एसियाली खेलकुद : अधिकांश राष्ट्र प्रतियोगिताको अन्तिम तयारीमा व्यस्त

267
  •  
  •  
  •  

काठमाडौं, १७ चैत्र : एसियाको सबैभन्दा बृहत् खेलकुद प्रतियोगिता हो, ‘एसियाली खेलकुद’। इन्डोनेसियाको राजधानी जाकार्तामा १८औं एसियाली खेलकुद सुरु हुन करिब चार महिना बाँकी रहँदा यस क्षेत्रका अधिकांश राष्ट्र प्रतियोगिताको अन्तिम तयारीमा व्यस्त देखिन्छन्। प्रतियोगितामा बढीभन्दा बढी पदक जितेर आफूलाई एसियाकै शक्तिशाली खेल राष्ट्रको रूपमा स्थापित गराउन कतिपय राष्ट्रले आफ्ना खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाएका छन् भने अधिकांशले आफ्नै देशभित्र व्यवस्थित प्रशिक्षण सञ्चालन गरेका छन्।

सहभागिताको ६७ वर्ष बितिसक्दा पनि नेपालका लागि भने एसियाली खेलकुद अनुभव बटुल्ने अवसरका रूपमा मात्र सीमित हुँदै आएको छ। नेपालको अहिलेको तयारी हेर्दा आगामी एसियाली खेलकुद पनि विगतको भन्दा फरक नहुने खेलाडी र प्रशिक्षक बताउँछन्। प्रतियोगिता सुरु हुन केवल चार महिना बाँकी रहँदा मानसिक र प्राविधिक रूपमा सबल स्थितिमा रहनुपर्ने नेपाली खेलाडी यतिबेला अभ्यास गर्ने उपयुक्त ठाउँकै खोजीमा भौंतारिनुपर्ने अवस्था छ।

०७२ साल वैशाखमा गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेका खेलकुदका भौतिक संरचना तीन वर्षसम्म पनि उस्तै अवस्थामा रहँदा त्यसको प्रभाव एसियाली खेलकुदजस्तो ठूलो प्रतियोगिताको तयारीमा परेको छ। भूकम्पले क्षतिग्रस्त बनेको काठमाडौंको एक मात्र राष्ट्रिय रंगशाला पनि पुनर्निर्माण क्रममा रहेका कारण अहिले एसियाली खेलकुदको तयारीमा रहेका खेलाडी सबैभन्दा बढी मारमा परेका छन्।

भत्किएकै रंगशालामा भए पनि जेनतेन आफ्नो अभ्यासलाई निरन्तरता दिँदै आएका एथलेटिक्स, आईटीएफ तेक्वान्दो, आर्चरीलगायत विभिन्न खेलका खेलाडीलाई शुक्रबारदेखि अप्रत्याशित रूपमा रंगशाला प्रवेशमा रोक लगाइएपछि ती खेलका खेलाडी झनै बिचल्लीमा परेका छन्। ‘खेलाडी शुक्रबार बिहानै नियमित अभ्यासका लागि आउँदा रंगशालाभित्र प्रवेश गर्न दिइएन। एसियाली खेलकुदको तयारीमा व्यस्त खेलाडीलाई रंगशाला प्रवेशमा किन रोक लगाइएको हो हामीलाई थाहा भएन’, एथलेटिक्सका प्रमुख प्रशिक्षक अमिरी यादवले गुनासो गरे।

एसियाली प्रतियोगिताका लागि एथलेटिक्स खेलाडीको अन्तिम चरणको छनोट यसै महिना हुँदै छ। त्यो प्रतियोगिताबाट छनोट भएका खेलाडीले नै आगामी एसियाली खेलकुदमा राष्ट्रको प्रतिनिधित्व गर्नेछन्। तर, अन्तिम चरणको छनोट प्रतियोगिता नजिकिँदै जाँदा अभ्यासका लागि रंगशाला प्रवेशमा समेत रोक लगाइएपछि खेलाडीसमेत आक्रोशित बनेका छन्। ‘हामीले भनेजस्तो अभ्यास गर्न पाएका छैनौं। अन्तिम चरणको छनोट नजिक आइसकेकाले अहिले त झन् हाम्रा लागि एक÷एक क्षण महŒवपूर्ण छ’, बन्द प्रशिक्षणमा रहेका छोटो दूरीका धावक आशिष चौधरीको कथन छ।

