प्रेम प्रस्ताव नस्विकारेकामा एसिड आक्रमण

146
  •  
  •  
  •  

काठमडौं १३ चैत ।  दुई महिनाअघि युवतीमाथि एसिड आक्रमण गर्ने अभियुक्त पक्राउ परेका छन् । वसन्तपुरमा एसएलसी परीक्षाका लागि ट्युसन पढ्न गएका संगीता मगर र सीमा बस्नेतमाथि एसिड आक्रमण हुनुअघि नै च्यासल (पाटन) की अञ्जना तन्डुकारको अनुहारमा एसिड छ्याप्ने अनुप रानामगरलाई ललितपुर प्रहरीले पक्राउ गरेको हो । माघ ८ गते साँझ पाटन कृष्णमन्दिर नजिक तन्डुकारमाथि एसिड आक्रमण गरी मगर फरार भएका थिए ।

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै टिकाथलीका २१ वर्षीय रानामगरले २२ वर्षीया तन्डुकारमाथि एसिड आक्रमण गरेको प्रहरीले जनाएको छ । मंगलबार पक्राउ परेका अभियुक्तलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको हो । तन्डुकारको दाहिने गाला र निधारमा घाउ छ ।

‘त्यो दिन साँझमा घर जाँदै थिएँ, मास्क लगाएर आएको उसले -रानामगर) हातले इसारा गरी बोलायो,’ अञ्जनाले टेलिफोनमा कान्तिपुरसँग भनिन्, ‘त्यसपछि एक्कासि नजिक आई एसिड छ्यापेर भाग्यो ।’ पहिला पानी छ्यापेको भन्ठानेकी उनले बिस्तारै पोल्न थालेपछि एसिड छ्यापेको थाहा पाएकी थिइन् । पाटन अस्पतालमा उनको उपचार भएको थियो । बालकुमारीको माइलस्टोन कलेजमा बीबीएस तेस्रो वर्षमा सँगै पढ्ने भए पनि अनुप र अञ्जनाको बोलचाल हुँदैनथ्यो । तन्डुकारका अनुसार घटना घटेको एक दिनअघि पनि मंगलबजारमा अनुपसँग जम्काभेट भएको थियो । ‘भेटदा कहिल्यै नबोल्ने उसले एसएमएसबाट भने प्रेम प्रस्ताव राख्ने गथ्र्यो,’ उनले भनिन् ।

घटनापछि मंगलबजार वृत्त र महानगरीय प्रहरी परिसर जावलाखेलमा उजुरी दिए पनि अनुसन्धानमा प्रगति भएको थिएन । वसन्तपुरमा संगीता र सीमामाथि फागुन ११ मा एसिड आक्रमण भएपछि तन्डुकारले महानगरीय अपराध महाशाखा, हनुमानढोकामा ज्यान मार्ने उद्योगमा कारबाही गरिपाऊँ भनेर जाहेरी दिएकी थिइन् ।

अनुपका बुवालाई बोलाएर सोधपुछ गर्दा उनी सुरुमा काभ्रे र पछि खोटाङ पुगेको थाहा भएको महाशाखा प्रमुख पुष्कर कार्कीले बताए । ‘वसन्तपुर घटनासँग मिल्दोजुल्दो भएकाले घटनाको सम्बन्ध भएको आशंकामा दुवैको अनुसन्धान गरेका थियौं,’ उनले भने । दुवैमा अभियुक्तले कालो मास्क लगाएको, पछाडि झोला बोकेको कुरा मिलेका थिए । प्रहरीले दबाब दिएपछि बुवाले अनुपलाई बोलाएका थिए । महानगरीय प्रहरी परिसर जावलाखेलका प्रहरी नायब उपरीक्षक किसन सिंह थापाले अभियुक्तलाई ज्यान मार्ने उद्योगमा अनुसन्धान भइरहेको बताए । ‘पीडकलाई हदैसम्मको कारबाही गर्छौं,’ उनले भने ।

तन्डुकारको घाउ अझै पूर्णरूपमा निको भएको छैन । पीडित अञ्जनाका अनुसार एसिडले बनाएको घाउ बेलाबेलामा पाक्ने गरेको छ । ‘यस्तो दर्दनाक घटना अरू कसैले पनि भोग्न नपरोस्,’ उनले भनिन् ‘अभियुक्तलाई कडा कारबाही होस् ।’

कान्तिपुरबाट


  •  
  •  
  •