एसियाली पूर्वाधार बैंकमा ५० देशको सहभागिता

127
  •  
  •  
  •  

काठमाडौ, १४ असार (ओएनएस) : आगामी अक्टोबरबाट सञ्चालनमा ल्याउने तयारी भैरहेको एसियन इन्फ्रास्टक्चर इन्भेष्टमेन्ट बैंकको विधान (आर्टिकल अफ एग्रिमेन्ट) मा ५० मुलुकका अर्थमन्त्रीहरुले बोइजिङमा हस्ताक्षर गरेका छन् । अन्य सात मुलुकले आफ्नो मुलुकबाट संस्थापक बन्ने प्रस्ताव पारित गर्न बाँकी रहेको जनाइएको छ । नेपालको तर्फबाट अर्थमन्त्री डा रामशरण महतले सो विधानमा हस्ताक्षर गरे ।

ग्रेट हल अफ द पिपलमा आयोजित विशेष समारोहका बीच पाँचै महादेश अन्तर्गत ५७ देशका अर्थमन्त्रीहरुले सो विधानमा हस्ताक्षर गरेका हुन । अर्थमन्त्रीले नै हस्ताक्षर गर्नुपर्ने भएकोले नेपालको तर्फबाट हस्ताक्षर गर्न अर्थमन्त्री डा महत आइतबार बेइजिङ पुगेका थिए । एसियाको पूर्वाधारको क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ स्थापित यस बैंकको नेपाल पनि संस्थापक सदस्य रहेको छ ।

अर्थमन्त्री महतले विभिन्न देशका अर्थमन्त्रीहरुसँग भेटवार्ता गरे । अर्थमन्त्री महत मंगलबार स्वदेश फर्किने कार्यक्रम रहेको छ । नेपाली टोलीमा अर्थमन्त्रालयका अधिकारीहरु पनि सहभागिता रहेको छ ।

अनुमानित १ सय अर्ब डलर सेयर पुँजी रहने यस बैंकको प्रारम्भिक चुक्ता पुँजी २० डलरबाट शुरु हुने जनाइएको छ । नेपालले यस बैंकमा एक अर्ब ६० करोड रुपैयाँ लगानी गर्नेछ । बैंकमा चीनको करिव ३० प्रतिशत, भारतको करिव ८.४ प्रतिशत, रसियाको ६.५ जर्मनीको ४.५, फ्रान्सको ३.४, ब्राजिलको ३.२ प्रतिशत सेयर रहनेछ ।

प्रतिशत सेयरभन्दा पनि साना मुलुकको आवाजलाई बलियो बनाउन बढी मताधिकार दिइने जनाइएको छ । कर्जा प्रवाहमा प्रक्रियागत सरलीकरण गरी विद्यमान विश्व बैंक तथा एसियाली विकास बैंकभन्दा छुट्टै पहिचान कायम गर्ने र यसले साना मुलुकहरुलाई फाइदा पुग्ने जनाइएको छ ।


  •  
  •  
  •