‘अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि हामीले वर्षौंदेखि पसिना बगाएका हुन्छौं तर अन्तिम समयमा आएर राज्यले खेलाडीलाई अभ्यास स्थलसम्म उपलब्ध नगराउँदा दुःख लागेको छ’, एथलेटिक्सकी ओलम्पियन खेलाडी सरस्वती भट्टराई भन्छिन्, ‘राज्यले खेलाडीसँग पदकको आशा मात्र गर्ने तर अभ्यासका लागि ठाउँ माग्दासमेत उपलब्ध नगराउने प्रवृत्ति गलत हो।’ उनले यसअघि पनि ओलम्पिक खेलकुदमा राष्ट्रको प्रतिनिधित्व गरिसकेकी छन्।

अन्नपूर्णकर्मी बिहान ७ बजे दशरथ रंगशाला पुग्दा नियमित अभ्यासबाट वञ्चित भएका विभिन्न खेलका खेलाडी अन्योलमा देखिन्थे। खेलाडीलाई रंगशाला प्रवेशमा रोक लगाइनुको कारणबारे सम्बन्धित खेलका प्रशिक्षकले समेत अनभिज्ञता व्यक्त गरे। ‘अचानक किन खेलाडीलाई रंगशाला प्रवेशमा रोक लगाइयो थाहा भएन। यसले खेलाडीको तयारी प्रभावित भएकोे छ’, एथलेटिक्सका प्रशिक्षक धनीराम चौधरी भन्छन्।

शुक्रबार बिहान केहीसीप नलागेपछि एथलेटिक्स र आईटीएफ तेक्वान्दोका खेलाडीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को प्रांगणमा रहेको सवारी पार्किङस्थलमै अभ्यास गरे भने बक्सिङका केही खेलाडी भूकम्पका कारण पूर्णरुपमा भत्किएको पौडी पोखरीभित्र अभ्यास गरिरहेका थिए।

दशरथ रंगशालामै अहिले भएको पूर्वाधार पनि जीर्ण अवस्थामा छन्। सन् १९९९ मा नेपालमा आठौं दक्षिण एसियाली खेलकुद आयोजना हुँदा चीन सरकारले रंगशालामा फ्लड लाइटदेखि लिएर एथलेटिक्सका लागि सेन्थेटिक ट्र्याकसम्म निर्माण गरिदिएको थियो। चीन सरकारले बनाइदिएका ती सबै पूर्वाधार अहिले जीर्ण अवस्थामा छन्। एथलेटिक्स खेलाडीका लागि आवश्यक पर्ने सेन्थेटिक ट्र्याक पनि ठाउँठाउँमा उप्किसकेको छ।

‘एसियाली खेलकुदजस्तो ठूलो प्रतियोगितामा खेलाडीले स्तरीय खेलस्थलमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ तर, हाम्रा खेलाडीले जीर्ण रंगशालामा तयारी गर्नुपरेको छ। यसको प्रत्यक्ष प्रभाव खेलाडीको प्रदर्शनमा पर्छ’, धनीराम भन्छन्। उनका अनुसार, एथलेटिक्स खेलाडीका लागि सेन्थेटिक ट्र्याक र रंगशालाको विकल्प हुँदैन। ‘अरू खेलभन्दा एथलेटिक्स फरक विधा हो। स्पाइक सु लगाएर अन्यत्र अभ्यास गर्दौ खेलाडी घाइते हुने सम्भावना रहन्छ। यसैगरी, हाइजम्प, लङजम्पजस्ता स्पर्धाका लागि पनि रंगशाला नै चाहिन्छ’, धनीराम भन्छन्।

