सम्झना गैरे, काठमाडौं, ३ भदौ (ओएनएस) : नेपालकी चल्तीकी अभिनेत्री रेखा थापाले गएको शिवरात्रीमा सार्वजनिक स्थानमा बसेर गाँजा तानिन् । नेपाली संचारमाध्यममा उनको तस्विरले विशेष स्थान पायो । कलिउडमा जमेकै बेला अभिनेता निखिल उप्रेतीले पहिली श्रीमती हुदाँहुदै संचितासँग हाँसीहासी विवाह गरे । प्रायः कलाकार सुटिङ स्पट होस् या सार्वजनिक स्थान चुरोट तानिरहेकै अवस्थामा भेटिन्छन् ।
मापसे चेकिङमा अधिंकाश कलाकारलाई प्रहरीले कारवाही गर्न समेत भ्यायो । कला क्षेत्रमा यस्ता घटना नौला होइनन् तर नेपाल चलचित्र कलाकारसंघले ‘बहुविवाह’ र ‘मद्यपान धुम्रपान’ गर्न नहुने भन्दै बल्ल आचारसंहिता जारी गर्न भ्याएको छ ।
संघले कलाकारको हितमा काम नगरेको भन्दै बिवाद खेपिरहेकै बेला आचारसंहिता जारी गरेको हो । कलाकारको हितका लागि भन्दै जारी गरिएको आचारसंहिताकाबारेमा अधिकांश कलाकारलाई जानकारी छैन् । अभिनेत्री करिश्मा मानन्धरलाई कलाकारका लागि जारी गरिएको आचारसंहिताका बारेमा तपाईको राय के छ ? भन्दै ओएनएसले सोधेको प्रश्नमा उनी अड्किइन् । ‘मलाई यसबारे खासै जानकारी छैन । जारी भयो रे भन्ने सुनेको छु, अब मिडिया मार्फत यसबारे जानकारी लिनु पर्ला ।’
नेपालकी चर्चित अभिनेत्रीलाई मात्र होईन अहिलेकी चल्तीकी अभिनेत्री शिल्पा पोखरेल समेत यसबारे अनविज्ञ छिन् । ‘यस्तो पनि भएछ । ठिकै छ नी कलाकारका लागि राम्रो कुरा हो यो ।’ भन्दै उनले यसबारेमा जान्ने उत्सुकता देखाइन् । जब ओएनएसले उनलाई कलाकारले बहुविवाह गर्न नपाउने रे नी भन्दा उनले भनिन्, ‘खै बहुविवाह गर्ने कलाकारलाई अझैसम्म कानुनले सजाय दिन सकेको छैन् ।’ भन्दै उनले निखिल र संचिताको प्रसंग उप्काइन् । ‘एउटी श्रीमती रुदै थिइन्, निखिल दाईले हास्दै संचितासँग विवाह गर्नु भो, खै नेपालको कानुनमा पनि बहुविवाह गर्नेलाई कारवाहीको व्यवस्था गरेको छ रे , उहाहरु त खुलेआम जीवन जिइरहनु भएको छ त ?’ उनले उल्टो प्रश्न गरिन् । एउटा असल कलाकारले आफ्नो जिम्मेवारी बुझेको हुन्छ भन्दै उनले थपिन्, ‘हामीलाई हेरेर दर्शकले सिको गर्ने भएकाले हामी त सजग हुनैपर्छ ।’
उता चलचित्र कलाकार संघमा सदस्य समेत रहेकी सुमिना घिमीरेलाई कलाकारसंघले निकै ठूलो काम गरेको दावी गर्छिन् । कलाकार पनि देश र समाजका लागि चिन्तित छन् भन्ने उदेश्यले सन्देशमूलक काम गरेको सुमिनाको भनाई छ । ‘आचारसंहिता हो कसैलाई जबरजस्ती गर्न त सकिदैन तर कलाकारसंघ कलाकारको घर हो, संस्कार घरभित्रैबाट सिक्ने हो’, भन्दै उनले नेपाली फिल्म उद्योगलाई बदनाम हुनबाट बचाउन यसो गरिएको दाबी गर्छिन् ।
सार्वजनिक स्थानमा धुम्रपान गरिएकै अवस्थामा कारवाहीमा समेत परिसकेका कलाकार दिपकराज गिरीलाई कलाकारसंघको आचारसंहिता खासै चित्त बुझेको छैन । ‘उठाइएका कुरा राम्राछन् तर चोरलाई कारवाही नहुने नेपाली समाजमा कसले मैले चोरी गरेको छु भन्दै सुध्रियला र ?’ उनलाई सार्वजनिक स्थानमा धुम्रपान मद्यपान गर्न नहुने कुरा त चित्त बुझेको छ तर नेपाली समाजनै धुम्रपानमा अगाडि भएकाबेला कानुनले रोक लगाउन नसकेको कुरालाई मुद्दा बनाएर बढाउनुको कुनै तुक देख्दैनन् उनी । ‘बहुविवाह गर्नेमा विश्वमै कलाकार अग्रपंक्तिमा पर्छन् । कानुनले रोक लगाउदा समेत बहुविवाहको दर बढेको बढ्यै छ । मानिस आफै संयमित भए, चाहिदैन आचारसंहिता भन्दै उनले संघले ‘लगनपछिको पोत’ जस्तो ढिलासुस्तीमा काम गरेको आरोप लगाए ।
संघका अध्यक्ष नवल खड्काका अनुसार कलाकारलाई मर्यादित बनाउन आचारसंहिता जारी गरिएको हो । ‘सबै क्षेत्रमा आचारसंहिता भएको तर कलाकारलाई मर्यादित बनाउने कुनै नियम नभएको भन्दै उनले आचारसंहिताको आवश्यकता महशुस गरेको ओएनएसलाई जानकारी दिए ।