आज दशैँको आठौँ दिन, शक्तिपीठमा भक्तजनको भीड

31
  •  
  •  
  •  

 
काठमाडौं । बडा दशैँको महाअष्टमीका दिन आज बिहानैदेखि काठमाडौं उपत्यकाका शक्तिपीठलगायत देशभरका देवी मन्दिरमा बलिसहित पूजा एवं दर्शनका लागि भक्तजनको भीड लागेको छ ।

उपत्यकाका शक्तिपीठहरु पशुपति क्षेत्रस्थित गुह्येश्वरी, नक्साल भगवती, शोभा भगवती, भद्रकाली, कालिकास्थान, बज्रयोगिनी, दक्षिणकाली, बिजेश्वरी, इन्द्रायणी, मैतीदेवी, संकटा, रक्तकाली, नरदेवी, बज्रबाराही, चामुण्डा, सुन्दरीमाई, वनदेवीलगायत स्थानमा भक्तजनको भीड लागेको हो ।

यसैगरी उपत्यका बाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभ्रपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालिञ्चोक भगवती लगायतका शक्तिपीठमा पनि बलिसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनको भीड लागेको छ ।

आश्विन शुक्ल अष्टमीका दिन आज दशैँ घर अथवा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा नव दुर्गामध्येकी आठौँ महागौरी देवीको पूजा आराधना गरियो । वर्षभरमा पर्ने अष्टमीमध्ये दुर्गा देवीको पूजा उपासनाको विशेष दिन भएकाले आजको दिनलाई महाअष्टमी भनिन्छ ।

आजको दिन कलपूर्जा, हातहतियार र सवारीसाधनलाई विशेष रुपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु बलिसहित पूजाआजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्र अस्त्रका रुपमा मानी पूजा गर्ने गरिएको हो ।

देवीका शस्त्र अस्त्रसहित चतुरंगिणी सेनाको पनि आह्वान गरी पूजा गरियो । पशुबलि नचढाउनेले भने आज पूजाकोठामा कूल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बलि चढाई पूजा आराधना गर्दछन् ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here