ने हुँदा विश्व बजारमा अष्ट्रिजको मासुको माग बढी रहेको कम्पनीले जनाएको छ ।

अष्ट्रिजको प्वाँख, छाला, बोसो, अण्डा सबैको मूल्य रहेको शर्मा को भनाई छ । एउटा बयस्क अष्ट्रिजले दिनमा ५ किलो सम्म अर्थात् २ सय ५० देखि ३ सय रुपैयाँ सम्मको दाना–घाँस खान्छ । ९ देखि १४ महिनाको अष्ट्रिज १ क्वीन्टल सम्मको हुन्छ तर व्यावसायिक रुपमा १४ महिनासम्मको अष्ट्रिज उपयुक्त मानिन्छ । ३ बर्षदेखि अण्डा पार्नका लागि उपयुक्त हुने यो चराको अण्डा ९ सय देखि २७ सय ग्राम सम्मको हुन्छ । अष्ट्रिज चराको आयु ८० वर्षको हुन्छ । ४५ बर्षमा एउटा अष्ट्रिजले ५२ सय वटासम्म अण्डा दिने क्षमता राख्छ ।

५ बर्षमा एउटाले १ सय ८० वटा सम्म अण्डा दिन्छ । अष्ट्रिज उड्न नसक्ने प्रजातिमा सबैभन्दा ठुलो चरा हो । कम्पनीमा ६० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । नयाँ अवधारणा र ठूलो लगानीमा सञ्चालन गरिएकाले यो फार्म मुलुकमैं चर्चित छ । फार्म हेर्नका लागि टिकटको व्यवस्था गरिएको छ । टिकटबाट आएको रकम सामाजिक कार्यमा खर्च गरिने शर्मा को भनाई छ ।


  •  
  •  
  •