मोदी भ्रमणबारे हुनुपर्ने बहस

133
  •  
  •  
  •  

narayan paudel img

नारायण पौडेल :-
नेपाल र भारतबीचको सम्बन्ध रोटी देखि बेटीसम्म जोडिएको छ । हाम्रो कला, धर्म, संस्कृति, परम्परा सबैमा धेरै मेल छ । उताका छोरीले यता ज्वाई रोज्छन भने यताका छोरीले पनि उता ज्वाई खोज्छन् । त्यसैले हाम्रो सम्बन्ध विशिष्ट छ । यस्तो विशिष्ट सम्बन्धकै कारण हाम्रा सिमनाहरू खुला छन् । उनीहरू हामी कहाँ निर्वाध आवतजावत गर्छन् भने हामीलाई पनि उनीहरूसम्म पुग्न कुनै बन्धन छैन । खुला सीमा, खुलला सम्बन्धका वाबजुद नेपाल र भारतका बिचमा कैयौं टकराव छन् । चाहेर नचाहेर नेपालमा भारतका विरुद्ध नकरात्मक धारणा राख्ने ठुलै जनमत छ । भारतले हामीलाई हेप्यो, पेल्यो, हाम्रा सीमाना मिच्यो भन्नेहरूको जमात निकै ठुलो छ । यो केही हदसम्म सत्य पनि हो । भारतले नेपालमाथि गरेको थिचोमिचो र सीमा अतिक्रमणले नेपाली मनहरूलाई उविरुद्ध खडा हुन बाध्य बनाएको छ ।

पुर्व अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले भनेका थिए, ‘आफ्नो भुगोलको रक्षा गर्न नसक्ने मुलुक राष्ट्र रहँदैन्’ अर्थात एउटा मुलुकका लागि उसको भुगोलको सुरक्षा पहिलो सरोकार हो । त्यसपछि जनता, विकास, आत्मसम्मान लगाएतका यावत पक्षहरू आउँछन् । तर, नेपालले भुगोलको रक्षा गर्न त सकेको छैन नै साथमा हामी हाम्रा निर्णयहरू समेत स्वविवेकमा गर्न सकिरहेका सकिरहेका छैनौं ।

सुगौली सन्धि देखि सन १९५० को सन्धि हुँदै महाकाली सन्धि र पछिल्लो विप्पा सम्झौतासम्मले नेपाललाई भारतले हेपेको रूपमा अथ्र्याउने ठुलै जमात छ । त्यसो त ति सम्झौताहरूमा जजसले हस्ताक्षर गरे तिनले कहिल्यै भारतलाई गाली गरेको देखिन्न । सुगौली सन्धि र सन १९५० को सन्धिले नेपाली राष्ट्रियतामाथि आघात पु¥याएको छ तर महाकाली सन्धि र विप्पा सम्झौताको हकमा त्यो पुष्टि हुन सकेको छैन् । यद्यपी कतिपय दल, नेता र विश्लेषकहरूले महाकाली सन्धि र विप्पा सम्झौताको कडा आलोचना गर्दै ‘राष्ट्रघात’को तक्मा भिराइदिएका छन् । राष्ट्रघात भनेर प्रचार गरिएको महाकाली सन्धिबारे एमालेले कहिल्यै भारतलाई गाली गरेन । गण्डक सम्झौता, सन १९५० को सम्झौता गर्ने कांग्रेसी जनहरूले त्यसलाई राष्ट्रियतासँग जोडेर कहिल्यै हेरेनन् । एमालेले महाकाली सन्धिमा ल्याप्चे लगाउँदा त्यसमा राष्ट्रघात देख्नेहरूले पार्टी फुटाए तर, पछि लुरुक्क एमालेमै फर्किए र अहिले त्यहि महाकालीमा राष्ट्रवाद देखिरहेका छन् । तर, माओवादीले अझै पनि त्यसमा राष्ट्रघात देखिरहेको छ । उता माओवादीले भारतसँग विप्पा सम्झौता ग¥यो । त्यसमा एमालेले राष्ट्रघात देख्यो तर माओवादी त्यसबारे चुइक्क पनि बोलेन् । काग्रेसी जनले अक्सर राष्ट्रियताका मुद्दामा वाकयुद्ध छेड्ने गरेको पाइएको छैन् ।

