टोपी र धोती दुवै चाहिन्छ

410
  •  
  •  
  •  

barsha mallaमहोदय ! मलाई लत लागि सकेको छ । हो ! सहनशीलताको लत ! मौनताको लत ! किनभने मलाई सहनशीलताको पाठ पढाईएको छ । मौनताका हरफहरू रटाईएका छन् । त्यसैले त म मौन छु । अनि सबै कुरा सहेर बसेकी छु । यो समाजले र मेरो परिवार यसका गुरू हुन् । मेरी आमाले सिकाएको सहनशीलताको पाठको एक हरफ भनौ महोदय ! ल सुन्नुहोस् !

छोरी ! तिमी अर्काको घर जाने जात, सासू कराउलिन, ससुरा रिसाऊलान, नन्द देवर कुरा काट्लान । तर, तिमी केही नबोल्नु सहेर बस्नु । आफ्नो कुल खानदानको नाम राख्नु । भनेर पढाएको सहनशीलताको पाठ म कसरी भुल्न सक्छु । त्यसैले मैले सबै कुरा सहन जरुरी छ । आफुलाई मौन राख्न जरुरी छ ।

अझ मेरो सहनशीलतामाथि कुनै शंका छ भने सुन्नुहोस्

महोदय ! तराईमा मेरा दाजुभाइका छातिमा बन्दुकको गोली र भाला रोप्ने र घोप्ने काम भईरहेको छ । पहाडमा मेरी दिदीबहिनी राहतको आशमा पालमुनि कठ्याङ्ग्रीरहेका छन् । त्यसै गरेर हिमालमा मेरा बा–आमा तराई र पहाडबीच चलेको विद्रोहको पिरमा दिनप्रतिदिन चाउरिरहेका छन् ।

हो म ! हिमालमा जन्मेर, पहाडी दिदीबहिनीसँग घरकुटी खेल्दै तराईमा हुर्केकी, त्यसै कारणले पनि सबै क्षेत्रसँग मेरो माया र प्रेम अनि अधिकार र कर्तव्य बराबर रहन्छ । तर पनि यो अवस्थामा म मौन छु । किनकि मलाई सहनशीलता र मौनताको लत लागि सकेको छ । जसकारण न मैले अधिकार बुझि रहेकी छु न त कर्तब्य निभाईरहेकी छु ।

तर, मेरो मौनता र सहनशीलताको गलत अर्थ लगाईदै छ रे । तराईमा मेरा दाजुभाइले म पहाडमा जन्मेकै कारण मलाई बहिनी जस्तो पवित्र नाता मेटाएर पहाडे भन्ने नयाँ नाम दिएर पराई बनाउँदै छन् । त्यति मात्र कहाँ हो र ? तराईको दुःखमा म हाँसी रहेको छु भन्ने भ्रममा रहेका छन् । पहाडमा मेरी दिदीबहिनीले तराईको मग-मग बास्ना छर्न बासमतीको भात, चिल्ला सडक, घर, गाडी, चमेलीको तेलले कपाल सिङ्गार्दै एसी र हिटरमा ढाड सेकाउदैमा मस्त छे भन्दै गुनासो गर्दै थिए रे । अर्को तिर हिमालमा मेरा बा–आमा छोरीले कतै दलालसँग पैसा खाएर आफ्नै दाजुभाइ र दिदीबहिनी बीचको लडाईको बीऊ रोपेर रमिता हेरेर बसेकी पो हो कि ? त्यसैले त उसले सबै कुरा टुलुटुलु हेरि मात्र रहेकी छ भन्ने भान लिएर चिन्तित छन् रे । तर, म कसरी सम्झाउ महोदय ! सक्नु हुन्छ भने सम्झाइदिनुहोस् । कि जब जब तराईमा मेरा दाजुभाइका छातिमा गोली र भाला रोपिन्छन् तब तब पीडाले म यहाँ छट्पटी रहेकी हुन्छु । अनि मलाई पहाडे भनेर पराई नबनाउन आग्रह गर्छु । त्यो पहाडे शब्दले मेरो पीडामा नुन, चुक छर्किने काम गरिरहेको छ । मलाई त त्यो बहिनी शब्द नै प्यारो लाग्छ । त्यसैले कृपया मलाई पहाडे न भन्नुहोस् । हैन ! तपाई मलाई पहाडे भन्दा धेरै नै खुसी हुनुहुन्छ भने पनि ठिकै छ । भोली बाहिरियाले दाजुभाइ नभएको कमजोरी थाहा पाएर मलाई अबला नारीको रुपमा गलत नजरले हेर्ने छन् र मेरो इज्जत लुट्न खोज्ने छन् । यदि मैले आफ्नो इज्जत बचाउन खोज्दा खोज्दै ती पापीहरूले मेरो इज्जत लुटी हालेछन् भने अन्तिममा भएपनि तपाई आउनु होला । किनभने फुकालिएको मेरो इज्जत र लाज छोप्न मलाई तपाईको ‘धोती’को जरुरत छ । हो मलाई मेरो लाज छोप्न तपाई कै ‘धोती’को जरुरत छ ।

