जेपी गुप्ता
आज काठमाण्डूको हयात होटलमा भारतीय प्रधान मंत्री नरेन्द्र मोदी र मधेसी नेताहरूसंग भेटवार्ता भयो । यस भेटमा तराई मधेस राष्ट्रिय अभियानबाट मलाई पनि आमन्त्रण गरिएको थियो । भेटमा मधेसी नेताहरूले नेपालको राज्यसताबाट मधेसी समुदायलाई विभेद गर्ने गरिएको, भारतले नेपालको विकाशका लागि दिने गरेको सहयोग राशी पनि बढी मात्रामा पहाड केन्द्रीत योजनाहरूमा खर्च गर्ने गरिएको तथ्य बताएका थिए ।
मधेसमा भारतीय सहयोगबाट संचालित विकाश योजनाहरू अपेक्षित रूपमा सम्पन्न हुन नसकेको र मधेसका विकाशको लागि भारत सरकारले सडक, पर्यटन र रेल जस्ता क्षेत्रमा बढी ध्यान दिनुपर्ने अनुरोध गरेका थिए । सबैजसो मधेसी नेताहरूले नेपालको भावी संविधानमा मधेसीको पहिचानलाई मान्यता दिएर उपयुक्त संघीयताको निर्माण हुनसके मात्र मधेसीहरूको राजनीतिक अपेक्षा पुरा हुनसक्ने बताएका थिए ।
भारतीय प्रधानमंत्री मोदीले हिजो नेपालको संसदमा आफूले बोलेको स्मरण गराउनु हुदै नयां संविधानमा नेपालका कुनैपनि समुदायले विभेद र उपेक्षाको अनुभूति गर्नु उचित नहुने भन्नु भयो । संविधान रूपी गुलदस्तामा सबै समुदायका मानिसले आफ्नो सुगन्ध पाउनु पर्ने भारतको धारणा रहेको भन्नु भयो । उहांले भन्नु भयो–नेपालको विकाशका लागि पहाड र मधेसका बीचको दूरी घटाउदै जानु उपयुक्त हुनेछ । नेपालको सन्दर्भमा भारतको चाहना र सन्देश सबैले बुझेको हुनुपर्ने विश्वास पनि व्यक्त गर्नु भयो । उहांले मधेसको विकासको सवालमा आफू सकारात्मक रहेको अनुभूति दिनु भयो ।
भारतीय प्रधानमंत्री मोदीसंगको मधेसी नेताहरूको भेट एक महत्वपूर्ण घटना हो । आफ्ना कुराहरू बिषयगत रूपमा, स्पष्ट र तर्कसंगत ढंगमा राख्न नसक्नु तथा स्वंयको अनुभव एवं प्रशंसाको बखान गरेर समय वर्वाद पार्नमा खप्पिस मधेसी नेताहरू भने यस पटकपनि यस रोगबाट मुक्त रहन नसकेपनि प्रधानमंत्री मोदी मधेसको सवाललाई ढंगले बुझ्नु भएको रैछ–मलाई लागेको छ । मैले धारणा बनाएको छु कि, भारतको नयां नेतृत्व मधेसको प्रतिकूल छैन र नेपालको पनि । तमरा अभियान प्रधानमंत्री मोदी जी का प्रति सम्मान व्यक्त गर्दछ ।
गुप्ताको फेसबुकबाट साभार