‘छोरी, लीलामणिजस्तो अगुवा नबन्नू’

378
  •  
  •  
  •  

radha paudelप्रिय छोरी स्मारिका,
मीठो सम्झना र माया ।

तिमीलाई लाग्दो हो यो महिला कति किचकिच गर्छे । मलाई लागिरहेको छ, कस्तो बिडम्बना हो ? मैले नबोले कल्ले बोल्ला अनि अहिले नबोले कहिले बोल्ने भनेर यो पत्र कोर्दैछु ।

किनभने, म तिम्रो फेसबुकको अपडेटले तर्सिएकी छु । तिमीलाई पनि श्री स्वस्थानी व्रतकथामा सामेल हुन नपाएर छट्पटी भएको छ । तिम्रा हितैषीहरुले बेलायत र अमेरिकाबाट चिच्याएका छन्– हे अगस्त्य मुनि…, कुमारजी आज्ञा गर्नुहुन्छ… । सकी नसकी, भ्याई नभ्याई कुनै मन्दिर वा जमघट वा साँखु साली नदी जान मन छ भने जाऊ ।

म जान हुन्न भन्दिनँ, जानुपर्छ । यस्तो क्रियाकलाप महत्वपूर्ण छ । किनकि, तिमीले साथीभाइ चिन्नुपर्छ । उनीहरुको भावना, विचार र अभ्यास कस्तो रहेछ, थाहा पाउनु जरुरी छ । त्योभन्दा पनि महत्वपूर्ण कुरा, त्यहाँ भेला भएका सबै मानिस धर्म गर्न आएका हुन् कि अरु कुनै स्वार्थ छ, त्यो पनि बुझ्नु जरुरी छ ।

सबैभन्दा खाँटी कुरो त धर्म गर्न आउनेहरुलाई साँचिक्कै उनीहरुले धर्म गरिरहेका छन् कि छैनन् ? समाजलाई सकरात्मक वा नकारात्मकतातिर लाँदैछन्, सो बुझ्नुपर्दछ ।

salinadiतर, यी सबै कुराको सूची पूरा गर्नुअघि पहिले तिमी त्यो स्वस्थानी व्रतकथा पढ । तिमी अंग्रेजी भाषामा पढेकीले केही समय लाग्न सक्छ । सुन्न मन भए सुन्न पनि पाइन्छ, इन्टरनेटमा । हतार नगर्नू । पढ्दै गर्दा केही प्रश्नहरु मनन् गर्नू । कथा कहिले लेखिएको होला ? तिम्रो साइन्समा भनेजस्तो लाखौं वर्षपहिले कि ? टीभी, फोन, वा जीवविज्ञानको शिक्षण हुन थालेपछि वा कहिले ? घोत्लिएर खोज्नू, मान्छे कसरी जन्मन्छ ? सोच्नू, तिमी विज्ञानमा विश्वास गर्छौ कि प्रकृतिमा ? वा अन्य कुनै दर्शनमा ? फेरि सोच्नू, तिमीले प्रयोग गर्ने सबै वस्तु कसले बनायो ? विज्ञान, धर्म, प्रकृति आदिआदिमध्ये कसले ?

सोच्नू, त्यहाँ तिमीजस्तै केटी छन् कि छैनन् ? केटीको भूमिका के हो ? उसले आफ्नो निर्णय गर्न पाउँछे कि पाउन्न ? उसको शरीर, सम्पत्तिमा अधिकार हुन्छ कि हुन्न ? तिमीले अधिकार प्रयोग गरे तिमीले सजाय पाउने हो कि पुरस्कार ? यो पनि सोच्नू, विवाह कहिले गर्ने हो ? बहुविवाह तिमीलाई स्वीकार्य छ कि छैन ? के लोग्ने मानिसहरु यो वा त्यो बहनामा बहुविवाह गर्न सक्छन् ? गर्न हुन्छ ? के ध्यान गर्दैमा, पूजा गर्दैमा बिनापरिश्रम सम्पत्ति प्राप्त हुन्छ ? बिना पसिनाको सम्पत्ति भ्रष्ट सम्पत्ति हो कि वा होइन ?

सम्झनू, तिमी कुन शताब्दीमा हिँड्दै छौ ? तिमीले विदेशमा रहँदा बस्दा के देखेकी छौ ? कतिपटक रमाउन सक्यौ तिमी ? अनि कतिपटक तिम्रा आँखा रसाए ? तिमी कतिपटक हेपियौ ? तिमी कति रात चोट लागेको स्वाभिमान च्यापेर सुँक्सुँकाएकी छौ ?

मैले यसो भनिरहँदा तिम्रा साथी मसित रिसले मुर्मुरिन सक्नेछन् । तिमी पनि उनीहरुको प्रभावमा परेर मलाई गाली गर्न सक्नेछौ । अनि मलाई गाली गर्नेहरु मौरीको गोलो खनिएझैँ खनिन सक्नेछन् । तर पनि हतास नहुनू र स्वस्थानी व्रतकथाका एकएक पंक्तिका अर्थ खोज्नू । जीवन खोज्नू । विदेश र नेपालको विकासको तुलना गर्नू । मैले तिमीलाई धर्म नगर्ने भनेको होइन । हाम्रो हिन्दू धर्म खतम छ भनेको होइन । धर्मले जीवन दिनुपर्छ, नयाँ पुस्ताका लागि गोरेटो खन्नुपर्छ ।

salinadi1नेपालमा आजको दिनमा देखिएको बालविवाह, चाँडो विवाह, अनमेल विवाह, बहुविवाह यही व्रतकथाको पारिणाम हो कि ? यी सबैको धरातल स्वस्थानी व्रतकथा नै हो कि ? यी सबै प्रश्नहरुको उत्तर खोजेर तिमी जानू, साली नदीमा ।

