अरुण नदी थुनिदा तीन किलोमिटरसम्म बाँध

154
  •  
  •  
  •  

संखुवासभा, ८ वैशाख (ओएनएस) : संखुवासभाको हटियामा पर्ने स्याक्सिला गोलामा अरुण नदी थुनिदा ३ किलोमिटरसम्म बाँध बनेको छ।

बरुण नदीले बगाएर ल्याएको ढुंगा गिट्टी, बालुवाले अरुणलाई छेक्दा ३ किलोमिटरसम्म बाँध बनेको संखुवासभाका प्रहरीका डीएसपी गौतमकुमार केसीले जानकारी दिए।

उद्धारका लागि हेदांनाबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा २२ र हटियागोलाका १३ जना प्रहरी घटनास्थल पुगिसकेको छ। नदी थुनिदा त्यस क्षेत्रका ८० परिवार जोखिममा रहेको केसीले बताए।

बिहीबार दिउँसो ४ बजेतिर नदीमा पहिरो आएपछि संखुवासभाको भोटखोला गाउँपालिका अन्तर्गत स्याक्सीला गोलामा पर्ने अरुण नदी थुनिएको छ । घटना स्थल सदरमुकाम खादबारीबाट दुई दिनको पैदल दूरीमा पर्छ ।

यसैबीच, उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले नदीमा ठूलो ताल जमेकोले त्यहाँको पानी साबधानीपूर्बक निकासा गरेर मानवीय क्षति हुन नदिने व्यवस्था मिलाउन निर्देशन दिएका छन्।

गृहमन्त्री निधिको निर्देशनपछि गृहमन्त्रालयका तर्फबाट प्रारम्भिक टोली हेलिकोप्टरबाट संखुवासभा जाने तयारी गरिरहेको छ।

टोलीमा खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्का, गृहमन्त्रालयको बिपद् व्यबस्थापन महाशाखा प्रमुख कृष्णबहादुर राउत, भूगर्भबिद्, जला तथा मौसम बिज्ञान बिभागका प्रतिनिधि, नेपाली सेनाका तीन जना प्राबिधिक, सशस्त्र प्रहरी, जल उत्पन्न प्रकोप बिभागका प्रतिनिधि लगायत छन्।

पहिरोका कारण चीनसंगको नाका किमाथांका जाने बाटो समेत बन्द भएकोछ । 


  •  
  •  
  •