‘कलाकारलाई पनि सभासद चाहियो’

300
  •  
  •  
  •  

unnamed (1)काठमाडौं, १ भदौ  (ओएनएस) : कलाकारहरूले सरकारले मनोनित गर्ने २६ जना सभासदमा आफूहरूको पनि प्रतिनिधित्व हुनुपर्ने माग गरेका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा कलाकारहरूले कला, संस्कृतिको संरक्षण तथा प्रर्वद्धनका लागि आफूहरूको पनि संविधानसभामा प्रतिनिधित्व हुनुपर्ने धारणा राखेका छन् ।

कार्यक्रममा बरिष्ठ गीतकार एवम् चलचित्र निर्देशक यादव खरेलले राष्ट्रिय जीवनमा कलाकारहरूले महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै आगामी दिनमा कला, भाषा, संस्कृति र सिर्जनाको जर्गेना गर्न पनि संविधा सभामा प्रतिनिधित्व हुनुपर्ने बताएका छन् ।

खरेलले भने, ‘हुन त हामी नै त्यो ठाउँमा पुग्नुपर्छ भन्ने होइन, तर कला, संस्कृतिको ज्ञाता संविधानसभामा पुग्दा सवैको अधिकार सुनिश्चित हुन्छ । नीति निर्माणमा यस क्षेत्रको मर्म र भावना समावेश हुन सक्छ । अन्यथा यो क्षेत्र उपेक्षित हून्छ ।’ उनले कलाकारहरू सामाजिक परिवर्तनको एजेण्डाहरू बोकेर हिँड्ने भएकाले आफूहरूको अधिकारका लागि पनि कलाकारहरूको प्रतिनिधित्व संविधानसभामा हुनुपर्ने बताएका छन् । उनले राज्यले कला क्षेत्रलाई उपेक्षा गरेको पनि बताएका छन् । वरिष्ठ रंगकर्मी अशेष मल्लले सरकारले मनोनित गर्ने २६ सभासदमा कलाकरहरूकै प्रतिनिधित्व हुनुपर्छ भन्ने नभएर कला र संस्कृतिको जर्गेना गर्न राष्ट्रिय रुपमा महत्वपूर्ण योगदान गर्ने मान्छेहरूको संविधानसभामा उपस्थिति अनिवार्य रहेको स्पष्ट पारे । मल्लले भने, ‘साम्प्रदायिक सोच भन्दा माथि उठेर राष्ट्र र राष्ट्रियताको लागि योगदान गर्ने व्यक्तिहरूको संविधान सभालाई खाँचो छ । त्यसैले कलाकारहरूको प्रतिनिधित्व भए राम्रो नभए कलाकारहरूको मर्म र भावना बुझ्ने मान्छे जानुपर्छ भन्ने मेरो बुझाई हो ।’

त्यस्तै नेपाल साँस्कृतिक संघका सभापति तीर्थ थापाले साँस्कृतिक क्षेत्रको सम्मान, सूरक्षा र पहिचानको लागि अनिवार्य रुपमा संविधान सभामा प्रतिनिधित्व हुनुपर्ने जिकिर गरेका छन् । वरिष्ठ लोक गायिका कोमल ओलीले पनि कलाकारहरूलाई राज्यले सँधै उपेक्षा गरेको आरोप लगाउँदै आफ्ना एजेण्डाहरूलाई घनिभूत रुपमा संविधानमा दर्ज गराउन पनि आफूहरूको संविधान सभामा उपस्थिति अनिवार्य रहेको बताएकी छिन् । ओलीले कलाकारहरूलाई राजनीतिक दलको सिफारिशमा भन्दा पनि राष्ट्रिय सहमतिका आधारमा संविधानसभामा प्रतिनिधित्व गराउनुपर्ने धारणा राखेकी छिन् ।

चलचित्र निर्देशक समाजका महासचिव नीलहरी काफ्लेले सरकारले मनोनयन गर्ने २६ सभासदमा कला क्षेत्रमा क्रियाशील व्यक्तिहरूको सहभागी अनिवार्य रहेको बताउँदै कला र संस्कृतिलाईे उपेक्षा गरे राज्य पाखन्ड हुने चेतावनी दिए । काफ्लेले ढिलै भएपनि रिपोर्टर्स क्लब नेपालले बहस शुरु गरेको भन्दै बहसले सार्थक रुप लिओस भन्ने समेत कामना गरेका छन् । उनले संविधान सभामा जो अग्रज कलाकार गएपनि आफूहरूलाई मान्य हुने बताउँदै कला र संस्कृतिको वारेमा आवाज बुलन्द पार्नुपर्ने सुझाव समेत दिएका छन् ।


  •  
  •  
  •