आफु सत्तामा रहँदा गरिएका सबै सम्झौतालाई राष्ट्रवादी देख्ने र सत्ता बाहिर रहँदा अरुले गरेका सबै सम्झौतालाई राष्ट्रघाती देख्ने भुतले दलहरूलाई अझै छाडेको छैन् । अर्थात नेपालमा आफुले गरेका सबै कर्ममा राष्ट्रवाद देख्ने अनि अरुले गरेका सबै कर्ममा राष्ट्रघात देख्ने तुच्छ संस्कारले नेपाली राजनीतिलाई डो¥याइरहेको प्रष्टैसँग देख्न सकिन्छ ।

यतिबेला कांग्रेस र एमालेका संयुक्त सरकारले मुलुकको बाघडोर सम्हालिरहेको छ । १७ वर्षपछि भारतीय प्रधानमन्त्रीले नेपाललाई भ्रमणको गन्तव्य बनाउँदै छन् । नरेन्द्र मोदीको नेपाल भ्रमणबारे निरपेक्ष समर्थन र बिरोधका स्वरहरू सुनिँदै छन् । कतिपयले मोदी भ्रमणलाई देवत्वकरण गर्न खोजिरहेका छन् भने कतिपयले उनलाई दानवीकरण गर्ने प्रयत्न गरेको देखिन्छ । मानौ नेपालमा मोदी आउँदै छैनन् साक्षात देवताको सवारी हुँदैछ । कतिपयले भने उनलाई यमराजकै संज्ञा दिन पनि भ्याएका छन् । उनको आगमनमा बिरोधका ज्वारभाटा सिर्जना गर्ने शंखघोष नै गरेका छन् । यी दुबै अतिवादी सोचका उपज हुन् । मोदी न त देव हुन न त दानव नै उनी त केबल नेपालको पुरानो भौगोलिक छिमेकी राष्ट्रका सरकार प्रमुख हुन् ।

गुजरातको विकास गरेर चर्चा कमाउँदै शासन सत्तामा पुगेका मोदीले भारतकै लागि पनि खासै केहि उपलब्धि दिन सक्दैनन् भन्ने तथ्य पुष्टि हुँदै गैरहेको छ । हुन त उनको सरकारले हनिमुन अवधि पनि पार गरिसकेको छैन । त्यसैले उनको सरकार सफल वा असफल के भन्ने विषयमा अहिलेनै बोल्न हतार हुन्छ । तर पनि विहानीको किरणले दिउसोको झल्को दिन्छ भने जस्तै यो समयमा पनि मोदीले केही गर्न सक्थे होला । परिवर्तनको जादुमयी छडि चलाउन सक्ने व्यक्तित्वका रुपमा प्रचार गरिएका मोदीको नेपाल भ्रमणले भने ठुलै माइलेज पाइरहेको छ । नेपाली मिडियाहरूका लागि मोदीको आगमन सबै भन्दा ठुलो मुद्दा बनिरहेको छ । अनलाईनदेखि छापा र विद्युतीय माध्यमहरूले मोदी भ्रमणलाई प्रमुख स्थान दिइरहेका छन् । आजकल नेपाल मोदीमय भएको छ ।

मोदीको भ्रमणलाई नेपालले अलिबढि नै महत्व दिएको देखिन्छ । के नेपालका प्रधानमन्त्रीले भारत भ्रमणमा जाँदा यत्तिको महत्व पाएका छन् ? यो प्रश्नले कसैलाई छोएको देखिन्न । सरकार, राजनीतिक दलदेखि कर्मचारीतन्त्रलाई समेत मोदी भ्रमण दशैं जस्तै बनिरहेको छ । मोदी भ्रमणका लागि पशुपतिनाथको सरसफाई गरेको छ । के हामी हाम्रो पशुपतिनाथलाई सधैं सफा गर्न सक्दैनौं ? मोदी भ्रमणको तयारीका क्रममा विदेश मन्त्री सुस्मा स्वराजले तीन दिने नेपाल भ्रमण गरिन् । उनले पनि आवश्यकता भन्दा धेरै महत्व पाइन् । आफुलाई राजनेता भन्नेहरू पनि कुटनीतिक मर्यादा विर्शेर होटल होटलमा पुगे । उनी फर्किएपछि पनि निकै ठुलो चर्चा भैरहेको छ । भारतीय सरकार प्रमुख नरेन्द्र मोदीको नेपाल भ्रमणको सन्दर्भले त नेपाली जनजीवनलाई ठुलै खुराक दिएको छ ।