त्यसै गरेर पहाडमा भोक र शोकले कठ्याङ्ग्री रहेका मेरा दिदीबहिनी हो तिम्रो भोका पेटले मेरो शरिरलाई सुकाई रहेको छ । म कसरी प्रमाण बटुलु कि मलाई यी चिल्ला सडक, घर र गाडीभन्दा त्यहाँका उकाली ओरालीमा धुलो उडाउदै बर र पिपलको चौतारीमा बसेर तिम्रा हातको कोदोको रोटी र गुन्द्रुकको अचार खानमा नै मलाई बढी सन्तुष्टि मिल्छ । दिदी तिमीले रातो रिबनले दुईवटा चुल्ठा बाटेर स्वाभिमानको चिनो भन्दै ‘ढाका टोपी’ लगाई दिएर यसलाई कहिल्यै झुक्न नदिनु है बहिनी भन्दा मेरो सिर हलुको भएर सगरमाथालाई अंगमाल गर्न पुगेको थियो । तर, आज यो चमेली तेलको गन्धले मेरो शिर ढुङ्गा जस्तो भारी बनाई दिएको छ । त्यसैले त्यो केदारको अग्लो ढुङ्गामा तिम्रो काखमा मेरो शिर राखेर घामले डाँडो नकाटुन्जेल मेरो ढाड सेकाउनु छ । किनभने यो एसी र हिटरले मेरो ढाड मारिसकेको छ ।

किन ? बा–आमा तपाईंलाई आफ्नै छोरीमाथि विश्वास छैन र ? हुन त विश्वास होस पनि कसरी यहाँ विश्वास जित्ने भन्दा पनि विश्वास तोड्नेको जमात छ । ठिक छ । मलाई विश्वास नगर्नुहोस तर, तपाईले दिएको संस्कारलाई त विश्वास गर्नुहोस् । तपाईले कसरी सोच्न सक्नु भयो की ! म आफ्नै दाजुभाइ दिदीबहिनी बीचको झगडाको बीऊ रोपेर रमिता हेर्न सक्छु भनेर । म त यो बिद्रोहको अन्तिम घडीको प्रतिक्षामा छट्पटी रहेकी छु । तपाईंले नै सिकाएको त्यो सहनशीलताको पाठको पालना गरि रहेकी छु ।

महोदय ! मेरो सहनशीलता यदि भङ्ग भई दिएको भए । मेरो मौनताले बोली बोलिदिएको भए । म चिच्याउने थिएँ, कराउने थिएँ, पहाडका गोरेटादेखि तराईका गल्ली हुँदै हिमालका चुचुरासम्म धाउदै भन्ने थिए । मलाई मेरो स्वाभिमानको ‘टोपी’ र मेरो लाज छोप्ने ‘धोती’ मलाई दुवै चाहिन्छ । हो महोदय ! मलाई मेरो स्वाभिमानको ‘टोपी’ र लाज छोप्ने ‘धोती’ दुवै चाहिन्छ ।


  •  
  •  
  •