सरकारले एसिड पीडितहरूको उपचार र ओषधीको सबै खर्च व्यहोर्ने

54
  •  
  •  
  •  

काठमाडौं । सरकारले एसिड आक्रमणमा परेका पीडितहरूको उपचार र ओषधीको सबै खर्च व्यहोर्ने भएको छ ।

प्रतिकात्मक तस्बिर

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसिड आक्रमण गर्नेलाई सजाय, आयात निर्यात र बिक्री वितरणका लागि नयाँ ऐन बनाउने निर्णय गरेको सरकारका प्रवक्ता परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

ज्ञवालीका अनुसार मन्त्रिपरिषद्ले पीडितको उपचार खर्च र जीवनभर प्रयोग गर्नु पर्ने औषधीको खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ। त्यस्तै त्रिवि शिक्षण, वीर अस्पताल, पाटन र कीर्तिपुर अस्पताललाई डेडिकेटेड अस्पताल तोकेको छ। त्यस्ता पीडितको उच्च शिक्षा निःशुल्क दिने व्यवस्था मिलाइने भएको छ ।

उनका अनुसार पीडितलाई क्षमताअनुसार रोजगारी दिन सरकारले निजी क्षेत्रसँग समन्वय गर्ने निर्णय भएको छ। त्यस्तै पीडितले क्षमता अभिवृद्धि तालिम लिन चाहे सरकारले त्यस्तो तालिम दिने छ भने व्यवसाय गर्न सहुलियतमा ऋण र कृषि व्यवसाय गर्न अनुदान दिने निर्णय पनि भएको छ।

सरकारले भदौ २५ गतेलाई एसिड आक्रमणविरूद्धको चेतना दिवसका रूपमा पनि मनाउने निर्णय गरेको छ।


  •  
  •  
  •