सरकारले मोदीसँग के–के माग्ने भनेर लामै लिस्ट बनाइरहेको चर्चा छ । विभिन्न दलका नेताहरूले समेत मोदीलाई भेटेर के–के माग्ने भने अलग्गै सूचि तयार पारिरहेको सुनिएको छ । राजधानीमा दैनिक दर्जन जति कार्यक्रमको आयोजना गरेर मोदी भ्रमणका एजेण्डा बारे बहस भैरहेका छन् । वास्तवमा मोदीको भ्रमण एउटा सार्वभौम देशमा हुन लागेको जस्तो देखिन्न । हामी आफैं एउटा सार्वभौम मुलुकका सरकार प्रमुखले अर्काे सार्वभौम मुलुकको भ्रमण गर्दैछन् भन्ने सोच बनाउन असफल झै देखिइरहेका छौं ।
ठुलो अर्थतन्त्रका सरकार प्रमुखको आगमनसँग केहि अपेक्षा राख्नु स्वभाविक हो तर हामीले आफ्नो इमान र स्वाभिमानलाई नै विर्सेर मोदीका पछाडी कुद्नु भने त्यति जाहेज पक्कै पनि होईन् । भारतबाट नेपालले धेरै सहयोग लिइरहेको छ यसको मतलब के भारतले नेपालबाट केहि पाईरहेको छैन् त ? भारतले नेपाललाई जति दिइरहेको छ त्यो भन्दा धेरै लिइरहेको छ । किनकी दुनियामा स्वार्थ रहित केहि पनि हुन्न ।

नेपालले भारतबाट अवश्य पनि फाइदा लिन सक्नु पर्छ । त्यहि फाइदाका लागि नेपालले भारतसँग विद्युत व्यापार सम्झौता गर्न लागेको भनिएको छ । नेपालले भारतीय स्वार्थलाई होइन नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर विद्युत व्यापार सम्झौता गर्नु पर्छ । उता भारतले पनि आफ्नै हित अनुकुल सम्झौता गर्ने प्रयास गर्नेछ । नेपालले आफैं प्रसारण लाइन विस्तार गर्न नसक्ने अवस्थामा भारतले नेपालमा उत्पादित विजुली कौडीको भाउमा किन्ने वातावरण खडा गर्न सक्छ । त्यसलाई मध्यनजर गर्दै आन्तरिक माग परिपुर्ति भैसकेपछि मात्रै भारतलाई विजुली बेच्ने र फेरि नेपालमा माग भएको अवस्थामा आफैंले खपत गर्ने शर्त सहित मात्रै व्यापार सम्झौता गरिनु उपयुक्त हुन्छ । बलिया र कमजोर मुलुकहरूका बिचमा समानताका आधारमा सम्झौता गरिन हुन्न । त्यहाँ कमजोर मुलुकले बिशेषाधिकार पाउनु पर्छ । एउटै पोखरीमा रहेका ठुलो र सानो माछाका बिचमा समान अधिकार दिइयो भने ठुलो माछाले सानो माछा खान्छ । त्यसकारण साना माछाको बाँच्न पाउने अधिकार सहितको सम्झौता आवश्यक पर्छ । नेपाल र भारतबिच हुने सबै सन्धि सम्झौताहरूले यहि सार्वभौम मान्यतालाई आत्मसाथ गर्नु आवश्यक छ ।


  •  
  •  
  •  

Comments are closed.