एसिया प्यासिफिक सम्मेलन : सुकी र कम्बोडियाका प्रधानमन्त्री काठमाडौंमा

687
  •  
  •  
  •  

काठमाडौं, १३ मंसिर(ओएनएस) । काठमाडौंमा शुक्रबारदेखि शुरु हुने ‘एसिया प्यासिफिक सम्मेलन’का लागि भाग लिन म्यानमारकी नेतृ आङ सान सुकी काठमाडौं आएकी छन् ।

सुकीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा मन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए । सुकीलाई नेपाली सेनाको टोलीले सम्मान गारत अर्पण समेत गरेको थियो ।

कम्बोडियाका प्रधानमन्त्री हुन सेन पनि काठमाडौं आइसकेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा मन्त्री पोखरेललगायतले स्वागत गरेका थिए ।

विदेशी पाहुनाहरुको नेपाल आगमनलाई लक्षित गरी काठमाडौंको सुरक्षा व्यवस्था सुदृढ पारिएको छ ।

आज मंसिर १३ गतेदेखि मंसिर १६ गतेसम्म काठमाडौं उपत्यकामा चल्ने सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागु गरिएको छ ।

विभिन्न देशका सरकार प्रमुख तथा बिशिष्ट अतिथिहरु आउने क्रम शुरु भएको छ ।

सम्मेलनका लागि काठमाडौं आउने विभिन्न देशका सरकार प्रमुखसँग पारस्परिक हित र चासोका विविधि विषयमा द्विपक्षीय वार्ता हुने परराष्ट्र मन्त्रालयले बताएको छ ।

सम्मेलनमा ७ राष्ट्रका राष्ट्रप्रमुख र सरकार प्रमुख, १० जना पूर्वराष्ट्र र सरकार प्रमुखको सहभागिता रहनेछ ।
शुक्रबारदेखि १७ गतेसम्म हुने सम्मेलन आत्मनिर्भरता, पारस्परिक समृद्धि र सर्वव्यापक मूल्य–मान्यताको विषयमा केन्द्रित हुनेछ ।

सम्मेलन युनिभर्सल पिस फेडरेसन र अन्य राष्ट्रहरुको आर्थिक सहयोगमा हुन लागेको हो । सम्मेलनको मुख्य एजेन्डा गरिबी, आतंकवाद, खाद्य सुरक्षा, जलवायु परिवर्तन रहनेछ ।

चारसम्म चल्ने सम्मेलनको उद्घाटन शनिबार हायात होटलमा हुने कार्यक्रम छ । पाहुनाहरुलाई काठमाडौंका हायात होटल, द्वारिका, सोल्टी र याक एन्ड यति होटलमा राख्ने प्रबन्ध मिलाइएको छ । सम्मेलन सोमबार काठमाडौं घोषणापत्र जारी गरी सम्पन्न हुनेछ ।


  •  
  •  
  •