अरुणखोलाको डाइभर्सन बाढीले बगाएपछि राजमार्ग अवरुद्ध

212
  •  
  •  
  •  

काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको अरुणखोलामा बनाइएको डाइभर्सन बाढीले बगाएको छ । डाइभर्सन बाढीले बगाएसँगै राजमार्ग अवरुद्ध भएको छ । आईतबार साँझ साढे ६ बजेको समयमा अरुणखोला खोलामा आएको बाढीले डाइभर्सन बगाएको हो ।

केहि दिनअघि पुल भाँचिएपछि डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन गरिएको थियो । पूर्बबाट पश्चिम तर्फ जाँदै गरेको ना ६ ख ४७१ नम्बर ट्रकले नवलपुरको मध्यबिन्दु ११ अरुणखोलाको पुलको एकतर्फी भागमा ठक्कर दिदा पुल भाँचिएको थियो ।

डाइभर्सन बगेपछि बुटवल भएर पश्चिम जाने र पूर्व आउने सवारी साधन र यात्रु अलपत्र परेका छन् ।  पूर्वपश्चिम राजमार्ग पुर्णरुपमा अबरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ । भाँसिएको पुलबाट पैदल,साईकल यात्री र मोटरसाईकल यात्रीलाई मात्रैं हिड्न दिइएको थियो । ठूला सवारीहरु डाइभर्सनबाट एकतर्फी रुपमा सञ्चालन हुँदै आएको थियो ।

लामो समयदेखि बाटोमा रोकिनु पर्दा यात्रुहरूलाई सास्ती भएको छ । नवलपुरमा सोमबार बिहान पनि ठूलो पानी परिरहेको र अरूण खोलामा आएको बाढीको सतह नघटेकाले बाटो कति खेर खुल्छ भन्ने एकिन नभएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •