एफ्रोमा न्यायका संघर्षलाई सघाउन आर्थिक संरचनाको खोजी

176
  •  
  •  
  •  

जकार्ता, इण्डोनेशिया, ९ चैत (ओएनएस) : एशियाली अफ्रिकी शिखर सम्मेलन २०१५ को इण्डोनेशियाको राजधानी जकार्तामा औपचारिक उद्घाटन भएको छ । गणतन्त्र इण्डोनेशियाका राष्ट्रपति जोको विडोडोले स्थानीय समय ९ः४५ मा सम्मेलनको उद्घाटन गरेपछि सम्मेलन सुरु भएको हो ।

वाङ्गडुङ्ग सम्मेलनको ६० औं बार्षिकोत्सवको अवसरमा आयोजित सम्मेलनले दशक पहिलेको ऐतिहासिक बाङ्गडुङ्गको सम्मेलनको प्रतिबद्धताको स्मरण गर्ने, एसियाली–आफ्रिकी साझेदारी ‘नास्प’लाई गति दिने र प्यालेष्टाइनलाई सहयोगको घोषणा हुने लक्ष्य बनाएको छ ।

समुदघाटन मन्तव्यमा राष्ट्रपति विडोडोले ६० बर्ष अगाडि भएको वाङ्गडुङ्ग सम्मेलनको स्मरण गर्दै त्यसैबेला देखि एशियाली र अफ्रिकी मुलुकहरुले सामना गर्दै आएका चुनौति र संघर्षहरु अझै पनि समाधान हुन बाँकी रहेको बताए ।

‘विश्व शान्ति र समृद्धि अभिबृद्धिको लागि दक्षिण–दक्षिण सहयोगको सबलीकरण’ भन्ने नाराका साथ आरम्भ भएको शिखर सम्मेलनको समुद्घाटन मन्तब्यमा राष्ट्रपति विडोडोले प्यालेष्टीनी जनताको दुःखमा केन्द्रित हुदै एशिया र अफ्रिकी महाद्वीपमा स्थायित्व, समानता र सामाजिक न्यायका लागि भएका संघर्षहरुलाई सघाउन नयाँ सामूहिक आर्थिक संरचनाको आवश्यकता रहेको बताएका छन् ।

एशियाली अफ्रिकी राष्ट्र प्रमुख र सरकार प्रमुखहरुद्वारा आरम्भ गरिएको नयाँ एशियाली अफ्रिकी रणनीतिक साझेदारी (नास्प) को स्थापना भएको एक दशक भएको छ । विश्वमा नयाँ राष्ट्रहरु अन्तराष्ट्रिय राजनीतिको प्रमुख भूमिकामा देखापरेका छन । यसको गतिलाई जीवन्तता दिन उत्साहपूर्ण चुनौतिहरु थपिएका छन ।

नास्पले राजनीतिक ऐक्यवद्धता, आर्र्थिक सहयोग र सामाजिक सांस्कृतिक सम्बन्धका तीन स्तम्भ सिर्जना गरेर अन्तर क्षेत्रीय सम्बन्धको पुल पनि निर्माण गरेको छ । नास्पले यी दुई महाद्वीपका देशहरुको सहयोग अभिबृद्धि र समसामयिक विषयहरुको समाधानमा महत्वपूर्ण मञ्चको रुपमा काम गर्ने प्रयास गरेको छ ।

सम्मेलनमा एशिया र अफ्रिकाका १०५ देशका प्रतिनिधि, १५ देशका पर्यवेक्षक र १७ वटा अन्तराष्ट्रिय संस्थाहरुको सहभागिता रहेको छ । सम्मेलनमा सहभागी नेता र प्रतिनिधिहरुले आफ्ना अनुभवको आदानप्रदान गर्ने, साझेदारी सबल बनाउने र साझा चुनौतिहरुलाई सामना गरी बाहिर निस्कने रणनीति तय गर्ने लक्ष्य बनाएकाछन् । उनीहरुले दुवै महाद्वीपका बीचमा बलियो दक्षिण–दक्षिण सहयोग अभिबृद्धि गरी आर्थिक विकासलाई सबल बनाउने विषयमा छलफल गर्ने छन ।

बुधबारदेखि सुरु भएको एशियाली–अफ्रिकी राष्ट्रका नेताहरुको जाकर्ता सम्मेलन बिहिबारसम्म चल्ने छ । यस्तै पर्सी ऐतिहासिक बाङ्गडुङ्ग सम्मेलनको संझनामा हुने बाङ्गडुङ्ग सम्मेलन भने पश्चिम जाभाको गेदुङ्ग मर्डेकामा हुनेछ । समारोहमा नेपालका प्रधानमन्त्री सुशील कोइरालाले पनि सहभागिता जनाइरहेका छन् ।


  •  
  •  
  •