कराँतेका प्रशिक्षक संघरत्न महर्जन पनि एसियाली खेलकुदको तयारी सन्तोषजनक नरहेको धारणा व्यक्त गर्छन्। ‘एसियाली खेलकुदजस्तो ठूलो प्रतियोगिताको तयारीमा हामी जति संवेदनशील हुनुपथ्र्यो त्यो हुन सकेको छैन। ट्रेनिङ चार्टअनुसार तयारी भएको छैन। यस्तो तयारीका आधारमा कुनै पनि खेलका प्रशिक्षकले एसियाली खेलकुदमा मेरो खेलाडीले पदक जित्छ भनेर दाबी गर्न सक्ने अवस्था छैन’, उनी भन्छन्। राष्ट्रिय तेक्वान्दो संघ नेपालका प्रशिक्षक ध्रुव गुरुङ पनि महर्जनको भनाइमा सहमत देखिन्छन्।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार बिष्ट भने नेपालमा आयोजना हुने भनिएको १३औं दक्षिण एसियाली खेलकुद (साग) लाई ध्यानमा राखी जीर्ण दशरथ रंगशालालाई तत्कालन जीर्णोद्धार गर्नुको विकल्प नरहेकाले खेलाडीलाई अभ्यासमा केही समस्या परेको बताउँछन्। ‘हामीसँग तत्काल रंगशालाको जीर्णोद्धार गर्नुको विकल्प छैन। अहिले धमाधम रंगशालाको काम भइरहेको छ, त्यसैले खेलाडीलाई समस्या परेको हो’, सदस्यसचिव बिष्ट भन्छन्।

खेलाडीलाई अभ्यासका लागि रंगशाला प्रवेशमा रोक लगाइएको विषयमा भने आफूलाई कुनै जानकारी नरहेको उनले बताए। ‘यस विषयमा मलाई केही थाहा थिएन। खेलाडीले अभ्यास गर्न नपाएको थाहा पाउनासाथ मैले रंगशाला तत्काल खोल्न निर्देशन दिइसकेको छु’, बिष्टले भने। उनले एसियाली खेलकुदको तयारीमा रहेका खेलाडीलाई वैकल्पिक व्यवस्था गरिएको जानकारी पनि दिए।

‘एथलेटिक्स खेलाडीकै लागि पनि हामीले लगनखेलस्थित आर्मीको तालिम केन्द्रमा अभ्यासको व्यवस्था मिलाएका छौं। अन्य खेलका खेलाडीका लागि पनि वैकल्पिक व्यवस्था गरिएको छ’, सदस्यसचिव बिष्ट भन्छन्। खेलाडी भने आर्मीको तालिम केन्द्रमा अभ्यास गर्ने सहज वातावरण नरहेको दाबी गर्छन्। ‘आर्मीको तालिम केन्द्रमा विभिन्न विद्यालयले कार्यक्रम गरिरहेका हुन्छन्। यसबाहेक आर्मीकै थुप्रै खेलाडी पनि प्रशिक्षणमा व्यस्त हुन्छन्। यस्तो स्थितिमा त्यहाँ अभ्यास गर्नु सहज छैन’, ओलम्पियन सरस्वती भन्छिन्।

राखेपअन्तर्गत तालिम तथा प्रशिक्षकण विभागका प्रमुख रिम रानाभाट सेप्टेम्बरभित्र दशरथ रंगशालाको जीर्णोद्धार सकेर थप कार्यका लागि चीन सरकारलाई हस्तान्तरण गरिसक्नुपर्ने भएकाले खेलाडीलाई अभ्यासमा केही समस्या भएको बताउँछन्। ‘हामीले सेप्टेम्बरभित्र रंगशालालाई जीर्णोद्धार गरेर फ्लड लाइट, सेन्थेटिक ट्र्याकलगायत कार्य गर्न चीनलाई बुझाउनुपर्ने हुन्छ त्यसैले अहिले धमाधम रंगशालाको काम भइरहेको छ। यस्तोमा रंगशालामा अभ्यास गर्दा दुर्घटना हुन सक्ने सम्भावना रहेकाले अभ्यासमा केही समस्या देखिएको हो’, उनी भन्छन्।

चैत ३० गतेपछि भने एसियाली खेलकुदका लागि छुट्टै बन्द प्रशिक्षण सञ्चालन गरिने तथा केही भएकाले खेलाडीको तयारीमा कुनै समस्या नआउने उनको दाबी छ। एसियाली खेलकुद अगस्त १८ देखि सेप्टेम्बर २ सम्म आयोजना हुँदै छ। नेपालले सन् १९५१ मा भारतको नयाँदिल्लीमा आयोजना भएको एसियाली खेलकुददेखि प्रतियोगितामा सहभागिता जनाउन थालेको हो। अन्नपुर्ण पाेष्टबाट


  •  
  •  
  •