त्यहाँ पनि तिमी यसै जान पाउन्नौ । केही प्रश्नहरु लिएर जाऊ । हेर साली नदी कसरी बगेकी छन् ? बग्न सकेकी छन् कि छैनन् ? तिमीलाई बग्न नसकेकी साली नदीप्रति शंका लाग्छ भने मात्रै आधी घण्टा हिँडेर नदीको मुहानतिर जानू । कस्ती छ सालीनदी ? धर्मालुले सालीनदी मैलाए कि साली नदीले धर्मालुलाई ? हेर्नू धर्म गर्न आउनेहरुलाई ।

उनीहरुले फलफूलका बोक्रा, कागत, प्लास्टिक कहाँ थन्काउँछन् ? चर्पी कहाँ जान्छन् ? खानेकुरा के र कसरी खान्छन् ? उनीहरुको वाहनमा आउने र अरु पसलेहरुको फोहोर व्यवस्थापन कस्तो छ ? विदेशमा मन्दिर होस् वा चर्च वा मस्जिद, कति सफा र सुन्दर हुन्छ । खै, हाम्रो धर्म कहाँ गयो ?

धर्म गरेँ भनेर भनिरहँदा उल्टै प्रकृतिको धर्म, समाजको रुप, भावी पुस्ताको अधिकार खोसिरहेको भान हुन्छ । तिमीलाई नलाग्न सक्छ तर मलाई बागमती सफाइ अभियानका अगुवा पूर्वमुख्यसचिव लीलामणि पौडेलप्रति पनि उदेक लागेर आउँछ । बागमती सफाइ चार वर्षअघिदेखि सुरु भए पनि समुदायको व्यक्ति अगुवा भएको छैन वा समुदायले अगुवाइ लिन सकेको छैन । अथवा, समुदायको अगुवा महत्वपूर्ण छ भनेर परिकल्पना पनि गरिएको छैन ।

Bagmati Safaiफोहोर उत्पादन गर्नेहरु, खोलाको छेउमा बस्नेहरुले नेतृत्व स्विकारिदिएको भए, फोहोर फाल्नेहरु जिम्मेवार हुने वा रहने संस्कार बसाएको भए अहिले साली नदी हरेक माघ महिना आएपछि किन साँघुरिन्थ्यो ? किन पिल्सिन्थ्यो ? त्यसैले छोरी, तिमी त्यस्तो अगुवा पनि नबन्नू, अनि त्यस्तो हेरेर पनि नबस्नू । जसको हातमा स्मार्टफोन छ, संसारलाई सेकेन्ड सेकेन्डमा नियालिरहेको छ, उसले यी तर्कहीन कुरामा अल्मलिरहनु हुँदैन । यसरी अल्मलिनु वा अल्मल्याउनु नै गलत हो । मेरो लागि त पाप नै हो ।

साँच्चिकै तिमीलाई नेपालमा केही गरूँ भन्ने लागेको छ भने साली नदी सफा बगाइदेऊ । अनि स्वस्थानी व्रतकथाको पुनर्लेखन गरिदेऊ ।
छोरी, यो देशको पहिचान तिमीले र तिम्रो समूहले फेर्नुपर्छ अब । असम्भव केही छैन । थाइल्यान्ड, अस्ट्रेलिया, अमेरिकामा सम्भव छ भने यहाँ किन सम्भव छैन । तिमीजस्ता युवाहरु सधैँ विदेश जाने, पढ्ने, उतै बस्ने, नबसे पनि देशका लागि केही नगर्ने गर्दागर्दै हाम्रो यो हालत भयो ।

हामीले जोगाउनुपर्ने संस्कार, हामीले फुलाउनु पर्ने नाक अरु नै छन् । हामीले मान्दै आएको धर्मभित्र यस्ता धेरै अभ्यास छन् जुन संसारभर नै अनौठा र संसारलाई नै जोड्न सक्ने मान्यता छन् । सबै जात, धर्म, क्षेत्र आदिमा अभ्यास गरिएको संस्कार, मित लगाउने, सँगसँगै बाँच्ने, सबैलाई समान हैसियतमा देख्ने हाम्रो संस्कार हराएको छ, जहाँ हामी शान्तिको लागि, द्वन्द्व व्यवस्थापन गर्न प्रयोग गर्न सकिन्छ । त्यस्तै हामीले मान्ने चाड चाहे जुनसुकै जातका लागि भनियोस्, नेपाली सबैले मान्ने चलन, समूह समूहमा मिलेर बस्ने, सहयोग गर्ने संस्कार आदि आदि ।

छोरी, हामीले धेरै कुरा आफैँ गुमायौँ । आफ्नो शिर आस्ट्रिचले बालुवामा लुकाएझैँ हामीले पनि हाम्रो सभ्यता, हाम्रो संस्कारलाई लुकायौँ । व्यक्तिगत नाफा–नोक्सानको लतमा हाम्रो अस्तित्व मेटायौँ । म त्यो भीडमा एक्लो भएको छु । मेरो आवाज मेरै भन्नेहरुले हावामा चुरोटको धुवाँसँगै उडाइदिए, रक्सीको चुस्कीमा उल्ल्याइदिए । त्यसैले छोरी, तिम्रो साथ चाहिएको छ अब मलाई । र, मेरो आमालाई । अनि सबैकी आमालाई ।

छोरी, मैले स्वस्थानी व्रतकथा सकेपछि गरुण पुराण पनि पढ्नू र मलाई ईमेल गर्नू ।

ज्यानको ख्याल गर्नू । अनि फेसबुक अपडेट गर्दै गर्नू ।

तिम्रो उही माया गर्ने आमा,
राधा


  •  
  •  
  •