मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिने

44
  •  
  •  
  •  


काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज प्रदेशसभामा विश्वासको मत लिने भएकी छिन् । सत्तारुढ दल एमाले विभाजनसँगै अल्पमतमा परेपछि शाक्य नेतृत्वको सरकारले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था आएको हो।
बागमती प्रदेशसभामा एमालेका १३ जना प्रदेशसभा सदस्यले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेपछि शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ। आइतबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा शाक्ले विश्वासको मत लिन लागेकी हुन्।

बागमती प्रदेशमा कुल ११० जना सांसदमध्ये एक सिट रिक्त छ। कोरोनाका कारण दोलखाबाट निर्वाचित प्रदेशसभा सदस्य पशुपति चौलागाईको निधनपछि एक सिट खाली भएको हो। हाल बागमती प्रदेशसभामा १०९ जना सांसद कायम छन्।

बागमती प्रदेशसभामा बहुमतका लागि कम्तीमा पनि ५५ जना सांसद आवश्यक हुन्छ। प्रदेशसभामा एमालेका सभामुखसहित हाल ४३ जनामात्रै सांसद छन्। त्यसैले मुख्यमन्त्री शाक्यले प्रदेशसभाबाट विश्वासको मत पाउने अवस्था छैन।

बागमती प्रदेशसभामा माओवादी केन्द्रका २३, कांग्रेसका २२, विवेकशील साझा पार्टीको ३, नेमकिपा २, राप्रपा २ र स्वतन्त्र एक सांसद छन्।


  •  
  •  
  •