कोरोनाको अनुसन्धानमा पूर्वीय ज्ञान किन ओझेलमा ?

118
  •  
  •  
  •  

कोरोना भाइरसको ओखती, खोप, अनुसन्धानको आदिको बारेमा पर्याप्त चर्चा भएको साबुन, स्यानिटाइजर र मास्कबारे त अब २ वर्षको बच्चाले पनि थाहा पाइसकेको छ ।

डा. अरुणा उप्रेती

अनुसन्धानले देखाएको छ कि कोरोनाबाट प्रभावित भएका मध्ये ८० प्रतिशतलाई त खासै लक्षण देखापर्दैन । अनुसन्धानले यो पनि देखाएको छ कि संक्रमितका लक्षण भएर जटिलता हुने र मृत्यु हुनेमा मधुमेह र उच्च रक्तचापका बिरामीहरू बढी छन्, जसको रोगसँग लड्ने क्षमता कम छ, उसलाई बढी जटिलता हुन्छ । तर, कोरोनाका बारेमा छलफल हुँदा कुनै पनि आम सञ्चारमा कसरी रोग प्रतिरोधात्मक क्षमता बढाउने, कस्तो जीवनशैली अपनाउने भन्ने बारेमा प्रायः कम नै छलफल हुन्छ ।

कुन आधुनिक ओखतीले कोरोनालाई नष्ट गर्न सक्छ वा संक्रमित भएकाहरूको जटिलता कसरी, कति थोरै दिनमा कम हुन सक्छ भनेर अनेक अनुसन्धान भएका छन् । ‘खोप’ पनि छिट्टै आउने आशा बोकेर अनेक खोज हुँदैछन् ।

यसरी आधुनिक ओखतीका बारेमा अनेक अनुसन्धान हुँदै गर्दा हाम्रो पूर्वीय ज्ञान भएका ‘ओखती’को पनि अनुसन्धान सुरु हुनुपर्छ भन्ने आवाज किन ‘सिंहदरबार वैद्यखाना’, देशका विभिन्न भागमा अवस्थित वैद्यहरू पढाउने कलेजबाट हुँदैनन् ? मजस्ता आधुनिक ओखती पढेका मानिसहरूले त्यसका बारेमा आवाज उठाउँदा खासै त्यसको प्रभाव हुँदैन । वैद्यहरूले आफ्नो ज्ञानका आधारमा ‘हामी कोरोना’ भाइरसबाट संक्रमित भएकाहरूलाई जटिलता नहोस् भनेर औषधि तयार पार्न खोज र अनुसन्धान गर्छौं भनेर अगाडि आउनु पर्ने हो कि ?

हरेक खोज र अनुसन्धान गर्दा पहिलो चोटिमै सफलता हासिल हुन नसक्ला, समय लाग्ला अर्ध वा पूर्ण रूपले असफल नै होइएला रे, तर पनि कोसिस त गर्नुपर्‍यो । ‘सिंहदरबार वैद्यखाना’मा रहेका सयौं वर्ष पुराना किताबहरूमा “मानव शरीरमा रोगसँग लड्नका लागि चाहिने शक्ति दिन के गर्न सकिन्छ ?” भनेर कतै लेखिएको छ कि ?

सायद युरोपमा साबुन नआइसक्दा नै हाम्रा पूर्खाहरूले रिठ्ठाबाट फिँज निकालेर कपाल, जिउ, लुगा धुने गर्थे । खरानीले भाँडा मस्काउथें । सफा खरानी पेटको जुका मार्न प्रयोग गर्थे, युरोपमा प्राचीनकालमा “गोरुको बोसोबाट निकालिएको र खरानी मिसाइएको, मानिसहरुले आफ्नो कपाललाई राम्रो देखाउन यसको प्रयोग गर्छन्’ इतिहासमा लेखिएको छ ।

मेरो मामा घर, उत्तर प्रदेशको गाउँमा त ३०/३५ वर्ष अघिसम्म शौचालयबाट आएपछि मुल्तानी माटो, काली माटोले हात धुने चलन थियो । मेरो बुबापट्टिकी हजुरआमाले त साबुनमा बोसो मिसिएको हुन्छ भनेर साबुन प्रयोग नै गर्नुभएन । वहाँसँग नै मैले रिठ्ठाबाट फिँज निकाल्न सिकेको थिएँ, हजुरआमाले खरानीमा लुगा पकाएको देखेको थिएँ ।

कोरोनाको खोप र औषधी आउन अझ धेरै समय लाग्न सक्छ, अनेक संक्रमण त हुन सक्छन् । तर, कोरोना बाहेक अन्य विषाणु र जिवाणुहरूले पनि हामीलाई दुःख देलान् । तिनबाट बच्न पनि रोगसँग लड्ने शक्ति बढाउन पर्‍यो भन्ने हेक्का हुनैपर्छ । विश्व स्वास्थ्य संघले भन्दैछ “हामी कोरोनासँग बाँच्न सिक्नुपर्छ । समाजशास्त्री भन्छन् “लकडाउनले समस्या समाधान गर्दैन ।” लकडाउन खोलेपछि स्वस्थ भएर काम गर्न जरुरी छ, ओखती त चाहिन्छ ।

ओखती अहिले बचावट नै हो भने किन हामी रोगसँग लड्ने क्षमता वृद्धि गर्नेबारे छलफल नथाल्ने ? यहीबीचमा कसैलाई संक्रमणको जटिलता भयो भने त अस्पतालमा आइसीयू र भेन्टिलेटरको व्यवस्था त गर्नैपर्छ ।

तर, ८० प्रतिशत केही लक्षण देखा नपर्नेहरूको पनि स्वास्थ्य राम्रो रहोस् हाम्रा वैद्यहरूले केही अनुसन्धान गर्न सुरु गर्न थाल्ने होइन त ? आयुर्वेद पढाउनेले पनि त अनुसन्धान गर्न सक्छन् । नरदेवी अस्पातलले पनि गर्न सक्छ । योबारे किन सबै चुप ?

(डा.उप्रेतीको फेसबुकबाट)

  •  
  •  
  •